कान्ती महतो यादव एथलेटिक्समा चितवनमात्रै नभएर देशकै मुहारमा कान्ती छाउने पात्र हुन् । खेलाडीका रुपमा तत्कालीन अवस्थाम राष्ट्रिय रेकर्ड राख्न सफल उनमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेको र मेडल जितेको अनुभव छ । करिब ३ दशकदेखि उनी निरन्तर प्रशिक्षणमा छिन् । विद्यालयस्तरको खेलदेखि खेलाडी उत्पादनसम्म उनले धेरै संघर्ष र उपलब्धी हासिल गरेकी छन् । कायाकैरनको वार्षिकोत्सव विशेषांक ‘महिला क्रान्ति’ का लागि उनको जीवन संघर्ष र उपलब्धीबारे विनोदबाबु रिजालले राखेको जिज्ञासामा उनी यसरी खुलिन्ः
मेरो जन्म साविक गर्दी गाविस हाल माडी नगरपालिका १ मा वि.सं. २०२३ साल जेठ १८ गते भएको हो । भूमिपुत्र किसान थारुको घरमा जन्मिएको कारण हाम्रो मुख्य काम नै खेतीपाती थियो र अहिले पनि बुबाआमा यसैमा हुनुहुन्छ । २ बहिनी र ३ भाइ सन्तानमध्ये म जेठी हुँ । सानैदेखि सबैको माया पाएँ ।
म ६÷७ वर्षको हुँदा गाउँका साथीभाइ स्कूल गएको थाहा पाएँ । त्योबेला गाउँका जमिन्दारका छोरहरु सबै स्कूल गएका थिए । तर, छोरीलाई पठाउने चलन थिएन । हाम्रो परिवार केही सचेत थियो । मावलीका हजुरबुवा पनि शिक्षित हुनुहुन्थ्यो । सानिमाहरुलाई स्कूल पठाउनु हुन्थ्यो । मैले पनि कर गरेर बुवालाई भर्ना गर्न लगाएँ । अनि बरुवा बजारको प्राथमिक विद्यालय जान थालें ।
त्यतिबेलाको स्कूलमा केही सुविधा थिएन । हामी घरैबाट लगेको बोरा ओछ्याएर बस्थ्यौं । बेञ्च थिएन । खडई र ढोंडले बारिएको थियो । तीन कक्षासम्म पुग्दा स्कूललाई फलेकले बारियो । चटक्क देखियो । फलेकपनि शितलपुरबाट टाउकोमा बोकेर ल्याएका थियौं ।
म पढाइमा सानैदेखि राम्रो थिएँ । तर, ६ कक्षा पढ्दाा बुवाले स्कूल नजा भन्नुभयो । म धेरै रोएँ । ४–५ दिन स्कूल नगएपछि हेडसर कृष्णबहादुर रानाभाटले बुवालाई बोलाएर सम्झाउनुभएछ । अनि फेरि स्कूल जान थालें । ४ देखि ७ कक्षासम्म चिरौलीको निम्न माध्यमिक विद्यालय पढेपछि माडी माध्यमिक विद्यालय गएँ । त्यहाँबाट सरासर पास हुँदै एसएलसी दिएँ । तर, गणितमा फेल भएँ । अर्को वर्ष फेरि सबै विषयको जाँच दिएर दोस्रो श्रेणीमा एसएलसी कटाएँ । त्यसबेला थारु समुदायबाट एसएलसी गर्ने छोरी थिएनन् । मैले पास गरेपछि छोरी पनि पढाउनु पर्ने रहेछ भन्ने चेतना भयो ।
खेलकुदमा रुचि
प्राथमिक स्कूल भर्ना भएदेखि नै हामी ४–५ जना साथी थियौं । हाम्रो कामै खेल्ने भनेजस्तै थियो । कबड्डी, बूढी कबड्डी, चेती खोलामा ढुंगा फाल्ने बगैंचामा झटारोले आँप झार्ने, सिमलको भुवा झार्ने, दौडने गथ्र्यौं । टिफिनमा पनि एक डेढ किलोमिटर रहेको घरमा दौडदैं खाजा खान आउने र फेरि दौडदैं स्कूल पुग्ने गथ्र्यौं । थाहै नपाई यस्तै गतिविधिमा ममा खेलाडीका लागि चाहिने सीप र क्षमता विकास हुँदै गएको रहेछ ।
खेलमा राम्रो गर्न सानैदेखि संगत राम्रो हुनुपर्छ । आधार बन्नुपर्छ । मेरो त्यस्तै भयो । हामीले गर्ने गतिविधि नै खेलका लागि आधार रहेछ । पछि थाहा भयो । गति, समन्वय, सीप, क्षमता सानैदेखि बढेको रहेछ । यसले मेरो खेल जीवनमा धेरै सघायो ।
म माडी मा.वि.मा ८ कक्षामा भर्ना भएँ । खेलशिक्षक डिलबहादुर गुरुङ एकदमै मेहनती हुनुहुन्थ्यो । म शारीरिकरुपमा निकै फिट देखेर सरले लङजम्प, दौड र भलिबलमा सहभागी हुन भन्नुभयो । २०३८ सालमा दौडमा स्कूलभरि पहिलो भएर नेपाल मा.वि. चौरमा वीरेन्द्र शिल्डको लागि छानिएँ । २ सय मिटर दौडमा पहिलो नै भएँ । तर, म ट्रयाकमा पहिलोचोटि कुदेको हुनाले प्राविधिक ज्ञान भएन । मैले ट्रयाक चेञ्ज गरिछु, म अयोग्य घोषित भएँ । रिले दौडमा मेरो स्कूल तेस्रो भयो । हामी त्यसैमा रमायौं ।
प्रयास ग¥यो भने सकिदो रहेछ भन्ने लाग्यो । ज्यादै उत्साह जागेर आयो । स्कूल फर्केपछि खेलमा झनै चासो दिन थालें । अर्को साल फेरि वीरेन्द्र शिल्डका लागि छानिएँ । शिवनगरमा भएको त्यो साल पहिलोचोटि सटपुट समावेश रहेछ । डिलबहादुर सरले २–३ चोटि इँटा र ढुंगा फाल्न लगाएर मलाई सहभागी गराउनुभयो । मैले २९ फिट फालें । सबैले ताली बजाए । खुसीको सीमा रहेन । त्यो वर्ष माडी मा.वि.ले वीरेन्द्र शिल्ड जित्यो । शिल्ड बोकेर ट्याक्टर चढी रमाउँदै माडी फर्किदैं थियौं । रिउ खोलासम्मै माडीबासी बाजागाजासहित हामीलाई लिन आए । बाजामा नाच्दै, रमाउँदै गयौं ।
राष्ट्रिय खेलकुदमा सहभागिता
जिल्लास्तरीय वीरेन्द्र शिल्डमा पहिलो स्थान हात पारेपछि धेरैको ध्यान ममा गयो । २०४० फागुनमा दोस्रो राष्ट्रिय खेलकुद पोखरामा हुँदै थियो । मलाई बोलाइयो । त्यसबेला भरतपुर आउन पनि समस्या थियो । कहिले जगतपुरसम्म पैदल आएर बस चढिन्थ्यो, कहिले माडीबाटै साइकलको पछाडि बसेर आइन्थ्यो । यहाँ खानबस्न पनि ज्यादै समस्या हुन्थ्यो । त्यसबेला भरतपुरमा कलावती पौडेल, बसन्ती अधिकारी, ईश्वरी गौतम, रमा पौडेलजस्ता मिल्ने साथीहरुसँग संगत भयो । म उनीहरुकै घरमा बसेर कयौं दिन ट्रेनिङ गरेकी छु । क्षेत्रीय शिक्षा निर्देशनालयअन्तर्गत खेल्न हामी वीरगञ्ज गयौं । नारायणी अञ्चलको प्रतिनिधित्व गर्दै पोखरा खेल्न गयौं । त्यो प्रतियोगितामा मैले सटपुटमा गोल्ड मेडल जितें । यसले मलाई निकै उत्साह थपिदियो । मैले गोल्ड मेडल जितेपछि हल्लाखल्ला भयो । माडी माविले पढाइ नै बन्द गरेर खुसियाली मनायो ।
अर्को वर्ष दाङमा भएको राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा सटपुटमा आफ्नै रेकर्ड तोडेर मैले १०.६६ मिटर फालें । अहिले पनि १०.६९ मिटर मात्रै राष्ट्रिय रेकर्ड छ । २०४२ साल साउथ एसियन गेम्स खेल्ने भइयो । १ महिना क्लोज क्याम्प विराटनगरमा भयो । ढाकामा दोस्रो साउथ एसियन गेम्स खेलें । त्यहीबेला धावक अमिरी यादवसँग प्रेम भयो । २०४४ साल फागुनमा हामीले विहे ग¥यौं । हाम्रा दुई छोराछोरी भए । छोरा उच्च शिक्षाका लागि जर्मनी छन् । छोरी अर्किड स्कूल पढ्दै छिन् ।
प्रशिक्षकका रुपमा योगदान
२०४४ सालमा एनआईएस कोर्ष पूरा गेपछि राष्ट्रिय खेलकुद परिषद्मा सहायक प्रशिक्षकका रुपमा नियुक्त भएँ । सहायक प्रशिक्षक भएपनि राष्ट्रिय खेलकुदमा निरन्तर सहभागी हुँदै आएँ । २०४७ मा छोरा जन्मिएपछि केही समय खेलबाट आराम लिएँ । छोरा ५ वर्ष भएपछि फेरि राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भएँ । मुख्य सटपुट भएपनि ज्याभलिन थ्रो, हेप्थाथालोन, डिस्कस आदि खेलमा राष्ट्रिय प्रतियोगिताहरु खेलें । नारायणी अञ्चललाई थुप्रै मेडल दिलाएँ । खेलाडी उत्पादन गर्ने र खेल्ने काम सँगै अघि बढ्यो । दुवै जना राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलाडी, दुवै जना प्रशिक्षक भएकोले चितवनमा दरबन्दीमा बसेर निरन्तर खेलाडी उत्पादन गर्न थाल्यौं । निरन्तर यही क्षेत्रमा छु । हामीले यहाँबाट धेरै खेलाडी उत्पादन गरेका छौं । पहिलेदेखि नै एथलेटिक्समा चितवनको उपस्थिति निकै राम्रो छ । राष्ट्रिय रेकर्ड थुप्रै छन् । मेडलहरु आइरहेका छन् ।
२०५७ सालमा राष्ट्रिय खेलकुद परिषद्ले स्पोर्टस् डिप्लोमा गर्न २४–२५ जना छनोट गरेकोमा म पनि परें । भारतको पटियालामा एनआईएसमा पढ्यौं । १ वर्ष पढेपछि फुल प्रशिक्षकका रुपमा फेरि निरन्तर काम गरें । त्यसको ३ वर्षपछि नेपालमा एथलेटिक्सको विकासका लागि आएको जर्मन प्रोजेक्टमा छनोट भएँ । देशभरिबाट सहभागी भएकामध्ये ४–५ जनामा परेर मैले एथलेटिक्स लेभल वान गरे । एथलेटिक्स डिप्लोमा गर्न जर्मनी जाने मौका पाएँ । त्यहाँ १५ महिना प्रशिक्षण लिएँ । जर्मनीमा मैले पटक–पटक गरी ट्रयाक एण्ड फिल्ड स्पेसिअलाइज्ड डिप्लोमा, पोर्टस् मसाज कोर्ष गरेको छु । त्यस्तै मलेसियामा आईएएएफ सीईसीएस लेभल टु कोचिङ कोर्ष र जकार्ता (इन्डोनेसिया) मा आईएएएफ सीईसीएस लेभल थ्री कोर्ष पनि गरेको छु । योबीचमा राष्ट्रिय खेलकुद परिषद्ले पनि उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको छ । मलाई चारवटै थ्रो (सटपुट, ह्याम्बर, डिस्कस, ज्याभलिन) को प्राविधिक ज्ञान छ । यसमा प्राविधिक ज्ञान नभए सफलता हात लाग्दैन । मसँग अन्तर्राष्ट्रिय प्रशिक्षण लाइसेन्स छ । अझै राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा धेरै योगदान गर्न सक्छु ।
जीवन फर्केर हेर्दा
खेल जीवनलाई फर्केर हेर्दा साह्रै आनन्द लाग्छ । कहिल्यै पछूतो छैन । परिवारमा पनि खेलकै माहोल छ । श्रीमान् आफै कुशल खेलाडी र प्रशिक्षक भएको हुनाले सहयोग नहुने कुरै भएन । फरक सम्प्रदायमा विहे गरेपनि परिवारमा कहिल्यै समस्या व्यहोर्नुपरेन । सबैले सहयोग नै गर्नुभयो । मैले जति योगदान गरें, यसमा सन्तुष्ट छु । अझै धेरै गर्न चाहन्छु । तर, राज्यले खेललाई माया नगरेको देख्दाचाहिं दुःख लाग्छ । पहिले मैले जिल्लास्तरीय खेलमा पहिलो हुँदा बाजागाजासहित माडी घुमाइएको थियो । तर, अहिलेका सफल खेलाडीलाई त्यत्ति इज्जत गरेजस्तो लाग्दैन । सबै खेलमा बजेट कम छ, ध्यान कम छ । एथलेटिक्सलाई अझै हेला गरिन्छ । ट्रयाक एण्ड फिल्डको जहिल्यै समस्या हुन्छ । कहीं पनि स्थायी ट्रयाक छैन । हामीले यस्तो अप्ठ्यारोमा पनि खेलाडी उत्पादन गरिरहेका छौं । राज्यले हेरिदिनुपर्छ । खेलाडीलाई सुविधा पनि बढेको छैन । सुविधा नभई खेलाडीले खेल्न सक्दैन ।