रनमाया गुरुङ ‘बसन्ती’ १८ वर्षको उमेरदेखि डोजर चलाउँदै आएकी छन् । डोजर चलाउने नेपालमै दोस्रो महिलाका रुपमा उनको पहिचान बनेको छ । सानैदेखि साहसी स्वभावकी बसन्ती बहादुरी काम गर्न निकै रुचाउँछिन् ।
माडी–६, रामराज्यपुरमा २०३४ भदौ १५ गते जन्मेकी बसन्तीका बाबु ब्रीटिस आर्मीमा थिए । बाबुको फोटो हेर्दा उनमा पनि आर्मी बन्ने चाहना हुन्थ्यो । तर, कक्षा ८ मा पढ्दा नजिकैको गाउँमा पहिलोपटक सडक विभागको बुलडोजर देखिन् । “हेर्दा अजंगको लाग्ने, कसरी बन्यो होला, कसरी चलाउने होला मनमा धेरै प्रश्न खेले”, विगत सुनाउँदै उनले भनिन्, “डोजर चलाउँछु भन्ने सोच आयो । तर, घरपरिवारले पढाइ छाडेर त्यो काम गर्न दिने अवस्था थिएन ।”
उनी सानैदेखि हक्की स्वभावकी थिइन् । पढाइ मध्यमस्तरको थियो । एसएलसी परीक्षा पास हुन सकिनन् । उनको परिवारसँग कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डेको राम्रो घुलमिल थियो । साहसी स्वभाव देखेका पाण्डेले उनलाई एक्साभेटर चलाउने प्रस्ताव गरे । सुरुमा उनी अचम्मित भइन् । उनका बाबुले काम गर्ने स्वीकृति दिए । तर, २०५० सालमा बाबुको निधन भएपछि उनले आफ्नो चाहना पूरा गर्न नसक्ने वातावरण बन्यो ।
“मैले नै जिद्धि गरेपछि दिदीले रुदै बसमा चढाएर विदाई गर्नुभयोे”, उनले भनिन्, “२०५२ सालमा काम सिक्न म बर्दिया पुगेँ ।” कालिका कन्स्ट्रक्सनमा अपरेटरका रुपमा कार्यरत मूना घिमिरेले उनलाई हेल्परका रुपमा काम सिकाइन् । स्ट्रोमरमार्फत कोठियाघाट नदीमा एक्साभेटर मेसिनलाई पार गराएर उनलाई सिकाउन थालियो । “सुरुमा चढ्दा हात्तीमा चढेजस्तै भयो, निकै खुसी भएँ”, उनले भनिन्, “एक महिना हेल्पर भएँ, त्यसपछि अपरेटरकै रुपमा जागिर पाएँ ।”
सुरुमा ३÷४ सय मिटर चलाउन सक्ने भइन् । दाहिने देब्रे हातले चलाउने सीप सिकिन् । लिभर अगाडि वा पछाडि चलाउन जान्ने भइन् । उनी विस्तारै एक्साभेटर र लोडर चलाउन निकै मिहेनत गर्न थालिन् । हेल्पर हुँदा मासिक १ हजार ८ सय र अपरेटर हुँदा ३ हजार २ सय रुपैयाँ तलब बुझिन् । उनले १८ महिना बर्दियामै बसेर काम गरेर चितवन फर्किन् । लगत्तै पोखरा गइन् ।
“कामप्रतिकोे लगावले दक्षता बढायोे”, उनले भनिन्, “बाटो खन्ने, पहाड फोर्ने काममा व्यस्त हुन थालेँ ।” सानै उमेरमा घर छाडेर काममा हिड्दा समाजले हेयको दृष्टिले हेर्ने गरेपनि हरेस खाइनन् । “नबिराउनु, नडराउनु भनेर काम छोडिनँ”, उनले भनिन्, “घर परिवारको वातावरण हुन्थ्यो, काम गर्न सहज थियो ।” ठूला उपकरण महिलाले चलाएको देख्दा दंग पर्दै हेर्ने गरका घटना उनी सम्झिन्छिन् । राम्रो पढाइ नभएपनि सीपकै कारण मासिक ७० हजार तलब उनले बुझिन् ।
“बेलामा पढिन, तर यही सीपले मलाई चिनायो”, उनी भन्छिन्, “आत्मविश्वास थियो, यही पेशा गर्न नै भगवानले दिएजस्तो लाग्थ्यो ।” ४१ वर्षकी बसन्ती आजभोलि आफ्नो काममा दैनिक १४ घण्टासम्म खट्छिन् । “सुरुमा मेसिन चलाउँदा डराएको थिएँ”, उनी भन्छिन्, “अहिले अप्ठ्यारा पहाड फोर्न परे मै जानुपर्छ ।”
उनले कामका सिलसिलामा निकै जोखिम भोगिन् । २०५९ सालमा गुल्मीको नेटामा ६ मिटर पहाड काट्दै बनाएको बाटो भासिदा मुस्किलले ज्यान जोगाएको भुल्न सक्दिनन् । पहिरो खस्दै गर्दा उनी पार भइन्, लगत्तै त्यहाँ ठूलो पहिरो खस्यो । लोथर साइटमा काम गर्दा उनी गंैडाको आक्रमणबाट बचिन् । पैदल हुँदै खाना खाने ठाउँ जाँदै गर्दा उनलाई गैंडाले लखेट्यो । चितुवा, बाघ भएको जंगलमा बाटो खन्दा एक हप्तासम्म त्यहीं बसेर रात गुजारिन् ।
५ अपरेटरले फोर्न नसकेको ढुंगामाथिबाट बाटो खनेर उनले आफ्नो सीप देखाइन् । बम लगाएर फोर्न नसकेको ढुंगामाथि उनले १२० को कोर्मासु मेसिनले ६ घण्टामै बाटो खनिन् । उनी २०५२ देखि २०७५ भदौसम्म लगातार कालिका कन्स्ट्रक्सनका विभिन्न जिल्लाका परियोजनाका काम गरिन् । २०७० सालमा उनले ६५ लाखको एक्साभेटर किस्तावन्दीमा किनिन् । माडी, भरतपुर, वरण्डाभार उपभोक्ता समितिका थुप्रै पोखरी बनाउने काम पाइन् । पछि उनले एक्साभेटर बेचिन् ।
उनी चितवन निर्माण सेवा संघको जिल्ला कार्यसमिति सदस्य पनि हुन् । भवन र सडक निर्माणका काम गर्दै आएकी छिन् । उनी जन्मगाउँमै बसेर काम गर्ने योजना बनाउँदै छिन् । उनी एक्साभेटर, डोजर, लोडर र रोलर चलाउने काम गर्छिन् । नेपालमा महिला डोजर चालक निकै कम संख्यामा रहेको उनको भनाइ छ । “अहिले धेरै महिलालाई सीप सिकाएको छु”, उनले भनिन्, “हिम्मत नगर्ने महिलाले यो पेशा अँगाल्नै सक्दैनन् ।” उनले २०६० साल जेठमा वीरगञ्जबाट डोजर र रोडरोलरको सवारीचालक अनुमति पत्र (लाइसेन्स) निकालेकी हुन् । “लाइसेन्स लिने डोजर चालक हजुर नै पहिलो हो भनेर ऊबेला भनेका थिए”, उनले भनिन्, “डोजर चालक महिला भनेर सुरुमा पत्याएनन्, यातायात व्यवसायी र पाण्डे सरले नै भन्नुपर्ने स्थिति आयो ।”
डोजर चालकका रुपमा पेशा रोजेकोमा उनी सन्तुष्ट छिन् । “यो फिल्डमा नभएको भए गृहणीका रुपमा सीमित हुन्थें हुँला”, उनी भन्छिन्, “आज मेरो पहिचान बनेको छ, साहसी महिला भनेर अरुले भन्दा खुसी हुन्छु ।” उनले महिला भएकै कारण कुनै पेशा, व्यवसायमा पछि हट्न नहुने बताउँछिन् । “फल्ने रुखमा सधैं झटारो हान्छन्”, उनले भनिन्, “अरुका कुरामा बहकिनु हुँदैन, संघर्ष नै सफलताको कडी हो ।”
उनी महिला डोजरचालकका रुपमा सक्रिय रहेको भन्दै चितवन, संखुभासभा, पोखरालगायतका जिल्लामा सम्मानित भइसकेकी छन् । उनी सीटीईभीटीका डोजरसम्बन्धी तालिममा प्रशिक्षकका रुपमा कहिलेकाहीं तालिमसमेत दिने गर्छिन् । प्रस्तुति : विप्लव काफ्ले