हरेक व्यक्तिले जीवनमा सफल भएको सपना देख्नु नौलो होइन । शून्यबाट सुरु गरेर सफलता हासिल गर्न जीवनमा कम्तीमा पनि एकपटक त सबैले हिम्मत जुटाउँछन् । एकपटक स्थापित भइसकेको धरोहर धुर्मुराउँदा नआत्तिई सम्हालिन सक्नुलाई एक हदसम्म स्वाभाविकै मान्न सकिएला । तर, शून्यबाट सुरु गरी आफूलाई स्थापित गराउनु र सफलता हासिल भइसकेपछि फेरि पनि पटक–पटक त्यही प्रक्रिया दोहो¥याउनु सामान्य हिम्मत भन्दा धेरै माथिको कुरा हो ।
यस्तै अदम्य साहस र धैर्यताको प्रतिमूर्तिका रुपमा लिन सकिने व्यक्तित्व हुन् सुमित्रा पौडेल आँचल ।
सुमित्रा अहिले कक्षा १२ मा अध्ययन गरीरहेकी छिन् । ३० वर्षको अन्तरालपछि निकै हिम्मतका साथ गतवर्ष गैंडाकोटमा रहेको एसपीएम कलेजमा शिक्षा संकायमा कक्षा ११ भर्ना भइन् । आफूभन्दा आधाकम वा अझै धेरै कम उमेरका विद्यार्थीसँग दैनिक कक्षाकोठामा हाजिर भई पढ्न जानु उनलाई सहज थिएन । पढाइको महत्वलाई बुझेर मनमा अठोटसहित कक्षामा प्रवेश गरेकी सुमित्रालाई ‘जेनेरेसन ग्याप’ले कुनै प्रभाव पारेन । उनी कक्षामा सबैसँग घुलमिल पनि भइन् र सबैसँग सहयोग पनि लिइन् ।
कक्षा ११ को परीक्षा दिएपछि अहिले भने उनले भरतपुरको मैयाँदेवी कन्या कलेजमा १२ कक्षाको अध्ययनलाई निरन्तरता दिइरहेकी छिन् । “एसएलसी दिएपछि बिहे भएको थियो, आई.ए पढ्न सुरु गरेपनि बच्चा भएपछि त्यो सम्भव भएन”, पौडेलले पुरानो कुरा सम्झिइन्, “पढाइकै कारण आफूलाई केही कमी भएको महसुस नहोस् भन्न पुनः पढ्न सुरु गरेको हुँ ।”
जीवनको चौथो इनिङको सुरुआत गरेकी सुमित्राको अदम्य साहसको प्रमाण अध्ययन मात्र होइन । १० वर्ष १० महिना इजरायलमा केयर गिभरको काम गरेर फर्केकी भरतपुर–१० की ४९ वर्षीया उनी आफ्नै पुरानो व्यवसायमा स्थापित हुन बामे सर्दैछिन् । कुनै समय सफल उद्यम सञ्चालन गरी उत्कृष्ट महिला उद्यमी पुरस्कारबाट पुरस्कृत सुमित्रा अहिले पुनः त्यही शाखासहितको उद्योग सञ्चालन गर्ने संकल्प लिएर अघि बढेकी छिन् ।
आइडिया स्टुडियो नेपालले २०७३ सालमा व्यवसाय गर्न इच्छा भएका र व्यवसाय गरिरहेकालाई उत्प्रेरणा दिने तालिम सञ्चालन गर्न ‘सोचदेखि उद्योगसम्म’ विषयमा आइडिया माग गरेको थियो । २० वर्ष पछाडि फर्केर पुनः व्यवसाय सुरु गर्न र धेरैभन्दा धेरै महिलालाई रोजगारी दिन चाहेको योजनासहितको आफ्नो सोच उनले आइडिया स्टुडियोमा पठाइन् । आफूसँगै अरुलाई पनि आर्थिकरुपमा सवल बनाउने सोच र संकल्पले नै निर्णयकको मन जित्न सफल भयो ।
