भरतपुर, २ असोज ।
पोलर स्टार ईङ्लीस स्कूल भरतपुर–८, गौरीगञ्जमा गठित पोलर स्टार अल्मुनाई एशोसिएशनले संविधान दिवस–२०७५ को अवसरमा भरतपुर महानगरस्तरीय अन्तरविद्यालय फुटसल प्रतियोगिता गर्ने भएको छ ।
‘शारीरिक स्वस्थताका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पोलर स्टार आवासीय माध्यमिक विद्यालयको सहकार्यमा संविधान दिवसका दिन गर्न लागिएको प्रतियोगितामा महानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयलाई पत्राचार गरिएको एशोसिएशनका अध्यक्ष अमित सापकोटाले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । सोमबारसम्म २२ वटा टिमले नाम दर्ता गराइसकेको सापकोटाले बताए ।
भरतपुर–२, क्षेत्रपुरस्थित इन्डोर सोकेररमा हुने प्रतियोगितामा पहिलो हुनेलाई १५ हजार, दोस्रोलाई १० हजारका साथै सिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिने सो विद्यालयका प्राचार्य दयानिधि अर्यालले जानकारी दिए । एल्मुनाईले यसअघि पनि विविध कार्यक्रम सञ्चालन गर्दै आएको प्राचार्य अर्यालले बताए ।
महानगरमै पहिलोपटक हुन लागेको विद्यालयस्तरीय यस्तो प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा गोलरक्षक र सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई पनि पुरस्कृत गर्ने आयोजकले जनाएको छ ।