रत्ननगर,६ असोज ।चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ५ लाई बालमैत्री तथा बालश्रममुक्त वडा घोषणा गरिएको छ । वडाभित्र रहेका श्रमिक बालबालिकालाई श्रमबाट मुक्त गराई शुक्रबार बालमैत्री वडा घोषणा गरिएको हो ।
योसँगै रत्ननगरका २ वटा वडा बालमैत्री वडा घोषणा भएको छ । यसअघि गत जेठ २९ गते रत्ननगर–३ बालमैत्री वडा घोषणा भएको थियो । रत्ननगर उद्योग वाणिज्य संघले युनिसेफ नेपाल र रत्ननगर उद्योग वाणिज्य संघको सहयोगमा नगरमा बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । यही क्रममा विभिन्न ३९ वटा सूचक र १६ वटा खुड्किला पूरा गर्दै रत्ननगर–५ लाई शुक्रबार बालमैत्री वडा घोषणा गरिएको हो ।
रत्ननगर–५ मा ११ जना श्रमिक बालबालिका थिए । जसमध्ये ५ जनालाई श्रमबाट मुक्त गरी विद्यालय भर्ना गरिनुका साथै ६ जनालाई सीपमूलक तालिम प्रदान गरिएको छ । १७ जना श्रमिक बालबालिका रहेको भएपनि ४ जनाको जन्मदर्ताअनुसार १८ वर्ष पूरा भएको र २ जना अन्यत्र बसाइँ सरी गएको रत्ननगर उद्योग वाणिज्य संघले जनाएको छ । रत्ननगर–५ मा कूल ४ हजार ३१२ जनसंख्या रहेकोमा १ हजार १२१ बालबालिका छन् । ती सबैको जन्मदर्ता छ । अघिल्लो वर्ष २२ जनाको बालविवाह भएकोमा पछिल्लो घरधुरी सर्वेक्षणअनुसार १ जनाको मात्रै बालविवाह भएको छ । बालमैत्री वडा घोषणाका लागि सबै बालबालिकाको जन्मदर्ता हुनुपर्छ भने बालविवाह हुनु हुँदैन ।
झुवानी माध्यमिक विद्यालयमा आयोजित एक समारोहबीच प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले वडाध्यक्ष कृष्ण महतोलाई बालश्रममुक्त वडा घोषणा प्रमाणपत्र हस्तान्तरण गरे । सो अवसरमा प्रमुख अतिथि पाण्डेले पढ्ने उमेरका बालबालिकालाई ज्यालामा काम लगाउन नहुने बताए । “ज्ञानविहीन मान्छे अक्षम हुन्छन्”, उनले भने, “ पढ्ने उमेरका बालबालिकालाई ज्याला मजदुरीमा लगाएर उनीहरुको भविष्य अन्धकार बनाउनु हुँदैन ।
प्रदेश सभा सदस्य कृष्ण खनालले बालबालिकालाई श्रममा लगाउनु जयन्य अपराध हुने भन्दै श्रममा लगाउनेलाई कडा कारबाही गर्नुपर्ने औंल्याए । “बोलीमा मात्रै हामीले आवाज उठाउने गरेका छौं”, प्रदेश सांसद खनालले भने, “बालबालिकालाई श्रममा लगाउनु अपराध हो, त्यस्तालाई कानूनी दायरामा ल्याउनुपर्छ ।”
वडाध्यक्ष कृष्ण महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सांसद् कञ्चन खनाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, रत्ननगरका मेयर नारायण वन, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, वडाध्यक्ष तिलकराज शर्मा, कार्यपालिका सदस्य राजेन्द्र हमाल, नगरस्तरी बाल सञ्जालका अध्यक्ष युनिका ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए । बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमका संयोजक दीपक कर्मचार्यका अनुसार रत्ननगर १०, १४ र १६ लाई पनि दुई महिनाको अवधिमा बालमैत्री वडा घोषणा गर्ने तयारी छ ।
वडाध्यक्षले तीन विद्यार्थीलाई दिए साईकल
रत्ननगर नगरपालिका वडा नम्बर ५ मा श्रमबाट मुक्त गरिएका तीन जना बालकहरुलाई साईकल प्रदान गरिएको छ । वडाध्यक्ष कृष्ण महतोले आफ्नो सुविधा कटाई तीन जना बालकहरुलाई एक–एक थान साईकल प्रदान गरेका हुन् । श्रममा होमिएका आयुस महतो,सिमान्त महतो र कृष्ण महतोलाई केही दिनअघि मात्रै श्रममुक्त गरिएको थियो ।
शुक्रबार आयोजित रत्ननगर–५ लाई वालमैत्री वडा घोषणा कार्यक्रममा उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डे, वडाध्यक्ष कृष्ण महतोले साईकल हस्तान्तरण गरे । साथै वडाध्यक्ष महतोले तीन जना विद्यार्थीको अभिभाकत्वसमेत ग्रहण गरेका छन् । ती विद्यार्थीलाई रत्ननगर उद्योग वाणिज्य संघले एक वर्षका लागि स्टेशनरी र पोशाक प्रदान गरेको छ ।