प्रमिता ढकाल/कायाकैरन
भरतपुर,९ असोज ।गत भदौ १ गतेबाट लागू भएको नँया कानूनमा घरबहाल कर घरधनीले नै तिर्नुपर्ने व्यवस्था गरिएकोमा घरबहाल उपभोक्ता मञ्च चितवनले स्वागत गरेको छ । कानून कार्यान्वयनका लागि घरधनी तथा बहालमा बस्नेहरुलाई लक्षित गरेर सूचनामूलक प्रशिक्षण दिने निर्णय मञ्चको सोमबार सम्पन्न सातौं साधारणसभाले गरेको छ ।
व्यावसायिकरुपमा घरभाडामा दिएका घरबेटीले १० प्रतिशत र आवासीयरुपमा घरभाडामा दिएका घरबेटीले दुई प्रतिशत कर तिर्नुपर्ने हुन्छ । घर भाडामा लिँदा सम्झौतापत्र अनिवार्य गर्न लगाई बहालवालालाई आफू बलियो हुनसमेत प्रशिक्षण दिदैं आएकोमा नँया व्यवसायी लक्षित गर्दै कार्यक्रमलाई निरन्तरता दिने निर्णयसमेत साधारणसभाले गरेको छ ।
सो क्रममा घरबहाल राजस्व स्थानीय सरकारलाई नै बुझाउन पाउने व्यवस्था गर्न माग गर्दै पटक–पटक गरिएको छलफलले सार्थकता पाएको अध्यक्ष पवित्रा जोशीले बताइन् । यद्यपि भरतपुर महानगरपालिकाले सुगम नारायणगढ बजार र दुर्गम वडाहरुमा पनि भाडादर र राजस्व दायरा एउटै बनाउँदा व्यवसायी मर्कामा परेको भन्दै महानगर उपप्रमुख पार्वती शाहको ध्यानाकर्षण गराएकी छन् । “यो विषयमा मञ्चको तर्फबाट महानगरसँग पटक–पटक समन्वयात्मक बैठकसमेत बसिसकेका छौं,” जोशीले भनिन्, “यसबारे ठोस पहल गर्न पुनः ध्यानाकर्षण गराउँछु ।”
उपप्रमुख शाहले मञ्चको समन्वयकै आधारमा शहरी, ग्रामीण र मिश्रित इलाकालाई छुट्याएर भाडादर तथा राजस्व तोक्ने प्रक्रिया अघि बढिसकेको जानकारी दिइन् । घरबहाल उपभोक्ता मञ्चले सहजीकरण गरेकै कारण स्थानीय सरकारलाई घरबहालसम्बन्धी धेरै गुनासा समाधान गर्न मद्दत पुगेको उनले उल्लेख गरिन् । “स्थानीय सरकार आएको करिब १४÷१५ महिना बित्यो, योबीचमा थुप्रै समस्या घरबहालका पनि आए”, उपमेयर शाहले भनिन्, “घरबहाल उपभोक्ता मञ्च चितवनले समस्या सुल्झाउन अगुवाइ गर्दा कतिपय अवस्था सहज बनेको छ ।” आगामी दिनमा पनि सहकार्य गरी अघि बढे समस्या नरहने उनले दावी गरिन् ।
कार्यक्रममा भरतपुर वडा नम्बर १ का अध्यक्ष जयराम श्रेष्ठले आवासीय बहालवालाका कारण घरबेटीसमेत समस्यामा परेका उजुरी आउने गरेको भन्दै यसको समाधानका लागि गर्न सकिने पहलतर्फ ध्यान दिन मञ्चलाई आग्रह गरे । भाडामा बस्नेहरु ताला लगाएर महिनौैंसम्म गायब हुने अवस्थामा कर तिर्न नमान्ने जस्ता समस्या देखिएको उनले जानकारी गराए ।
उद्योग वाणिज्य संघ–चितवनका द्वितीय उपाध्यक्ष चिरञ्जीवी सुवेदीले चितवनमा घरबहाल उपभोक्ता मञ्चले व्यवसायीको हितमा हुने गरी उठाएका मुद्दा तथा सवालमा उद्योग वाणिज्य संघ सधैं सकारात्मक रहेको बताए । “नारायणगढ बजार क्षेत्रमा ९० प्रतिशत व्यवसायी बहालमा बसेका छन्”, सुवेदीले भने, “मञ्चले व्यवसायीको हितमा हुने गरी निर्वाह गरेका समन्वयात्मक पहलले उद्योग बाणिज्य संघलाई पनि सहज भएको छ ।”
मञ्चका संस्थापक अध्यक्ष हेमराज पौडेलले मञ्चको निरन्तर संघर्षकै कारण घरबहालमा बसेका व्यवसायीलाई हट्नका लागि कम्तीमा ३ वर्ष र आवासीयरुपमा बसेकालाई कम्तीमा ३ महिनाअघि सूचना दिनुपर्ने प्रावधान ल्याउन सफल भएको बताए । केही वर्ष अघिसम्म बहालमा बसेकालाई घरबेटीले विनाकारण हट्न लगाउने, विनाजानकारी भाडा बढाउनेजस्ता क्रियाकलाप गर्दा सास्ती भोग्न बाध्य थिए ।
घरबेटीहरुले घरबहाल करसमेत बहालमा बसेकालाई नै तिर्न लगाउने परिपाटी थियो । यस्ता विविध समस्याग्रस्त बहालवालाको नेतृत्व गर्दै पौडेलको अध्यक्षतामा वि.सं. २०६८ सालमा मञ्च गठन भएको हो । मञ्चमा एक हजार दुई सय २५ सदस्य आबद्ध छन् । मञ्चका महासचिव ख्यामनारायण पराजुलीले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष कृष्ण कँडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको साधारणसभामा मञ्चलाई सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
घरबहालसम्बन्धी कानूनको स्वागत
घरबहालसम्बन्धी कानूनको स्वागत
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस