ताराकुमारी काजी महतो संर्घषशील महिला हुन् । उपमयेर बनेकी उनी माडी नगरपालिकामा तत्कालीन एमालेका तर्फबाट निर्वाचित भएकी हुन् । मिजासिलो व्यवहार र निष्पक्ष कार्यसम्पादन शैली उनको पहिचान बनेको छ । विद्यार्थी कालमा पार्टीमा संगठित भएपनि उनी सक्रिय राजनीतिमा कहिल्यै देखा परिनन् । तर, स्थानीय तहको निर्वाचनमा उनी उम्मेदवार बनेपछि पार्टीले उनलाई जिताउन लाग्यो । त्यो बेलामात्र उनी पार्टी कार्यकताका रुपमा देखा परिन् । १३ वर्षसम्म जागिरे जीवन बिताएकी उनले अहिले उपमेयरका रुपमा जिम्मेवारी सम्हालेकी छन् । उनी माडी–४, वीरञ्चीमा जन्मेकी हुन् ।
जागिर छाडेर उपमेयर
पहिलो छोरी २२ महिनामै गुमाएकी ताराकुमारी निकै पीडामा थिइन् । दोस्रो सन्तान जन्माएपछि उनी त्यो पीडा बिर्सने प्रयासमा लागिन् । गृहणीका रुपमा दिनचर्या बिताएकी उनले आफ्नै गाउँमा जागिर खुलेको थाहा पाइन् । आवेदन भरिन् । त्यो बेला उनले न गाविस अध्यक्षलाई चिन्थिन्, न वडासचिवलाई । स्थानीय प्रतिनिधिसहितको टोलीले उनलाई जागिरमा नियुक्त ग¥यो ।
युनिसेफको महिला तथा बालबालिका सम्बन्धित परियोजनाका लागि माडी बघौडामा काम गर्ने अवसर पाइन् । २०६१ सालदेखि जागिरे जीवन सुरु गरेकी उनी वडासचिव हुँदै उपमेयरसम्म बन्न सफल भइन् । १९ जनाको संयुक्त परिवारमा बसेर जागिर, पढाइ र घरायसी काममा व्यस्त बनिन् । तत्कालीन बघौडामा रहेर ५३ वटा महिला समूह बनाएर परिचालन गराइन् । “गर्भावस्था, सुत्केरी, बालबालिका हेरचाहजस्ता विषयमा अनुशिक्षण कक्षा चलाउन थालेँ”, उनले सुनाइन्, “बालबालिकाको अकालमा ज्यान नगुमोस् भनेर अभियानमा सक्रिय बनेँ ।”
उनी त्योबेला बघौडामा निकै परिचित भइन् । त्यो परियोजनालाई तत्कालील गाविस बघौडामा आन्तरीकरण गरियो । त्यही कार्यक्रम चलाउँदा चलाउँदै उनी २०६७ सालमा कार्यालय सहायकका रुपमा खरिदारस्तरको कर्मचारी बनिन् । “पञ्जीकरणको काम, नागरिकता सिफारिसलगायत काम गरेँ”, उनले भनिन्, “जनप्रतिनिधि नहुँदा वडासचिवसँग मिलेर काम गर्नुपर्दथ्यो, कागजपत्र नहँुदा सेवाग्राहीका काम रोकिन्थे, सम्झाएर फर्काउनुपर्दथ्यो ।”
उनले गाविसमा आउने सेवाग्राही अलमलमा पर्दा सहजीकरणको काम गरेर मन जितिन् । झर्को नमान्ने र सबैसँग नम्र भएर बोल्ने स्वभावले उनी सबैको नजरमा असल बनिन् । २०७१ मंसिर १६ गते तत्कालीन ४ गाविस समेटेर माडी नगरपालिका बन्यो । त्योबेला उनले साविक बघौडा गाविसमा ३, ४ र ५ नम्बर वडाको संयुक्त वडा कार्यालय सचिवका रुपमा जिम्मेवारी लिइन् । “समाजसँग घुलमिल हुने अवसर झनै बढ्यो”, उनले विगत सुनाइन्, “स्थानीयका काम गर्न पाउँदा निकै खुसी हुन्थेँ ।”
तत्कालीन एमालेको संगठित सदस्य थिइन् । विद्यार्थी उमेरमा राजनीतिक आस्था राख्थिन् । तर, जागिरे जीवनमा उनले कहिल्यै पार्टीको पक्षपोषणमा काम नगरेको उनको दावी गरिन् । स्थानीय तहको चुनावको माहोल तातेको थियो । उनलाई तत्कालीन एमाले जिल्ला अध्यक्षले ‘टिकट दिने पक्का भयो, राजीनामा दिनुस्’ भने । माडीको नेतृत्व लिन पाउने राम्रो अवसर गुमाउन चाहिनन् । १७ गते वडा सचिवको जागिर छाडेर उनी १९ गते उम्मेदवारी दर्ता गर्न पुगिन् । “जित्छु भन्नेमा ढुक्क थिएँ, बघौडामा राम्रोसँग घुलमिल भएकै थिएँ”, उनले विगत सुनाइन्, “पार्टीको सहयोग रहेपछि जित्नेमा आशावादी थिएँ ।” ८ सय ८६ मतान्तरले तत्कालीन माओवादी केन्द्रकी उम्मेदवारलाई जितिन् । ४ हजार ६ सय ९० मत ल्याइन् । “हिजो गाविसको जिम्मेवारी थियो, अहिले पूरै नगरको काम गर्नुपरेको छ”, उनले भनिन्, “जिम्मेवारीबोध भएको छ, नगरबासीको विश्वास जितेर उहाँहरुकै हितमा काम गर्नेछु ।”
न्यायिक समिति, अनुगमन समिति, योजना तर्जुमा समिति, कर निर्धारण समिति र विधायन समितिको संयोजकका रुपमा जिम्मेवारी लिएर काम गर्दै आएकी छन् उनले । “कर्मचारी र जनप्रतिनिधिको काम आकाश पतालको फरक हुँदो रहेछ”, उनले भनिन्, “अफिस सकियो भनेर घरायसी काममा लाग्ने छुट हुँदैन, जनताकै गुनासा सुन्दै समाधानका उपाय खोज्दै हिडेको छु ।”
उनले सफल बन्न दृढ संकल्प लिएर अघि बढ्नुपर्ने बताउँछिन् । “पार्टीले नै विश्वास गरेर नेतृत्वतहमै पुग्छु भन्ने कहिल्यै सोचिन”, उनले भनिन्, “समाजसेवा गर्ने ठूलो रहर थियो, जनताले चुने, समग्र माडीको पक्षमा वकालत गर्न लागिपरेको छु ।”
उपमेयर ताराकुमारी राजनीतिलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्न नहुने बताउँछिन् । “राजनीतिमा नियत गलत राख्नु हँुदैन”, उनी भन्छिन्, “पक्ष वा विपक्ष भनेर विभेद गर्नु हुँदैन, सबैलाई समान व्यवहार गर्नुपर्छ ।” उनी आफ्नो बाबुबाट निकै प्रभावित छिन् । “बाबुले विभेद कहिल्यै गर्नुभएन, ऊबेलामा पनि छोरीलाई पढाउनुभयो, थोरै भएपनि छोरीहरुलाई अंश पनि दिनुभयो”, उनले भनिन्, “बाबुको पढाइ नभएपनि उहाँका व्यवहारले मलाई निकै कुरा सिकाएको छ ।”
छोराछोरी समान गर्ने बाबुबाट सिकेका कुरालाई उनले स्वयं व्यवहारमा उतारेकी छिन् । “जनताको भोट व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने नियत राख्ने छैन”, उनले भनिन्, “जनताका पीर मर्कामा सधैं सहयोगी बनेर लाग्नेछु ।”
छोरीसँगै प्लस टु
उनका दुई छोरी एलिना र एञ्जेलिना छन् । उनले आफ्नी छोरीसँगै प्लस टु पढिन् । “छोरी एलिना भरतपुरमा साइन्स पढ्दा माडी क्याम्पसमा प्लस टु पढ्दै थिएँ”, उनले भनिन्, “१५ वर्ष ‘ग्याप’ थियो, तर पढ्ने रहर हटेको थिएन ।” एसएलसी उत्तीर्ण भएपछि २०४९ सालमा माडी–३, बसन्तपुरका जयराम महतोसँग विवाह भएको थियो । त्योबेला उच्च शिक्षा माडीमै लिने अवस्था थिएन, भरतपुर डेरा खोजेर पढ्ने अवस्था भएन । पछि माडीमा क्याम्पस खुलेपछि एसएलसी दिएको करिब १५ वर्षपछि प्लस टु पढिन् । “जागिरको चापले प्लस टुमाथि पढ्न सकिन”, उनले भनिन्, “घरव्यवहार मिलाउनुपर्ने, जागिरमा पनि जानुपर्दा पढाइलाई निरन्तरता दिन सकिन ।”
उनले प्लस टु पढ्दै गर्दा जागिरे जीवन सुरु गरेकी थिइन् । उनी खैरहनीमा ८ कक्षासम्म र त्यसपछि बसन्तपुरस्थित माडी माविबाट एसएलसी पास भइन् । बुबा आमा खासै नपढेका भएपनि छोराछोरीलाई पढाउनुपर्छ भन्ने सोचेका थिए । जेठो दाजु परमेश्वरलाई २०२२ सालमा भारतमै लगेर बाबुले एसएलसीसम्म पढाएका थिए । ठूली दिदीले नपढेपनि उनकी माइली दिदीले राम्रो पढेरै हाल सर्लाहीमा स्वास्थ्य क्षेत्रमा अधिकृतस्तरको जागिरे छिन् । उनका अदुई भाइले एसएलसीसम्मको पढाइ पूरा गरेका छन् । माडी मावि र खैरहनी निमाविलाई उनका बाबुले स्तरोन्नति गर्दा सक्दो सहयोग गर्थे । धान बेचेर बचेको केही रकम शिक्षा क्षेत्रमा सहयोग गर्ने बाबुको बानीले उनलाई पढ्नुपर्छ भन्ने भावना विकास गराएको थियो ।
‘बर्थ डे’ थाहै छैन
उपमेयर ताराकुमारीलाई आफ्नो ‘बर्थ डे’ कहिले हो भन्ने न थाहै छैन । “धेरै छोराछोरी भएकाले बाबुआमाले मेरो जन्ममिति नै याद गर्नुभएनछ”, उपमेयर महतोले भनिन्, “झरी परेको बेला जन्मिएको भन्नुहुन्थ्यो, कक्षा ८ मा फर्म भर्दा आफैले मिति राखेको हुँ ।” बाबुआमाको कथनअनुसार भदौमा बढी झरी परेको अनुमानका आधारमा महिना र साथीभाइले फर्ममा भरेका वर्षलाई तुलना गरेर आफ्नो जन्ममिति उनी आफैले निर्धारण गरिन् २०३३ भदौ १४ गते । “जन्मदर्ता गर्ने चलन हुन्थेन, एसएलसीको सर्टिफिकेटमा त्यही मिति भयो”, उनले भनिन्, “त्यसैका आधारमा नागरिकता बनाएँ, वास्तविक जन्ममिति अझै थाहा छैन ।”
प्रस्तुतिः विप्लव काफ्ले