६ सय जनाले पठाएका विभिन्न सोच र परिकल्पनामध्ये उत्कृष्ट ३० को छनौटमा प¥यो उनको सोच । त्यसपछि उनी तीन महिने तालिममा सहभागी हुन पाइन् । तालिममा सहभागीलाई व्यवसायको योजना कसरी बनाउने, व्यवसाय कसरी सुरु गर्ने, बजारीकरण गर्ने तरिकाजस्ता विषयमा जानकारी गराइयो । इजरायलबाट फर्किएपछि काठमाडौंमा रुमल्लिएकी सुमित्रालाई तालिमले चितवन फर्किन बाटो देखायो । “काठमाडौं मेरो लागि नयाँ ठाउँ थियो, चितवन मैले भोगेको र चिनेको ठाउँ”, उनले भनिन्, “मलाई चितवनमा फर्किएर आफ्नो व्यवसाय सुरु गर्नुपर्छ भन्ने बोध भयो र मैले निर्णय गरें ।”
चितवनमा उनले ६ महिनासम्म यहाँको बजार र उपभोक्ताको माग अध्ययन गरिन् । गार्मेन्टमा काम गर्न सक्ने दक्ष नेपाली कामदार उत्पादनका लागि वाणिज्य मन्त्रालयको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले गार्मेन्ट एशोसिएशन नेपालको सहकार्यमा विभिन्न जिल्लामा महिलाका लागि गार्मेन्ट तालिम सञ्चालन गर्न लागेको अवसरलाई उनले सदुपयोग गरिन् । र सुरु भयो भरतपुर–१० मा गार्मेन्ट सिलाई प्रशिक्षण केन्द्र सुसज्जित कलेक्शन प्रा.लि ।
उनको प्रशिक्षण केन्द्रबाट एक सय ५० जनाले तालिम लिइसकेका छन् । “उनीहरुमध्ये उत्कृष्ट ३० जनालाई लिएर अब गार्मेन्टको काम छिट्टै सुरु हुनेछ”, उनले भनिन्, “सिफ्टमा काम गर्ने गरी सबैले काम गर्न मिल्ने वातावरण तयार गर्नेछु ।”
सुमित्राका बाबु स्वर्गीय बुद्धिसागर बास्तोला २२ वर्षसम्म प्रधानपञ्च रहेका थिए । चितवनको गीतानगर देवनगरमा निकै सुखसयलमा बाल्यकाल बिताएकी सुमित्रा २०४५ सालमा बिहे भएपछि लमजुङको जीता पुगिन् । पहिलोपटक १२ घण्टा हिंडेर घर गएको दिन उनलाई महिलाको जीवन भाग्यमा भर पर्छ भन्ने भनाइ सार्थक लाग्यो ।
माइतमा नाम्लो पनि नउठाएकी सुमित्राले एक दिनमा १५ डोकासम्म पानी बोक्नुपर्ने दिन आयो । त्यसबेला उनको मनमा नैराश्यताभन्दा पनि त्यो परिवेशबाट हटेर जीवनमा केही गर्नै पर्छ भन्ने भावना जागृत भयो । बिहेपछि छोराछोरी जन्माएर हुर्काउँदा बिताएको पाँच वर्षको अवधिमा विभिन्न बैंक तथा परियोजनाका लागि १२ पटक लोकसेवा आयोगको परीक्षा दिएकी उनी कतै पनि सफल भइनन् । बैंकमा कार्यरत श्रीमान् रोजगारी सिलसिलामा बाहिर रहने हुँदा उनी छोराछोरीसहित चितवन झर्ने निर्णय गरिन् ।
चितवन आएको एक वर्ष अवधिमा आफ्नो रुचिको क्षेत्र सिलाइकटाइ इम्ब्रोइडरी तालिम लिइन् । तालिम लिएपछि उनले २०५३ सालमा सुसज्जित तयारी पोशाक उद्योग सञ्चालन गरिन् । तीन वर्षको अवधिमा नारायणगढ, भरतपुर हाइट र कृष्णपुरका तीन ठाउँमा उद्योग विस्तार गरेकी थिइन् भने १५ जनलाई रोजगारी पनि दिएकी थिइन् । देश त्यो समयमा विषम परिस्थितिबाट गुज्रिरहेको थियो । देशमा जनयुद्धका कारण शान्ति सुरक्षा थिएन । बन्द, हड्ताल धेरै हुने, चन्दा आतंकजस्ता विविध डर धम्की आउन थालेपछि २०६१ सालमा उनको उद्योग धरासायी बन्यो । बन्दका कारण कारोबार राम्रो नहुँदा बैंकको ब्याज तिर्न नसक्ने अवस्थामा पुगिन् उनी । “ आम्दानीले ऋण तिर्न गाह्रो हुने भएपछि बन्द गर्नुप¥यो”, उनले भनिन्, “एउटा उद्योगको एक लाख ५० हजार हातमा लिएँ, एउटाको सामान मात्र बिक्री भयो र एउटा उद्योगका कामदारलाई नै जिम्मा लाएर २०६२ को साउनमा इजरायल गएँ ।”
परिवारमा विपद् पर्दा हरेक पटक ‘बोल्ड डिसिजन’ गर्ने सुमित्रा आगामी पाँच वर्षलाई लक्षित गरी योजना तर्जुमा गर्ने गर्छिन् । “साढे १७ लाख रुपैयाँ ऋण बोकेर विदेश गएको थिएँ, ऋण तिर्न आठ वर्ष लाग्यो,” उनले भनिन् “पाँच वर्षमा फर्किन्छु भन्ने थियो, छोराछोरी पढाउनका लागि थप समय बसें।”
पहिलो पटक लोकसेवा परीक्षा दिने निर्णयदेखि सिलाइकटाइ तालिम लिने, उद्योग सञ्चालन, विदेश पलायन, पुनः अध्ययन र पुनःउद्योग सञ्चालन गर्ने निर्णय गरी हाल गार्मेन्ट सञ्चालन गर्दासम्म उनले पाँच वर्षे अवधिलाई लक्षित गर्दै आएकी छिन् ।
आफ्नो कुरा पूरा गरेरै छाड्नुपर्ने सुमित्रा भन्छिन्, “श्रीमान्ले सुरुमा हुन्छ त कहिले भन्नुभएन तर उहाँलाई पनि थाहा थियो म गलत निर्णय गर्दिनँ त्यसैले विरोध पनि गर्नुभएन ।” विश्व शान्ति महिला महासंघ, चितवनका अध्यक्ष, महिला मार्गदर्शन तथा सीप विकास केन्द्रका अध्यक्षसमेत रहेकी उनी साहित्यमा पनि कलम चलाउँछिन् । उनको कविता संग्रह ‘आध्यात्मिक चिन्तनको प्रथम पाइला’, गीती कविता संग्रह ‘ममताको आँचल’, कथा संग्रह ‘अन्तिम बिदाई’, गजल संग्रह ‘प्रवासको कोशेली’ र मुक्तक संग्रह ‘औकात’ प्रकाशित छन् । उनका अप्रकाशित कृति ‘यहुदीको घर’ र ‘वैंशमा नफुलेको फूल’ छन् । तर, अहिले पुस्तक प्रकासनमा ल्याउने उनको सोच छैन । “साहित्यमा पूरै समय दिन अझै समय छ”, उनले भनिन्, “अहिले मेरो लक्ष्य उद्योग विस्तार गरी त्यही उचाइमा पु¥याउनु नै हो ।”
तीन प्रश्न M
१. जीवन के हो ?
जीवन एक संघर्ष हो ।
२. संघर्षलाई कसरी परिभाषित गर्नुहुन्छ ?
यदि त्यो संघर्षले सन्तुष्टि दिन्छ भने मात्र जीवन सुन्दर हुन्छ ।
३. जीवनमा सफलता प्राप्ति भनेको के हो ?
सफलता भनेकै धैर्यता, निरन्तर प्रयास, सृजनशीलताको संगम हो ।
प्रस्तुतिः प्रमिता ढकाल