विप्लव काफ्ले/कायाकैरन
भरतपुर/बेलैमा पहिचान हुन नसक्दा क्यान्सर रोग निदानमा समस्या हुने गरेको छ । बेलैमा पहिचान नगरिएपछि रोग जटिल बन्दा उपचारमा खर्च धेरै लाग्ने तथा निको हुन कठिन हुने गरेको छ ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख भोला शिवाकोटीका अनुसार ९५ प्रतिशत क्यान्सरका बिरामी उपचारमा ढिलो आउने गरेका छन् । “लक्षण देखिन थालेपछि बल्ल उपचारमा आउँदा निकै ढिलो भइसकेको हुन्छ”, उनले भने, “बेलाबखत क्यान्सरको ‘स्क्रिनिङ’ गरिएमा रोग जटिल हुन पाउँदैन, निदान गर्न पनि सहज हुन्छ ।” समुदायमा अझै क्यान्सरका ८५ प्रतिशत बिरामी उपचारमै नआएको अनुमान गरिन्छ । “१०÷१५ प्रतिशत बिरामी मात्र उपचारमा आएका छन्”, उनले भने, “स्थानीय स्वास्थ्य संस्थाबाटै क्यान्सर पहिचान गर्न सके बेलैमा सबैलाई उपचारमा ल्याउने वातावरण बन्थ्यो ।”
क्यान्सर अस्पतालले गतवर्ष ९५ स्थानमा गरेको क्यान्सर परीक्षणमा धेरै बिरामी फेला परेका थिए । “पाठेघर मुख, स्तन, मुख, घाँटी र छालाको क्यान्सर पत्ता लगाउन करिब ५ सय खर्च गरे पुग्छ”, उनले भने, “तर, लक्षण देखिन थालेपछि मात्र उपचारमा आउने प्रचलन छ, यो सुधार हुनुपर्छ ।” कलेजो, भित्री आन्द्राजस्ता क्यान्सर पत्ता लगाउन केही जटिल भएपनि अन्य क्यान्सर पहिचान गर्न धेरै खर्च लाग्दैन । तैपनि बेलाबखत परीक्षण गर्ने संस्कार नै नबसेको उनी बताउँछन् ।
अस्पतालले गरेको समुदायस्तरको परीक्षणमा क्यान्सरका करिब ५ सय जना नयाँ बिरामी फेला परेका थिए । क्यान्सर अस्पतालमा गतवर्ष ४ हजार ९ सय ७५ जना नयाँ बिरामी फेला परेका थिए । समुदायस्तरमा ४ हजार १ सय ६० जनामा गरिएको स्तन परीक्षणमा २८ जनामा क्यान्सर पहिचान भएको थियो । यस्तै ४ हजार ४ सय ६० जनामा गरिएको परीक्षणमा ६३ जना, मुख र घाँटीको परीक्षणमा २ सय जनामा क्यान्सर फेला परेको थियो ।
अस्पतालले ५४ जिल्लाका करिब ४ हजार स्वास्थ्यकर्मीलाई क्यान्सर सचेतनाबारे तालिम दिएको छ । यस्तै ३६ जिल्लाका सामुदायिक विद्यालयका शिक्षक, ९ र १० पढ्ने विद्यार्थीलाई क्यान्सर रोग रोकथामबारे सचेतना कक्षा दिएको छ । अस्पतालमा सन् २०१७ मा ८ हजार ७ सय ७४ क्यान्सरका बिरामी भर्ना भएका थिए । अस्पतालको बहिरंग विभागबाट १ लाख २५ हजार ४१ जनाले सेवा लिएका थिए । सन् २०१६ मा ४ हजार ५ सय ४८, सन् २०१५ मा ५ हजार ४ जना, सन् २०१४ मा ४ हजार ५ सय ९९ जना, सन् २०१३ मा ४ हजार ६ सय ९० जना क्यान्सरका बिरामी भर्ना भएका थिए ।
“नेपालमा करिब ३५ हजार क्यान्सरका नयाँ बिरामी फेला पर्छन्”, उनले भने, “केही निको हुन्छन्, कोही क्यान्सरको उपचार गर्दै बाँचिरहेका छन्, कोहीले ज्यान गुमाउँछन् ।” संसारमा क्यान्सरका बिरामी वर्सेनि बढ्ने क्रममा रहेकाले भयावह स्थिति आउन नदिन बेलैमा सचेतनामूलक कार्यक्रम र जीवनशैलीमा सुधार गर्नुपर्ने उनको भनाइ छ । “अस्वस्थकर खानपिनका कारण झण्डै ९० प्रतिशतलाई क्यान्सर लाग्छ”, उनले भने, “चुरोट, सूर्तिजन्य पदार्थ, अल्कोहल सेवन छाड्नुपर्छ, नियमित व्यायममा ध्यान दिनुपर्छ ।”
अस्पतालको सन् २०१७ को तथ्यांकानुसार सबैभन्दा धेरै फोक्सो क्यान्सरका नयाँ बिरामी पहिचान भएका छन् । ५ सय ७४ जना फोक्सो, ५ सय ४४ जना पाठेघरको मुखको क्यान्सर, ४ सय ९६ जना स्तन क्यान्सरका बिरामी उपचारमा आएका थिए । अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्य अस्पतालले क्यान्सर रोकथाम तथा नियन्त्रणका कार्यक्रम अभियानका रुपमा सञ्चालन गरिरहेको बताउँछन् । “क्यान्सर रोगको उपचार खर्चिलो छ, रोग लागेपछि आर्थिक समस्या र मानसिक पीडा बढ्छ”, उनले भने, “बेलैमा उपचारमा ल्याउन सके भयावह स्थिति आउने अवस्था रोक्न सकिन्छ, समुदायस्तरमा जनचेतना फैलाउन जरुरी छ ।”
उनले अस्पतालमा शैया तथा अत्याधुनिक उपकरण थप भएकाले सहजै सेवा पाउने अवस्था बनेको बताए । “विपन्न बिरामीलाई १ लाख बराबरको सुहलियत दिएका छौँ”, उनले भने, “बेलैमा उपचारमा आए कम खर्चमै रोग निको बनाउन सकिन्छ ।” उनले अस्पतालले ढिलो नगरी उपचार दिने बताए । “२ सय ५० शैया थप भएका छन्, जनशक्ति पनि थप भएका छन्”, उनले भने, “अप्रेशन कक्ष पनि थप्ने क्रममै छौँ, अन्य अस्पताल रिफर गर्ने अवस्था छैन, समयमै उपचार दिन प्रतिवद्ध छौँ ।” भदौ देखि अस्पतालको १ सय ९४ शैया विस्तार गरेर ४ सय ४४ शैया पु¥याइएको छ ।
यसैबीच बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको १९ औं वार्षिकोत्सव तथा १४ औं राष्ट्रिय क्यान्सर सतर्कता दिवस बुधबार विशेष कार्यक्रम गरी मनाइदैछ । प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराले कार्यक्रमको उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा अस्पतालको वार्षिक प्रतिवेदन र नेपलिज जर्नल अफ क्यान्सरको विमोचनसमेत गरिनेछ । अस्पताल वि.सं. २०५७ मा एक सय शैयााबाट सुरु भएको थियो । चीन सरकारको सहयोगमा यो अस्पतालको स्थापना एसियाकै नमूना अस्पताल बनाउने उद्देश्यले गरिएको थियो । शैया विस्तार भएसँगै बाहिरी सेकाइ, सेकाइको ठाउँ पहिचान गर्ने र भित्री अंगको सेकाइ गर्ने उपकरण सञ्चालनमा ल्याइदैछ ।