रत्ननगर,१४ जेेेठ ।
रत्ननगर नगरपालिकाका प्रमुख(मेयर) नारायण वनले खेलकुद पर्यटन मार्फत सौराहाको पर्यटन प्रर्वद्धन आवश्यक रहेको बताएका छन् । सौराहा जेसिजले शनिबार हालै निर्वाचित जनप्रतिनिधीहरुको स्वागतमा आयोजित कार्यक्रममा मेयर वनले खेलकुद मार्फत पर्यटन प्रर्वद्धन गर्न सकिने बताए ।
रत्ननगर ५ स्थित झुवानी माध्यमिक विद्यालयको प्रशस्त जग्गा रहेको र त्यहाँ रंगशाला वनाउन सकिए खेलकुदले पर्यटक भित्रने उनको विश्वास थियो । “टिकौलीमा रंगशाला वनाउन वन मन्त्रालय बाधक रह्यो”, मेयर वनले भने, “ अब सौराहा नजिकै रहेको जग्गा खोजी गरी रंगशाला निर्माण गरे पर्यटन प्रर्वद्धन हुनेछ ।” साथै उनले सौराहालाई केन्द्रित गर्दै ५ हजार क्षमताको सीटी हल निर्माणका लागि आफुले पहल गर्ने बताए । मेयर वनले सौराहालाई अन्य पर्यटकिय गन्तव्यस्थल संग जोड्न समेत आवश्यक रहेको बताए ।
उपमेयर विमला दुवाडीले सौराहाको पर्यटन प्रर्वद्धनका लागि नगरपालिकाले यहाँका व्यवसायीसंग सहकार्य गरेर काम गर्ने बताइन् । रत्ननगर ७ का वडाध्यक्ष राजन भट्टले २० औ वर्ष अघि देखीकै अवस्था रहेकाले पर्यटनका पुर्वाधार निर्माण गर्न आवश्यक रहेको औल्याए । भट्टले वन्यजन्तुको वढ्दो आक्रमणलाई न्युनिकरण गर्नका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।
रत्ननगर ५ का वडाध्यक्ष कृष्ण महतो,६ का अध्यक्ष वलराम दाहाल सौराहाको पर्यटन प्रर्वद्धनका लागि आफुहरु प्रतिवद्ध रहेको बताए । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रशासकिय अधिकृत रामकुमार अर्यालले विज्ञहरुको उपस्थितीमा योजना बनाएर सौराहाको विकास गर्न मेयर वन समक्ष आग्रह गरे । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले सभाहल निर्माण, बसपार्क निर्माण गरी गर्भ गर्न लायक नगर बनाउनु पर्ने सुझाव दिए । सौराहा जेसिजका अध्यक्ष सुर्यमान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव सन्तोष पुरीले स्वागत मन्तव्य राखेका थिए ।