भरतपुर,५ असोज ।नेपाल आयल निगमले ट्यांकर चालकहरुले ढुवानी सुचारु नगरे गाडी खोस्ने चेतावनी दिएको छ । ढुवानी रोकिएसँगै पम्पहरुमा उपभोक्ताको लाइन बढ्न थालेपछि निगमले आन्दोलित चालकहरुलाई गाडी खोस्ने चेतावनी दिएको हो ।
मुलुकी संहिताको कतिपय प्रावधानले अन्याय पर्ने भन्दै ट्याकंर चालकहरु आन्दोलित भएपछि पछिल्लो दुई दिनदेखि रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी रोकिएको छ । ट्यांकर चालकहरु आन्दोलित भएपछि देशभरका पेट्रोल पम्पमा लाइन देखिन थालेको छ । नेपाल आयल निगममा पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका ढुवानीकर्ता तथा चालकले अवरोध गरेपछि उपभोक्तामा हाहाकार मच्चिने त्रास बढेको हो ।
नेपाल आयल निगमका प्रमुख सुशील भट्टराईले आन्दोलनरत पक्षसँग स्थानीय स्तरमा छलफल भइरहेको बताए । निगमले पटक–पटक ट्याकंर चालकहरुको माग सम्बोधन गरेको भन्दै उनले अहिलेको परिस्थिति निगमले मात्रै समाधान गर्न सक्ने अवस्था नरहेको बताए । ट्याकंर चालकहरुले ढुवानी सुरु नगरे आजबाट सेना, प्रहरी लगाएर गाडी खोस्ने उनले चेतावनी दिए ।
छलफलबाटै ढुवानी सहज बनाउने प्रयास भइरहेको भन्दै उनले चालकहरुले मान्दै नमाने स्कर्टिङ गरेर पनि आपूर्ति निर्वाध बनाउने बताए । निगमसँग पर्याप्त इन्धन मौज्दात रहेको दावी गर्दै उनले उपभोक्तामा त्रास बढेकाले पम्पमा लाइन देखिएको बताए ।
मुलुकी संहिताका कतिपय प्रावधानले अन्याय पर्ने भन्दै देशभरका सवारी चालकहरु त्यसको संशोधन माग राख्दै आन्दोलित भइरहेका बेला निगम सम्बद्ध ढुवानीकर्ताहरुले पनि पेट्रोलियम पदार्थ बोक्न छाडेका छन् । पछिल्लो तीन दिनदेखि ट्यांकर चालकहरुले रक्सौल डिपोबाट तेल ढुवानी गरेका छैनन् ।
यसैबीच सवारी चालकको हडतालका कारण इन्धन आपूर्तिमा अवरोध भएपछि चितवनमा इन्धनको अभाव हुन नदिन प्रहरीको इस्कटिङमा भोलि ट्याङ्करलाई तेल भर्न अमलेखगञ्ज पठाइने भएको छ । चितवन डिलर्स एशोसिएसन र चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको बीचमा बिहीबार भएको गहन छलफलपछि प्रहरी स्कटिङमा इन्धन भर्न ट्यांकर पठाउने निर्णय भएको हो ।
चितवन पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष ईश्वरी भट्टराईले केही चालकहरुले सुरक्षाको ग्यारेन्टी गरे ट्यांकर चलाउन सक्ने संकेत दिएकोले यो निर्णय गरिएको बताए । उनले यदि रातभरमा चालकहरुको मनस्थिति परिवर्तन नभएमा ९ वटा पेट्रोल र एउटा डिजेलको ट्यांकर तेल भर्न अमलेखगञ्ज पठाइने बताए ।
तेल नबोक्ने ट्यांकर खोसिने
तेल नबोक्ने ट्यांकर खोसिने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस