भरतपुर,११ असोज ।चाडबाड नजिकिएसँगै दैनिक उपभोग्य सामानको मूल्य वृद्धि भएको छ । चितवनका व्यापारिले चाडबाडको मुखमा मूल्य बढाएका छन् । पछिल्लो १० दिन यता दैनिक उपभोग्य वस्तुको मूल्य उकालो लागेको खुद्रा व्यापारीले बताएका हुन् ।
आँटा, मैदा, तेलमा २० देखि २५ रुपैयाँ मूल्य बढेको छ । तेलमा अझै थप १० रुपैयाँ बढ्न सक्ने किराना व्यवसायी संघ चितवनका कोषाध्यक्ष टेकप्रसाद पनेरुले बताए । उनले तेलमा यसअघि मिसावट हुँदै आइरहेको र पछि अनुगमनमा कडाइ गरेकोले तेलको मूल्य बढेको बताए । दशैको समयमा निकै खपत हुने मैदा र आटामा पनि प्रति केजी ४ रुपैयाँ बढेको कोषाध्यक्ष पनेरुले बताए । कोषाध्यक्ष पनेरुले चिनीमा तीन रुपैयाँ बढेर ६८ रुपैयाँ भएको बताए पनि पसलमा भने ७० रुपैयाँदेखि ७५ रुपैयाँमा चिनीको बिक्री भइरहेको पाइन्छ । ठूला व्यापारीले नै मूल्य बढाएकाले खुद्रा बजारमा महंगो पर्न गएको उनको दाबी छ ।
चाडबाडका बेला व्यापारीले कालोबजारी गर्ने भएकाले अझै मूल्यवृद्धि हुने देखिन्छ । पहिल्यै सामान ल्याएर स्टक गरिसकेका व्यापारीले चाडपर्वका बेला कालोबजारी गर्ने, कृत्रिम अभाव सृजना गर्ने गरेका छन् । उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका कार्यवाहक अध्यक्ष विष्णु भुसालले पहिलेनै गोदाममा राखेको स्टक सामानमा नै मूल्य बढाएर बेच्नु गलत भएको बताए । मञ्चले मूल्य वृद्धिको बारेमा खाद्य निरीक्षक र बजार संरक्षण अधिकृतलाई जानकारी गराइसकेको जानकारी दिए । उनले विगत दुई महिना अघिदेखि बजार संरक्षण अधिकृतको सरुवा भएकोले पनि जिल्ला प्रशासन कार्यालयबाट बजार अनुगमन प्रभावकारी हुन नसकेको गुनासो गरे । उनले भने, “बुटवल, हेटौंडा र विरगन्जमा ७०० रुपैयाँ प्रति किलोमा पाइने खसीको मासुको मूल्य चितवनमा ८८० मा बेच्दा पनि प्रशासन मौन रहेको छ ।” चिनीको मूल्य दशैंसम्म अझै बढ्ने देखिएको खुद्रा व्यापारी बताउँछन् । सरकारले चिनीको आयातमा एक लाख मेट्रिक टनको कोटा तोकेपछि आन्तरिक बजारमा चिनीको मूल्यमा व्यापारीको मनपरी देखिएको छ ।