प्रमिता ढकाल
एउटा मैलो कोठा, नमिलाईएको ओच्छ्यान ( मिलाउनका लागि तन्ना , डसना, सिरक पनि त थिएनन् ) कोठाको एक कुनामा एउटा माटोको घैला, माटोकै आम्खोरा, नजिकै ओदान दुई तिनवटा टक्¥याक टुक्रुक भाँडा । यती नै थियो त्यो दुनियाँ ।
दिनभर भारी बोक्ने काम गर्ने माने थाकेर आएर भर्खर सुस्केरा हाल्दै थिए अचानक उनका साथी भक्ते छोरोेलाई मारौला झै कुट्दै लघार्दै भित्र आए । मिहिनेत मजदुरी गरेर हुर्काएको छोरोले अरुसँग हात पसारेर मागेर खान सुरु गरेको देख्दा भक्तेको मन चुँडिएको थियो र त्यही दुख छोरामाथी बर्साइरहेकाथिए । माने भक्तेलाई सम्झाउन खोज्दै थियो छोरोलाई नपिट्न भन्दै ।
त्यतिकैमा उनीहरु भन्दा निकै सुकिलो दौरा सुरुवाल र कालो कोटमा ठाँटिएको एक व्यक्ति टक टक टक लौरी बजाउंदै भित्र आयो । उसको प्रवेशले माने र भक्ते दुवे नत मस्तक बने । भक्तेले फेरी एकपटक छोरोलाई करायो र ढोग गर्न लगायो ति व्यक्तिलाई । विरेलाई ओल्ट्याई, पल्ट्याई, नियाल्दै त्यो व्यक्ति गहिरो कल्पनामा ड्ब्दै गयो । र फलाक्न लाग्यो आफ्नो सपना । उसले बोलेका धेरै जसो कुरामा हो मा हो मिलाउँदै अनि केही नबुझे जसरी प्रश्न गर्दै थिए माने र भक्ते । उनीहरु ति व्यक्तिलाई बहुला पनि भन्दै थिए तर पनि उसका कुरा निकै आदरले सुनिरहेकाथिए । माने र भक्तेले आदरले बहुला काजी भनेर सम्बोधन गर्ने ती काजी , भक्तेका छोरा विरेलाई देश हाँक्ने ठूलो मान्छे बन्ने सम्भावना बोकेको भन्दै आफुले देखेको सपना उनीहरुलाई पनि देख्न मनाइरहेकाथिए ।
“बहुलाकाजीको सपना ” नाटकको पहिलो दृश्य थियो यो । पहिलो दृश्य सकियो ।
दृश्य बदलियो , भक्तेको छोरो विरे विद्यालयको कक्षाकोठामा थियो । उसलाई अन्य सम्भ्रान्त काजी परिवारका छोराहरु लघार्दै थिए, फोहोरी , माग्ने भन्दै हेला गरीरहेकाथिए । दुई साथी उसका पक्षमा आफ्नै वर्गका साथीसंग झगडा गर्दै थिए । कक्षामा मास्टरको प्रवेशले उनीहरुलाई केही रोक लगायो तर उनीहरुले मास्टरसंग सिकायत गर्न छोडेनन् र विरेसँग बसेर नपढ्ने बताए । साथीहरुको व्यवहारले हतोत्साही विरेलाई मास्टरले हौस्याए र निरन्तर पढ्न आउन अ¥ह्याए । र भयो पनि त्यस्तै अरु भन्दा तिक्ष्ण विदार्थी बनेर विरेले देखायो ।
दृश्य फेरी बदलियो । विरे अब समझदार बनेको थियो । उसले देशको परिवेश, वर्ग विभेद, यसका समस्या , राजनीतिक परिवर्तनका आवश्यकता बुझेको थियो । उसका साथीहरु बद्री र विक्रम पनि उसका कुरामा सहमत थिए । देशमा केही गनुपर्छ भन्ने ज्ञान आएको थियो ।
दृश्यले नयाँ मोड लियो । विरे अचानक विरामी प¥यो । भक्ते आफ्नो छोरो बचाउन धामी झाँक्रीलाई देखाउन कुनै कमी नगर्ने भन्दै आत्रिएको थियो । माने उसलाई ढाडस दिन्थ्यो । विरे गलिसकेको थियो । विरेका साथी बद्री र विक्रम ढिला थाहा भएकोमा पछुतो गर्दै थिए । तर सम्भव भएसम्मका उपचार गर्न नछोड्ने बताउंदै थिए । फोहोर वातावरण, अस्तव्यस्त जीवनले विरेलाई अझ गालेको थियो । ऊ बहुला काजीको सपना पुरा हुँदैन भनेर चिन्तामा थियो , आफ्नो बाबुले निकै दुख गरी त्यो सपनामा गरेको मलजल खेर जाने भयो सपना अधुरो रहने भयो भन्ने चिन्तामा थियो , मानेले उसको बुवा र उसलाई गरेको त्याग र सहयोग संग जोडिएको सपना पुरा नहुने चिन्ताले गलेको थियो । र अन्ततः उसले सबैलाई हतास निरास छाडेर मृत्यू रोज्यो । उनीहरुलाई सपना देख्न सिकाउने बहुला काजी थकथकाउंदै थिए सपना तुहियो भनेर । तर उनी थप आक्रामक हुँदै थिए देशको वेथितीप्रति । देशको परिवेश, गरिवी, अत्याचारबाट संघर्ष गरेर माथी उठ्न सोझो हिसावले नहुने भएपछि क्रान्ती गर्नुपर्छ भन्दै सपना देखाइ रहेका थिए बद्री र विक्रमलाई ।
नारायणी कला मन्दिरको ठूलो हल । मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमका बेला खचाखच भरिने कलामन्दिरको हलको दर्शक दिर्घामा गत बुधबार औला भाँचेर गन्न सकिने केही व्यक्ति मात्र थिए । अध्यारो हलमा एक मधुर धुन संगै १२ जना कलाकारको प्रस्तुती सकियो ।
विजय मल्लद्वारा लिखित नाटक ‘बहुलाकाजीको सपना’लाई नाटकमा उतार्न निर्देशक अर्जुन न्यौपानेको मेहेनत निकै चाखलाग्दो थियो । विजय मल्लले लेखेको नाटक “बहुलाकाजीको सपना” मा विसं २००७ सालवरिपरिको परिवेशलाई समेटिएको छ । पुरानो कथा भएकोले त्यसलाई न्याय दिन कलाकारहरु मरिमेटेर लागेको देखिन्थ्यो । थोरै संख्यामा उपस्थित दर्शकले गड्गडाहट तालीले उनको मेहेनतको सम्मान गरे ।
आर्थिक अभावका कारण माथि उठ्न नसकेको कर्मी नाट्य समूह बहुलाकाजी जस्तै एउटा सपना देखिरहेको छ । कर्मी नाट्य समुहले चितवनमा एउटा नाटकघर “ थिएटर निर्माण गर्ने सपना कर्मी नाट्य समूहले देखेको छ । सामान्यतया एउटा थियटर निर्माण गर्नको लागि कम्तीमा पनि १५ लाख रूपैयाँभन्दा बढी रकम आवश्यक पर्ने समूहका सल्लाहकार मुकुन्द अर्याल “खलपात्र” ले बताए । तर यो समुहको सपना पनि बहुलाकाजीको सपना जस्तै बनेको छ । साथ दिनेहरु थोरै छन् निकै सकसका साथ चितवनलाई नाटक विधामा अग्रणी बनाउन कम्मर कसेर लागि परेकाछन् । भदौ १४ गतेबाट कार्यशाला सुरू गरेको समूहले असोज ६ गतेदेखि विभिन्न चरणमा नाटक मञ्चन गरीरहेको छ ।
यसअघि पहिलोपटक ‘श्रीमान् वीरबहादुर’ नामक नाटक मञ्चन गरेर चर्चा कमाएको समूहले अहिले बहुलाकाजीको सपनादेखाएको हो । “हामीलाई केही फाइदा कमाउनु छैन,” समूहका सल्लाहकार मुकुन्द खलपात्रले भने, “चितवनमा एउटा थियटर निर्माण गर्न सके हाम्रो लागि त्यही नै सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।” चितवनलाई कला र साहित्यको उर्वर भूमि मानिन्छ । यी दुवै क्षेत्रमा सम्भावना पनि उत्तिकै रहेकाले नाटकको विधालाई पनि अघि बढाउन चितवनमै थियटर निर्माण गर्ने सपना बुनेको उनको भनाइ छ । अघिल्लो वर्ष केही युवाहरुले तिहारमा देउसी खेलेर संकलन भएको ५१ हजार रूपैयाँ सहयोग गरेपछि आफैंपनि नाटक मञ्चन गरेरै अर्थ संकलन गर्न हौसिएको उनले बताए ।
कलाकार बन्नका लागि राजधानी नै दौडनुपर्ने परिस्थितिको अन्त्य गर्न थिएटर निर्माण आवश्यक रहेको समूहका सदस्य अञ्जान ढुङ्गानाले बताए । “हामीलाई अभिनय र कला क्षेत्रमा केही गर्ने मन छ , तर राजधानी धाइराख्न अध्ययन छोड्नुपर्ने हुनसक्छ ,” उनले भने, “ चितवनमै थिएटर बनाउन सके कला क्षेत्रमा भविश्य देखेकाहरुलाई निकै सहज हुने थियो ।” पछिल्लो समय नेपाली सिने जगतमा समेत रंगमञ्चबाट आएका कलाकारहरुको सक्रियता बढ्दै गएकोले पनि नाटक चितवनमै मञ्चन गरेर कलाकर्मलाई अझ बलियो बनाउने प्रयास आफ्नो समुहले गरेको उनले बताए ।
निस्वार्थ भावले सबैका लागि हुने गरी नाटक घर बनाउन लागि परे पनि सहयोग जुटाउन निकै गाहे परेको समूहका अध्यक्ष भीम राईले गुनासो गरे । “ सहयोग माग्न कहाँ जाने भन्ने पनि हामीले सोच्न सकिरहेका छैनौ , देखिहाल्नुभयो दर्शकको उपस्थिती न्यून छ,” उनले भने,“ तर हामीले हिम्मत हारेका छैनौं , पक्कै कोही कसैले यसबारे चासो देखाउनुहुनेछ भन्ने अपेक्षा सहित काम गरिरहेकाछौं र निरन्तर लागि पर्ने छौं ।”
कक्षा ११÷१२ को पाठ्यक्रममा नै समावेश “बहुलाकाजीको सपना” देखाउन केही कलेजहरुमा पहल गरीएको उनले जानकारी दिए । नाटक हेर्न विद्यार्थीका लागि एक सय पचास र अन्यलाई दुई सय ५० को टिकट शुल्क तोकिएको छ ।