जहाँ राज्य बलियो हुन्छ, त्यहाँका जनताले सुख पाउँछन् । राज्य भनेको अभिभावक हो । राज्यको कार्यकारी अंग सरकार हो । सरकारको मुख्य काम देशको शान्ति सुरक्षा कायम राख्नु हो । जनतालाई ढुक्क भएर हिडडुल गर्ने वातावरण बनाउनु हो । ढुक्कले खान र ढुक्कले निदाउन दिनु हो । जब यी कुराहरुको अभाव देखिन्छ नि त्यहाँ जनताले राज्यप्रति नै शंका गर्नुपर्ने हुन्छ । जनताले विद्रोह गर्नुपर्ने हुन्छ । वास्तवमा राज्यका लागि लज्जास्पद विषय नै यही हो । राज्यको असफलता नै यही हो ।
पछिल्लो समय राज्य असफलतातर्फ उद्दत रहेको बलियो प्रमाण हो निर्मला पन्त बलात्कारपछिको हत्याकाण्ड । देशके सुदूरपश्चिममा भएको यो एउटा बर्बरतापूर्ण हत्याकाण्डले आज देशभरिका जनतालाई विद्रोही बनाइदिएको छ । निश्चय नै यो घटना एकदमै जघन्य किसिमको अपराध हो । एक १३ वर्षे किशोरीमाथि यति नृशंस प्रहार र हत्या गर्नेलाई जुनसुकै कारबाही पनि कम हुन्छ । तर, यति हुँदाहुँदै पनि राज्यले वा राज्यका अंगले सामान्य अवस्थामा काम गरिदिएको भए यतिका दिनसम्म मान्छेले घटना नै बिर्सिसकेका हुन्थे । उनका परिवारले समेत छोरी गुमेको पीडामा विस्तारै मल्हम लगाइरहेका हुन्थे । विस्तारै पीडा भुलिसकेका हुन्थे । तर, विडम्बना राज्यका अंग नै यति सशंकित पाराले अघि बढ्यो कि दिनदिनै झनै निर्मलालाई सम्झिनुपर्ने बनाइदियो । यो घटनामा प्रहरीले जुन भूमिका निर्वाह गर्नुपर्ने थियो, त्यो देखिएन । भूमिका देखिएन मात्रै होइन, प्रमाण नष्ट गर्न र अमूक व्यक्तिलाई जोगाउन प्रहरीका केही अधिकारीहरुले हदैसम्मको प्रयास गरेको देखियो । अहिलेलाई शंकामै सीमित राख्नपर्ने केही विषय यस्ता छन्, जुन प्रमाणित भयो भने राज्यको सुरक्षा अंगबाटै असुरक्षित महसुस गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना हुनेछ । बम दिदीबहिनीले मृतककी आमालाई हप्काएको, बमको घरभित्र घटनालगत्तै रङरोगन गरिएको, लासको सुरक्षा नगरी लगाएको कपडा धुने काम गरिएको, मृतकको गुप्ताङ्ग धोइपखाली गरिएको, विष्ट केटाहरू केटीहरू लिएर गएको भनिएको होटलको सोही समयको सिसी क्यामराका फुटेजहरू नष्ट गरिएको, मृतकको मामालाई लगाएर मृतकका बाबुलाई लास बुझ्न दबाब दिइएकोलगायत कुराहरु गम्भीर शंका गर्नुपर्ने घटना हुन् ।
यी सबै क्रियाकलापले निर्मला पन्तमाथिको जघन्य अपराधमा शक्तिशाली व्यक्तिहरू वा उनीहरूका आफन्तको हात रहेको सहजै अनुमान गर्न सकिन्छ । नेपाल प्रहरीलाई कयौं ठूला घटनामा पनि अपराध अनुसन्धान गरेर छवि उचो बनाएको भनी प्रशंसा गरिन्छ । यो घटना प्रहरीको क्षमताको तुलनामा जटिल पनि छैन । अब प्रहरीले कम्तीमा आफ्नो छवि कायम राख्नलाई पनि यो घटनाको यथार्थ बाहिर ल्याउनुपर्छ । बलियो भनिएको अहिलेको सरकारले यति पनि गर्न सकेन भने जनताको विश्वास टुटेर जानेछ । घटनामा जोसुकै संलग्न होस्, अपराधी भनेको अपराधी नै हो । अपराधीको न जात, न नाता, न लिंग वा प्रतिष्ठा हुन्छ । अपराधी केवल अपराधी नै हो । उसले जुनसुकै हालतमा पनि कारबाही भोग्नुपर्छ ।