विप्लव काफ्ले/कायाकैरन
भरतपुर,२ असोज ।खबर बुझ्ने तथा जान्ने प्रमुख माध्यमको के होला ? जवाफ सजिलो छ, सञ्चारमाध्यम । तर, शेयरकाष्ट इनिसिएटिभ नामक संस्थाले गरेको ‘नेपाल मिडिया सर्भे २०१८’ ले छिमेकी, साथीभाइ र परिवार नै समाचार लिने पहिलो माध्यम रहेको देखाएको छ ।
३१.४ प्रतिशतले छिमेकी, ११.६ प्रतिशतले साथीभाइर ७.३ प्रतिशतले परिवारका सदस्यलाई खबरको मुख्य स्रोतका रुपमा लिने गरेको पाइएको छ । यसरी हेर्दा ५०.०३ प्रतिशतले अरुको भनेको आधारमा सूचना तथा खबर लिदै आएको अध्ययनले देखाएको छ ।
यस्तै सामाजिक सञ्जाललाई खबरको मुख्य स्रोत मान्ने १२.७ प्रतिशत छन् । यसले सञ्चारमाध्यमबाट सम्प्रेषित समाचारभन्दा ‘हल्ला’ का खबरलाई पत्याउने अवस्था चित्रण गरेको छ । खबर तथा समाचार लिन ३८ प्रतिशतले टिभी, ४ प्रतिशतले पत्रपत्रिका, ६ प्रतिशतले अनलाइनबाट समाचार पाउने गरेको जवाफ दिएका थिए । “हल्लै हल्लालाई समाचार मान्ने धेरै पाइयो”, शेयरकाष्टका व्यवस्थापक भूमिराज चापागाईंले भने, “सञ्चारमाध्यम नै समाचारको विश्वासिलो माध्यम हो भन्ने स्थापित गर्न लाग्नुपर्छ ।”
कसैले भनेका कुरालाई नै समाचार मान्दा अनावश्यक भ्रम फैलिने खतरा रहेको उनको भनाइ छ । सर्भेमा छिमेकी, तथा साथीभाइले सुनाउने समाचारलाई विश्वास गर्ने २१ प्रतिशत छन् । विश्वासिलो सञ्चारमाध्यमका रुपमा धेरैले टिभीलाई रोजेका छन् । ३५ प्रतिशतले टिभी, ३०.१ प्रतिशतले रेडियोलाई विश्वासिलो माध्यम भएको बताएका छन् । राष्ट्रियस्तरका अन्य पत्रपत्रिकाको तुलनामा स्थानीय पत्रपत्रिका रोजाइँमा पर्ने गरेको सर्भेले देखाएको छ । ३६.९ प्रतिशतले स्थानीय पत्रपत्रिका पढ्ने गरेका छन् । स्थानीय पत्रपत्रिका नियमित पढ्ने २१ प्रतिशत छन् । यस्तै ६ महिनासम्म लगातार पत्रिका पढ्नेलाई सोधिएको प्रश्नमा ४४ प्रतिशतले स्थानीय पत्रपत्रिका पढ्ने गरेको बताए । “स्थानीय पत्रपत्रिकालाई बढी विश्वास गरेको पाइयोे”, उनले भने, “स्थानीय सरोकारका मुद्धा समावेश भएकाले यस्तो पाइएको हो ।”
नियमित टिभी हेर्ने ५६ प्रतिशत, रेडियो ५४ प्रतिशत र इन्टरनेट प्रयोगकर्ता ३५ प्रतिशत छन् । शेयरकाष्टले सोमाबार भरतपुरमा आयोजना गरेको परामर्श बैठकमा सर्भेको तथ्यांकबारे छलफल भएको थियो । प्रदेश ६ र ७ मा रेडियो, १, ३, ४ र ५ प्रदेशमा टिभी र २ नम्बर प्रदेश छिमेकी, साथीभाइले दिएका समाचारलाई बढी विश्वास मान्ने गरेको सर्भेले देखाएको छ । टिभी हेर्नेमा साँझ वा बेलुका हेर्ने ८५ प्रतिशत छन् । टिभी हेर्नेमध्ये समाचारका लागि हेर्ने ८५ प्रतिशत, मनोरञ्जनात्मक कार्यक्रम ४३ प्रतिशत, गीत हेर्न २२ प्रतिशत, अन्तरवार्ता हेर्ने १२ प्रतिशत रहेको पाइएको छ ।
रेडियो सुन्नेले बिहान ६ देखि ९ बजेसम्म सुन्ने धेरै पाइए । रेडियो दैनिक २ घण्टाभन्दा कम सुन्ने ८१ प्रतिशत पाइएको छ । रेडियोमा दिनको एकपटक समाचार सुन्ने २४.९ प्रतिशत, दुईपटक सुन्ने ३५.४ प्रतिशत रहेका छन् । विभिन्न जिल्लाका १ सय ९८ वडामा सर्भे गरिएको थियो । प्रत्येक वडाबाट २१ जना सहभागि थिए । ३५ जना गणकले सर्भे गरेका हुन् ।
“करिब १ सय प्रश्नावली सोधेर मोबाइल एपबाट संकलन गरिएका हुन््”, शेयरकाष्टका अध्यक्ष मधु आचार्यले भने, “यो तथ्यांकले मिडिया अवस्था अध्ययनमा सघाउनेछ ।” उनले स्थानीय सञ्चारमाध्यमले स्थानीय सरोकारका विषयका समाचार सम्प्रेषण गरेमा अझै लोकप्रियता र विश्वास बढ्ने बताए । शेयरकाष्टले तीन वर्षयता नियमित सर्भे गर्दै आइरहेको छ । सर्भेमा १८ वर्षमाथिका सबै उमेर समूहका सहभागी थिए । २०७४ फागुनमा सकिएकोे सर्भेक्षणमा ७ वटै प्रदेशबाट ४ हजार १ सय ४५ जनाले दिएको जवाफलाई आधार बनाएर बैशाखमा तथ्यांक सार्वजनिक भएको थियो ।
समाचारको मुख्य भर ‘हल्ला’
समाचारको मुख्य भर ‘हल्ला’
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस