काठमाडौं,२० असोज ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष तथा सांसद् हरिनारायण रौनियार, उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेकोलगायतका आरोपमा रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
संघीय समाजवादी फोरम नेपालबाट सांसद्समेत रहेका रौनियारविरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो माग दावी गरी मुद्दा दायर गरेको हो । गतवर्ष भएको प्रतिनिधिसभाको निर्वाचनमा पर्साबाट निर्वाचित हुनुअघिसम्म रौनियार पप्पु कन्सट्रक्सनको अध्यक्ष थिए । हाल उनका छोरा सुमित पप्पु कन्स्ट्रक्सनको अध्यक्ष छन् । अख्तियारले पप्पु कन्स्ट्रक्सनको हालका अध्यक्ष सुमितविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीसँग पनि १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो दावी गरिएको अनलाईनखबर डटकमले लेखेको छ ।
अख्तियारले डिभिजन सडक कार्यालय नेपालगञ्जका तत्कालीन डिभिजन प्रमुख भानु जोशी, मनोज श्रेष्ठ र राजेशकुमार तथा एभरेष्ट इन्जिनियरिङ कन्सल्ट्यान्टका प्रोपाइटर कृष्णदेव यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालीन डिभिजन प्रमुख जोशीसँग १ करोड ९७ लाख, १३ हजार ४ सय ३७, श्रेष्ठसँग ९ करोड २४ लाख २४ हजार ९९, यादवसँग ३ करोड १४ लाख १८ हजार ९ सय ७ र एभरेष्ट इन्जिनियरिङ कन्सल्ट्यान्टका प्रोपाइटर यादवसँग १ लाख ४१ हजार २ सय ५० रुपैयाँ विगो माग गरिएको छ ।
भ्रष्टाचार मुद्दा लागेका तत्कालीन डिभिजन प्रमुखहरु हाल सरकारी सेवामा नै रहेका छन् । भानु जोशी डिभिजन सडक कार्यायल दमौलीका प्रमुख, मनोज श्रेष्ठ प्रदेश ५ का सचिव रहेका विशेष अदालतका प्रवक्ता नगेन्द्र केशरी पोखरेलले जानकारी दिए ।