कृषि तथा वन विज्ञान विश्व विद्यालयकी डिन डा. शारदा थपलिया नेपाली महिलाको सक्रियता र अध्ययनशीलताको लागि एक प्रेरणा हुन् । ५५ वर्षीया डा. थपलिया सदैव विश्वविद्यालय र विद्यार्थीको निम्ति चीन्तनशील रहन्छिन् ।
जिम्मेवारी लिएपछि शतप्रतिशत दिन सक्नुपर्छ भन्ने मान्यता राख्ने डा. थपलिया, विश्वविद्यालयका डिन भएपछिको पहिलो ६ महिना नारायणगढ बजार जान पनि भ्याइनन् । ६ महिनापछि नारायणगढ पुग्दा बजार क्षेत्रमा पाइडल रिक्सा हराइसकेको थियो । बजारभरि ई—रिक्सा तथा अटो देख्दा उनलाई नौलो लाग्यो ।
सन् २०१० मा स्थापना भएको नयाँ विश्वविद्यालयको ‘प्लानिङ डाइरेक्टर’ बनेपछि उनको पेशागत सक्रियता अझै बढेको हो । बिहानदेखि बेलुका अबेरसम्म पनि उनी विश्वविद्यालयकै काममा हुन्छिन् । अध्ययन तथा कामको सिलसिलामा विदेश जाँदा थुप्रै समूहले नेपाली परिवर्तन स्वीकार्न सक्दैनन् भनेर टिप्पणी गर्दा प्रतिवाद गरेकी उनी त्यो टिप्पणीलाई गलत सावित गर्न तल्लिन छिन् ।
नेपाली कृषि प्रणाली, प्रविधि र कृषि शिक्षामा परिवर्तन ल्याउन दत्तचित्त भई लागिपरेकी छिन् । तर, निकै मेहेनत गरेर विश्वविद्यालयको रणनीतिक योजना तर्जुमा गरेपनि सबै योजना कार्यान्वयमा ल्याउन देखिएका कठिनाइले उनलाई त्यो टिप्पणी साच्चै हो कि जस्तो लाग्न पनि थालेको छ । तर, उनी हताश भने छैनन् । पछूतो नहुने गरी वर्तमानमा काम गर्न उनी थाकेको महसुस नै गर्दिनन् ।
२०२० जेठ २५ गते नुवाकोटमा बाबु मणिदीप थपलिया र आमा तेजकुमारी थपलियाको ६ सन्तानमध्ये पाँचौं सन्तानका रुपमा जन्मिएकी डा. थपलिया दुई कक्षामा पढ्नेबेला विद्यालय भर्ना भइन् । दुई घण्टा हिँडेर पुगिने विद्यालयमा सानी छोरीलाई आउजाउ गर्न गाह्रो हुन्छ भनेर बाबुले उनलाई घरमै पढाएका थिए ।
विद्यालयमा अध्ययनको सिलसिला सुरु भएपछि कहिल्यै दोस्रो हुन जानिनन् । किसान परिवारका बाबुले भागेर वेद पढी आएपछि हलो चलाउन हुन्न भन्ने मान्यताअनुसार निकै कष्टकर कृषक जीवन बिताएको उनको स्मृतिमा अझै ताजै छ । बाबुले गर्ने सबै कृषि कर्ममा उनले सहयोग गर्थिन् । “एक हल गोरु पर्म लाउन ल्याउँदा घरबाट चारजना मेला जानुपरेका दिनले नै सायद मेरो मनमा कृषि अध्ययन र कृषिमा आधुनिकीरणका लागि संघर्ष गर्ने ऊर्जा दिएको होला”, उनले भनिन् ।
६ कक्षासम्म गाँउकै विद्यालयमा पढेपछि सात कक्षामा उनी काठमाडौंको लैनचौरमा रहेको कन्या विद्यालयमा भर्ना भइन् । २०३६ सालमा भाइ र उनले सँगै एसएलसी दिएका थिए । परिवारको आर्थिक अभावलाई महसुस गरेका उनीहरु आफैले एसएलसी परीक्षा दिने समयमा पनि अन्य विद्यालयका सँगै एसएलसी परीक्षा दिने विद्यार्थीलाई ट्यूसन पढाएर खर्च जुटाउने गर्दथे । “म गणितमा पोख्त थिएँ, भाइ अंग्रेजीमा”, उनले भनिन्, “ट्यूसन पढ्न चाहनेहरुलाई हामी सबै विषय समेट्ने गरी एउटा प्याकेज नै अफर गथ्र्यौं र पैसा लिएर पढाउथ्यौं ।”
एसएलसी सकेपछि लैनचौरकै अमृत साइन्स कलेजमा आईएससी अध्ययन गरिन् । मेडिकल अध्ययन गर्ने चाहना पूरा गर्न उनले महाराजगञ्ज क्याम्पसमा आवेदन दिएकी थिइन् । तर, नाम निस्किएन । यसबीचमा उनले एक विद्यालयमा अध्ययापन गर्न थालिन् । त्यसपछि २०४१ सालमा उनले भारतको उडीसामा रहेको कृषि विश्वविद्यालयमा भेटेरिनरी पढ्न छात्रवृत्तित्रमा नाम निकालिन् ।
त्योबेला नेपालबाट ५ जना छात्राले पूर्ण छात्रवृत्तिमा उडिसामा पढ्न जाने अवसर पाए, जसमा दुई जना भेटेरिनरी संकाय र ३ जना कृषि अध्ययनका लागि जाने भएका थिए । ५ जना छात्राहरु जाने भएपछि अभिभावकहरु पनि पु¥याउन जाने भए । ४ जनाका अभिभावक सँगै गएपनि डा. थपलियाको अभिभावक भने छोरीलाई विश्वविद्यालयसम्म छाड्न गएनन् । आर्थिक अभावकै कारण दिल्ली र त्यसपछि भुवनेश्वर जाने प्लेन टिकट काट्न लाग्ने खर्च जोगाउन नै साथीहरुको अभिभावकको जिम्मा लगाइएको थियो भन्ने उनलाई लाग्छ ।
६० जना विद्यार्थी भएको भेटेरिनरी संकायको कक्षामा जम्मा ४ जना छात्रा थिए । जसमा दुई जना मात्र नेपाली । नेपालबाट गएका धेरैले कृषि नै अध्ययन गर्ने भएकाले भेटेरिनरी पढ्ने नेपाली छात्रा थोरै थिए । महिलालाई दमन र शोषण गर्ने सामाजिक परिवेश त्यहाँ अझ बढी देखिन् । भारतीय ती दुई छात्रा कलेजका कुनैपनि शैक्षिक भ्रमणमा जान्थेनन् भने नेपालबाट गएका दुई कुनैपनि शैक्षिक भ्रमण छोड्थेनन् । त्यो विश्वविद्यालयमा सबै शैक्षिक सत्रमा गरी कृषि र भेटेरिनरी अध्ययन गर्ने कूल २७ जना नेपाली छात्रा थिए । ६–६ महिनामा छुट्टी हुने भए पनि उनीहरु एउटा विदा भारत भ्रमणको लागि र एउटा विदा घर आउनको लागि उपयोग गर्दथे ।
अध्ययन पूरा गरेर उनी २०४७ साउनमा नेपाल आइन् । आएलगत्तै त्रिभुवन विश्वविद्यालयअन्तर्गतको रामपुरमा रहेको कृषि तथा पशुविज्ञान अधययन संस्थानमा जागिर सुरु भयो । भारतमा छँदा नै रामपुरबाट गएका एक स्नातकोत्तर विद्यार्थीले रामपुरमा भेटेरिनरी शिक्षक आवश्यक परेको सुनाएका थिए । भाग्य नै भन्नुपर्छ आवेदन दिएको ३ दिनमै उनको जागिर पक्का भयो ।
जागिर सुरु गरेको ४ महिनापछि मंसिरमा उनको विहे भयो ।
उनका श्रीमान् डा. तिलचन्द्र भट्टराईले उनी उडिसा पढ्न गएदेखि नै फलो गरेका रहेछन् । “छात्रवृत्तिमा पढ्न जानुअघि मैले पढाउने हिमालय विद्या मन्दिरमा उहाँको एक जना साथी हुनुहुँदोरहेछ, उहाँले नै मेरो बारेमा बताउनुभएछ । त्योबेला डा. भट्टराई गुजरातमा एक ब्याच सिनियर पढ्दै हुनुहुन्थ्यो र मेरो बारेमा जानकारी लिएर राख्नुभएको रहेछ । पछि मभन्दा एक वर्ष पहिले नै नेपाल आएर सरकारी जागिरमा हुनुहुन्थ्यो । म आएपछि बिहेको कुरा चल्यो र २०४७ मंसिरमा बिहे भयो ।” उनले निकै लामो हाँसोसहित श्रीमान्लाई हेर्दै भनिन् ।
बिहेपछि श्रीमान्ले पनि चितवन सरुवा मिलाए । काठमाडौंकी डा. शारदा र झापाका डा. भट्टराईले चितवनमा नै आफ्नो कर्मथलोसँगै मायाका संसार बनाए । रामपुरमा पढाउन सुरु गरेको पाँच वर्षमा नै शारदालाई जापान गएर स्नातकोत्तर र पीएचडी एकैसाथ गर्ने अवसर प्राप्त भयो । उनका दुई सन्तान जन्मिइसकेका थिए । तर, अध्ययनशील दम्पत्तीले यो अवसर गुमाउन चाहेनन् । डा. भट्टराईले आफूले सन्तान हेर्ने वाचासहित श्रीमतीलाई जापान पठाए । यसबीचमा उनले सरकारी जागिर छोडेर आफ्नै पञ्चरत्न फिड सुरु गरिसकेका थिए । भाउजूको अध्ययनमा सघाउन माइली नन्दले झापाबाट आफ्नो पढाइ चितवनको वीरेन्द्र क्याम्पसमा सारिन् र भदा भदैको हेरचाह गरिन् ।
पढ्न जापान गएकी शारदाको दैनिकी निकै कष्टकर रह्यो । उनलाई घर र छोराछोरीको याद यति आयो कि उनी ‘डिप्रेसन’मा पुगिन् र औषधि नै खानुप¥यो । त्यसपछि उनका श्रीमान् डा. तिलचन्द्रले आफू पनि अध्ययनका लागि सन्तानसहित जापान जाने मेसो मिलाए र चार जना फेरि सँगै भए । यसले न्यास्रो त मेटायो, तर सँगै कामको लोड थपियो । ल्याबमा अधिक समय बिताउनुपर्ने शारदालाई श्रीमान्ले त्यहाँ पनि सहयोग गरे । उनको अध्ययनमा बाधा नआउने गरी श्रीमान्ले घर र बच्चा सम्हाल्दै आफ्नो सर्भेमा आधारित अध्ययन पूरा गरे । डा. शारदाले निकै कडा मेहनत गरेर पीएचडी सकिन् र नेपाल फर्किइन् । तर, उनको विषयको विशेषज्ञता माग भने विकसित देशमा हुन्छ । उनलाई आएका थुप्रै अफरलाई त्याग्दै नेपालमा केही गनुपर्छ भन्दै उनी फर्किइन् र रामपुरमा सहायक डिनको कार्यभार सम्हालिन् ।
सहायक डिन हुँदा कामको भार पनि खासै महसुस नगरेकी डा. शारदाले अहिले डिन भएपछि कामसँगै खिचातानीको महसुस गरेकी छिन् । “महिला भएकाले काम गर्न सक्दिन भन्ने सोच्नेहरु छन् भन्नेचाहिँ मलाई लाग्दैन,” उनले भनिन्, “नेतृत्वमा पुगेपछि चाहे पुरुष होस् वा महिला अपजस दिनकै लागि खुट्टा तान्नेहरु बढ्दा रहेछन् ।”
उनको कार्यशैलीमा पनि गुनासो गर्नेहरु छन् । उनी हरेक कुरामा शतप्रतिशत काम खोज्ने गर्छिन् । प्रशासनिक जिम्मेवारी अपनाउँदा कडारुपमा प्रस्तुत हुने डा. शारदासँग कर्मचारी, विद्यार्थीको पनि ‘टसल’ छ । तर, उनी आफ्नो कार्यशैलीमा खोट लगाउने मौका दिन चाहन्नन् । “महिलाहरु आफ्नो जिम्मेवारीमा अझ बढी उत्तरदायी, लगनशील, पारदर्शीता कायम राख्न सक्ने हुन्छन् भन्ने विदेशमा थुप्रै अध्ययन भएका छन्”, उनले भनिन्, “म चाहन्छु नेपालमा पनि यस्तो अध्ययन होस् र हेरियोस् पदीय जिम्मेवारीमा महिलाहरु कति सक्षम छन् ।”
परिवारको साथ र सहयोगले नै आफ्नो शैक्षिक यात्रामा बिराम लगाउनै नपरी अघि बढेकी डा. शारदा परिवारको लागि पनि उत्तिकै जिम्मेवार छिन् । सासूससुराको आशीर्वादका लागि प्रत्येक दशँैमा अनिवार्य झापा जाने, जेठाजु, देवर र नन्दहरुको खुसीमा सामेल हुने कर्तव्य पूरा गर्न चुक्दिनन् ।
परिवारमा अध्ययनको सिलसिलामा कहिले आफै, कहिले श्रीमान् त कहिले सन्तान घरबाट टाढा रहेका उनीहरु अहिले केही महिनायता चारैजना सँगै छन् । छोरीले अमेरिकाबाट डाटा ईञ्जिनियरिङमा स्नातकोत्तर र छोराले भारतबाट कम्प्युटर ईञ्जिनियरिङ सकेर आएपछि अहिले पारिवारिक माहोलमा केही रमाइलो र खुसी छाएको छ । तर, आफूले सम्हालेका पेशागत पदीय जिम्मेवारी उनको पहिलो प्राथमिकतामा पर्दछ । अब त कमाउन पुगेन भनी प्रश्न गर्नेलाई उनी भन्छिन्, “जिम्मेवारी केवल पैसा कमाउनका लागि होइन, आफ्नो पहिचान ऐतिहासिक बनाउनका लागि पनि बहन गरिन्छ ।”
तीन प्रश्न
१. जीवन के हो ?
जीवन एक अविछिन्न यात्रा हो जहाँ आरोहअवरोह सामान्य हो ।
२. संघर्षलाई कसरी परिभाषित गर्नुहुन्छ ?
जीवनमा आफूले गरेका निर्णयलाई सार्थक तुल्याउन गरिने पहल नै संघर्ष हो ।
३.जीवनमा सफलता प्राप्ति भनेको के हो ?
जीवनमा यो कामपछि मात्र त्यो काम (शिक्षा, बिहे, बच्चा, करिअर) गर्नुपर्छ भनेर थाति राख्दा धेरै छुट्न सक्छ । सबै सँगसँगै अघि बढाउन सके एउटा मोडमा पुग्दा सबै हासिल भएको अनुभव हुन्छ र सन्तोष मिल्छ । त्यसैले निरन्तर संघर्षबाट एउटा तहमा पुगेपछि पछाडी फर्किएर हेर्दा मिल्ने सन्तोष नै वास्तविक सफलता हो ।
प्रस्तुतिः प्रमिता ढकाल