प्रमिता ढकाल/कायाकैरन
भरतपुर,११ असोज ।सभामुख कृष्णबहादुर महराले भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई सरकारले ‘मोडेल’ अस्पतालको रुपमा विकास गर्नुपर्ने बताएका छन् । अस्पतालको १९ वार्षिकोत्सव तथा १४ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले अस्पताललाई क्यान्सरको उपचार, अनुसन्धान र अध्ययनको केन्द्रका रुपमा विकास गरी मोडल अस्पताल बनाउन सरकारले ध्यान दिनुपर्ने बताए । “यस अस्पतालले क्यान्सरको उपचार र निदानको क्षेत्रमा केन्द्रीय अस्पतालको भूमिका निर्वाह गरिहेको छ”, महराले भने, “अब मोडेलका रुपमा स्थापित गराउन सरकारले आर्थिक र प्राविधिक सुविधा बढाउनुपर्ने हुन्छ ।” क्यान्सरको उपचार महंगो भएको उल्लेख गर्दै सभामुख महराले बिरामीहरुलाई राहत हुने गरि सरकारको सहयोग वृद्धि गर्नुपर्ने बताए । अन्तर्राष्ट्रियस्तरको उपचार केन्द्रको रूपमा विकास गर्न सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
कांग्रेस महामन्त्री डाक्टर सशांक कोइरालाले विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्थापनाको सन्दर्भ चर्चा गर्दै अस्पताललाई अब एशियाकै नम्बर एक बनाउन पहल गर्न आग्रह गरेकाछन् । कांग्रेसको तर्फबाट आवश्यक सहयोग गर्न संधै तयार रहेको उनले उल्लेख गरे ।
कार्यक्रममा नेकपाका जिल्ला नेता तेजेन्द्र खड्काले अस्पतालको १९ वार्षिकोत्सव मनाइरहँदा अस्पतालको जमिनमा बनाइने भनिएको सुविधा सम्पन्न सिटीहल निर्माणको योजनालाई साकार बनाउन अझै पनि सोच विचार गर्न आग्रह गरे । “राजनैतिक दलले जिल्लामा सहमति जुटाएपनि विविध कारणले सुविधा सम्पन्न सिटी हलको योजना स्थगित भयो,” उनले भने, “अस्पताललाई मोडेल बनाउने कुरा गर्दै गर्दा सिटी हल पनि समावेश गर्न सके राम्रै हुन्छ।” उनले सरकार, निजी क्षेत्र र समुदाय मिलेर अस्पताल विकास गर्नुपर्ने बताए ।
नेपाली काँग्रेस जिल्ला सभापति जीतनाराण श्रेष्ठले नेपालकै सबैभन्दा ठूलो क्यान्सर अस्पतालमा सेवाग्राहीले उपचारका लागि पालो कुर्नुपर्ने अवस्था हटाउन सुझाएकाछन् । “क्यान्सर रोगको नामले समेत अत्तालिएका हुन्छन्, केमो तथा रेडियसन दिनुपर्ने बिरामी सिकिस्त मै पर्लान”, उनले भने, “६ ÷६ महिना पालो कुर्नुपर्दा पक्कै सहज हुंदैन, उपकरणहरु बढाएरै पनि सेवा दिन आवश्यक छ ।” फरक प्रसंगमा उनले देशमा पछिल्लो समय भएका बलात्कार र यौनजन्य अपराधका घटनाले देश नै बदनाम हुने अवस्था सृजना हुन लागेको भन्दै सभामुख महराको ध्यानाकर्षण गराए । क्यान्सर रोगको उपचार गर्ने उद्धेश्यले चीन सरकारको सहयोगमा १९ वर्ष अगाडि भरतपुरमा क्यान्सर अस्पताल स्थापना गरिएको हो । नेपालमा पत्ता लागेका क्यान्सरका बिरामी मध्ये बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले करिब ६० प्रतिशत बिरामीलाई सेवा पु¥याउँदै आएको छ । २० प्रतिशत बिरामीले नेपालकै अन्य क्यान्सर रोग उपचार गर्ने अस्पताल र बाँकी २० प्रतिशतले छिमेकी राष्ट्र लगायत अन्य मुलुकमा उपचार सेवा लिने गरेकाछन् । क्यान्सर अस्पतालमा आर्थिक वर्ष २०७४÷७५ मा मात्रै पाँच हजारको संख्यामा नयाँ बिरामी पहिचान गरीएकाछन् ।
१८ वर्षमा १४ लाख बढीकोे उपचार, ७६ हजार भर्ना
क्यान्सर अस्पताल भरतपुरले १८ वर्षमा १४ लाख ३७ हजार ३ सय ७२ जना बिरामीको उपचार गरेको छ । बहिरंग विभाग मार्फत ती बिरामीले उपचार पाएका हुन् । बहिरंग सेवा लिन आउने बिरामीको संख्या निकै उकालो लागेको छ । सन् २०१७ मा बहिरंग सेवा लिन आउने १ लाख २५ हजार ४१ रहेको अस्पतालले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । सन् २०१६ मा १ लाख २१ हजार १ सय ३५ जना, सन् २०१५ मा १ लाख १३ हजार ७ सय ९९ जनाले बहिरंग सेवा लिएका थिए । अस्पतालले सेवा सुरु गरेको वर्ष सन् १९९९ मा ७ हजार ९ सय ६४ जनाले बहिरंग सेवा लिएका थिए ।
अस्पतालमा भर्ना भएर सेवा लिनेको संख्या पनि उकालो लागेको छ । १८ वर्षको अवधिमा ७६ हजार ३ सय ९१ जना क्यान्सरका बिरामी भर्ना भएर उपचार सेवा लिएका छन् । सन् २०१७ मा अस्पतालमा भर्ना भएर सेवा लिने बिरामीको संख्या ४ हजार ९ सय ७८ जना रहेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१६ मा यो संख्या ४ हजार ५ सय ४८ थियो भने वर्ष २०१५ मा ५ हजार ४ रहेका छन् । अस्पताल स्थापना भएको वर्ष सन् १९९९ मा २ सय ३२ जना विरामीले अस्पतालमा भर्ना भइ सेवा लिएका थिए । सन् २००० मा यो संख्या ४ सय ९५ पुगेको थियो । सन् २००१ मा २ हजार ४ सय ८७ जनाले सेवा लिएकोमो त्यसयता प्रत्यक वर्ष कम्तिमा २ सय बिरामी संख्या वृद्धि हुंदै गएको देखिन्छ ।
अस्पतालमा रेडियसन, नाक कान घाँटी र बालबालिका वार्डमा सबैभन्दा बढी बिरामी आउने गरेको अस्पतालको वार्षिक प्रतिवेदनको तथ्यांकले देखाएको छ । सन् २०१७ मा यस वार्डमा मात्रै १ हजार १ सय ८२ जनाले सेवा लिएकाछन् । अस्पतालको सुरुआती दिनमा १ सय २५ शैयाको अन्तरंग सेवा सुरु गरेको अस्पतालमा हाल ४ सय ५० भन्दा बढी शैयाबाट सेवा दिंदै आएको अस्पतालका कार्यकारी निर्देशक डाक्टर विजयचन्द्र आचार्यले जानकारी दिए । क्यान्सरका बिरामीलाई छिटो उपचार सेवा उपलब्ध गराउन अस्पतालले मेडुलर अप्रेसन कक्ष र केमु क्याविनेट थप गर्न लागेको अस्पतालका कार्यकारी निर्देशक आचार्यले जानकारी दिए । यद्यपि नेपाल सरकारको स्वास्थ्यकर कोष उपलब्ध हुने कम वर्षेनी घटेर आउने क्रम रहँदा अस्पताललाई सेवा प्रवाहमा समस्या पर्न थालेको उनले ध्यानाकर्षण गराए ।