भरतपुर,५ असोज ।चितवनको भरतपुर–१० मा रहेको गेस्टहाउस चौरमा सिटीहल निर्माण गर्ने निर्णय सच्याउन माग गर्दै बिहीबार प्रदर्शन गरिएको छ । साँझ ५ देखि ६ बजेसम्म ‘गेस्ट हाउस चौर बचाऊँ, ग्रीन सिटी बनाऊँ’ भन्दै प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा राजनीतिक दलका सदस्य, विभिन्न पेशा ब्यवसायी, पत्रकार, खेलाडी तथा नागरिक समाजका ब्यक्तित्व र अधिकारकर्मीसम्म सहभागी थिए । गेस्टहाउस चौर बचाऊँ अभियान २०७५ नामाकरण गरिएको प्रदर्शनमा विवेकशील साझा, नेकपा माले, राष्ट्रिय जनमोर्चा, राप्रपा (प्रजातान्त्रिक) र वैद्य माओवादीले पार्टीगत तहबाट सहभागिता जनाए ।
मध्य शहरमा रहेको खुल्ला चौरलाई चौरकै रुपमा रहन दिनुपर्ने माग राख्दै उनीहरुले हस्ताक्षरसमेत संकलन गरेका छन् । निजी स्वार्थभन्दा माथि उठेर निर्णय सच्याउन दबाब दिन हातेमालो आवश्यक रहेको विवेकशील साझा पार्टीका चितवन संयोजक भुपेन्द्र बस्नेतले बताए । बजारमुखीभन्दा गाउँमुखी विकासमा केन्द्रित हुन आवश्यक रहेको उनले जोड दिए । नेपाल सरकारले नै शहीद मञ्च बनाउने भनी केही संरचना बनिसकेको अवस्थामा सिटी हल बनाउन उपयुक्त नहुने राप्रपा प्रजातान्त्रिक चितवनका उपाध्यक्ष जीवलाल पुरीले बताए ।
२०७२ साल बैशाखमा गएको विनाशकारी भूकम्पले ठूला शहरमा खुला चौरको आवश्यकता अझ बढाउँंदै गर्दा चितवनको मुख्य शहरको मध्यभागमा रहेको खुला चौरलाई नै लक्षित गरेर पूर्वाधार बनाउने निर्णय गलत भएको भन्दै सर्वत्र विरोध हुन थालेको छ । चितवनमा ठुल्ठूला कार्यक्रम गर्न सुविधा सम्पन्न हलको अभाव भएपछि केही समययता हल निर्माणको लागि उपयुक्त स्थानको खोजी भइरहेको छ ।
५ हजार क्षमताको सिटीहल बनाउन यसअघि विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको खाली जमिन उपयोग गर्ने भनिएपनि त्यसमा विरोध भएपछि पुनः विभिन्न स्थल अध्ययन अवलोकन हुने क्रम जारी छ । पछिल्लो समय भरतपुर–१० जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रहेकोे गेस्टहाउस चौरमा सिटीहल निर्माण गर्ने भनेपछि चर्चामा आएको हो ।
गेस्टहाउस चौर बचाउन प्रदर्शन
गेस्टहाउस चौर बचाउन प्रदर्शन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस