विप्लव काफ्ले/कायाकैरन
भरतपुर,१८ असोज ।भूकम्पले क्षति पुगेका चितवनका सामुदायिक विद्यालयका कक्षाकोठा पुनर्निर्माण हुन ढिलाइ भएको छ । चिरा परेका भवन, भत्केका पर्खालसहितका कोठामा पठनपाठन गनुपर्ने अवस्था अझै हट्न सकेको छैन ।
केही विद्यालयका माथिल्ला तला जीर्ण हुँदा विद्यार्थी त्रासमा छन् । २०७३ सालदेखि थालिएको पुनर्निर्माणबाट हालसम्म १६ विद्यालयका ५ सय ८ कोठा नयाँ निर्माण भएका छन् । गतवर्ष १ सय ६६ विद्यालयका भवन मर्मत गरिएका थिए । अघिल्लो वर्ष १ सय ७१ विद्यालयका कोठा मर्मत भए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमातहतको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) चितवनले यसवर्ष भूकम्पले क्षति पुगेका १ सय ३१ विद्यालयको स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार गर्दैछ । “नयाँ कोठा निर्माण गर्न आवेदन दिएका विद्यालयको अवस्था अध्ययन गरिसकेका छौँ”, इकाई प्रमुख भक्तबहादुर सून्च्युरीले भने, “एक हप्ताभित्र प्रतिवेदन केन्द्रमा पठाउने छौँ, सोहीअनुसार केहीलाई छनौट गरेर बजेट निकासा हुनेछ ।”
उनले भूकम्पले भत्केका विद्यालयको फोटो र अवस्था उल्लेख गरी प्रतिवेदन तयार गर्ने काम भइरहेको बताए । इकाईले साउनमा २१ दिने सूचना र भदौमा १ हप्ते सूचना जारी गरेर नयाँ कोठा निर्माण गर्न आवेदन मागेको थियो । भूकम्पले ठूलो क्षति पु¥याएका १ सय ५९ विद्यालयमध्ये यो वर्ष १ सय ३१ विद्यालयले नयाँ कोठा निर्माणको माग गर्दै आवेदन दिएका हुन् ।
यो वर्ष ३६ विद्यालयका १ सय १५ वटा नयाँ कोठा निर्माणका लागि बजेट निकासा गरिने लक्ष्य रहेको बताए । प्रत्येक २० विद्यालयलाई ६० लाखका दरमा ४÷४ कोठा, प्रत्येक ३ विद्यालयलाई ३० लाखका दरले ३–३ कोठा र प्रत्येक १३ विद्यालयलाई २१ लाखका दरले २–२ कोठा निर्माण गर्ने गरी योजना निर्माणको काम भइरहेको बताए । “भूकम्प गएको ३ वर्ष पूरा हँुदासमेत विद्यालयको अवस्था दयनीय छ”, उनले भने, “सकेसम्म बढी क्षती भएकालाई उच्च प्राथमिकता दिएर नयाँ कोठा सहितका भवन निर्माण गर्न बजेट निकासाका लागि पहल भइरहेको छ ।” भरतपुर महानगरमा ४९, कालिकामा १९, माडीमा १८, खैरहनीमा ११, रत्ननगरमा १५, राप्तीमा १० र इच्छाकामनामा ९ विद्यालयले नयाँ भवन निर्माणका लागि आवेदन दिएका थिए ।
इकाईले गरेको सर्भेअनुसार १ हजार ४ सय ५९ कोठा मर्मत गर्नुपर्ने देखिन्छ । इकाईमार्फत ५० हजार, २५ हजार र ७ लाख २० हजार रुपैयाँ बराबरको रकम निकासा गरेर वर्सेनि कोठा मर्मतको काम भइरहेपनि सबै विद्यालयको मर्मत काम पूरा भइसकेको छैन । हाल सामुदायिक विद्यालय मर्मतको काम स्थानीय तहले पाएका छन् । “प्राविधिक टोलीले ३ समूह बनाएर अवस्था अध्ययनको काम सकिएको छ”, इकाईका ईञ्जिनियर सरोज श्रेष्ठले भने, “माग धेरै छ, तर सबै विद्यालय एकैपटक पुनर्निर्माण गर्न पर्याप्त बजेट छैन ।”
उनका अनुसार पुनर्निर्माण प्राधिकरणमार्फत गरिएको अध्ययनले ६ सय २४ कक्षा कोठा नयाँ निर्माण गर्नुपर्ने देखिएको थियो । तर, इकाईले गरेको सर्भेअनुसार ७ सय ४८ कक्षाकोठा पुनर्निर्माण गर्नुपर्ने देखिन्छ । केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) र शिक्षा विभागमार्फत भूकम्पले क्षति पुगेका विद्यालय मर्मतको काम जारी राखेको छ । तर, पूर्णता पाउन सकेको छैन ।
गतवर्ष गर्दास मावि र भीमोदय माविमा ४–४ कोठा, आधारभूत विद्यालय रतनी धोवाहा, यौरालीटार र बज्रहनीमा ३–३ कोठासहितका नयाँ भवन निर्माण भएका थिए । यस्तै भद्रकुमारी आधारभूत विद्यालय, जनहीत आधारभूत विद्यालय र रत्ननगरको पञ्चश्वे ज्योति विद्यालयमा २÷२ कोठाका नयाँ भवन निर्माण भएका थिए । यसपालि निकासा हुने बजेटले यही वर्षमै नयाँ भवन बनाइसक्नुपर्ने शत राख्दै बजेट विनियोजन गर्ने तयारी छ ।
भूकम्पले क्षति पुगेका विद्यालय धेरै, बजेट थोरै
भूकम्पले क्षति पुगेका विद्यालय धेरै, बजेट थोरै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस