विनोदबाबु रिजाल
प्रसंग १ :
केही अघि जनतासँग प्रधानमन्त्री भन्ने टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकजनाले अनुरोधपत्र पठाए । विद्युतीय माध्यमबाट पठाइएको अनुरोधपत्रमा भनिएको थियो, “प्रधानमन्त्रीज्यू, नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा आफ्नो छवि उच्च बनाएको छ । अब त एकदिवसीय मान्यता पनि पायो । तपाईंको सरकार पनि बलियो छ । अब देशको कुनै ठाउँमा एउटा रंगशाला मात्रै भएपनि बनाइदिनुहोस् न ।”
जवाफमा प्रधानमन्त्रीले भने, “हामी समृद्ध देश बनाउने भनेर लागेका छौं । केही कलाकारहरु पनि एउटा रंगशाला बनाउँछु भनेर लागेका छन् । त्यो राम्रै कुरा हो । तर, समृद्ध देशमा एउटा रंगशाला होइन, धेरै रंगशाला बन्नेछन् । धेरै सिटी हल बन्नेछन् । सपिङ कम्प्लेक्स बन्नेछन् । सडकहरु बन्नेछन् । अस्पतालहरु बन्नेछन् । कलेज, विश्वविद्यालयहरु बन्नेछन् । हामी त्यो सोचिरहेका छौं ।”
प्रधानमन्धीको जवाफ सुनेपछि मैले मनमनै सम्झें । एकजना बिरामी ज्वरोले छटपटाइरहेको छ । उसले एक ट्याब्लेट सिटामोलको याचना गरिरहेको छ । तर, सिटामोल किनिदिन सक्ने मान्छे भन्दैछन्, “जाबो एक ट्याब्लेट सिटामोल के मागिराको ? हामी त हस्पिटल खोल्नेछौं । हस्पिटलको के कुरा औषधि फ्याक्ट्री नै खोल्नेछौं । त्यहाँ जाबो सिटामोल हो र, अमृत नै बनाइनेछ । अनि खालास् ।”
…
प्रसंग २ :
भरतपुर महानगरपालिकाले निर्णय ग¥यो : “धुर्मुस सुन्तली फाउण्डेसन नामक सामाजिक संस्थाले बनाउने भनेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि आवश्यक २० विघा जग्गा दिने ।” दिने त दिने । तर, कुन दिने ? “कृषि तथा वन विश्वविद्यालय चलिरहेको रामपुरस्थित सयौं विघाबाट काटेर दिने । अनि त्यसको सट्टाभर्ना अलि पर रहेको जग्गा विश्वविद्यालयलाई दिने ।”
भरतपुर महानगरपालिकाको जयजयकार भयो । मेयरसापको ‘जनहितकारी’ निर्णय भनियो । ठीक छ राम्रो हो । तर, महानगरले निर्णय गरेको भोलिपल्ट कृषि विश्वविद्यालयको सिनेटले भनिदियो, “जग्गा दिन मिल्दैन । विश्वविद्यालयलाई नै पुगेको छैन जग्गा, कहाँ रंगशालालाई पुग्नु ।”
एक हिसाबले रंगशाला बनाउने मेयरसापको अभियानमा ‘पहिलो गाँसमै ढुंगा’ भने झै भयो ।
शुक्रबार राति विश्वविद्यालयको निर्णयसहितको समाचार सार्वजनिक हुँदा नहुँदै महानगरपालिका प्रमुख रेनु दााहालले फेसबुक स्टाटसमा लेखिन्, “स्टेडियम बन्छ, ढुक्क हुनुस् ।” यो स्टाटसमा पनि सयौंले कमेन्ट गरेका छन् । आलोचनात्मक टिप्पणी गर्नेलाई गाली गरिएको छ । मेयरलाई ढाडस दिइएको छ ।
मेयरसापको यो दृढतालाई सलाम छ । साच्चै चितवनमा रंगशाला बनाउने कुरामा उहाँको चासो र क्रियाशीलतामा सबैले सघाऔं ।
…
नेपाली क्रिकेटको छलाङ
नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेटमा अभूतपूर्व छलाङ मारेको छ । सन् १९९६ बाट मात्रै अन्तर्राष्ट्रिय म्याच खेल्न सुरु गरेको नेपाली क्रिकेट टिमले दुई दशक भन्दा कम समयमा टीट्वान्टी फम्र्याटको विश्वकप खेल्यो । यसैपालि एकदिवसीय मान्यता पनि पायो । एकदिवसीयमा हामी डिभिजन फाइभबाट डिभिजन वानसम्म पुग्यौं । अझै एकदिवसीय विश्वकप खेल्न सकेका छैनौं, कोसिसमै छौं ।
जे होस्, अहिलेसम्मको उपलब्धी निकै राम्रो छ । तर, हाम्रो घरेलु संरचना हेर्ने हो भने साह्रै नै दयनीय छ । हाम्रो क्रिकेटको आन्तरिक प्रशासन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को प्रतिबन्ध खेपिरहेको छ । कहीं खेल्न जानुप¥यो भने पनि आईसीसीले नै सबै कुरा गर्छ । मतलब क्रिकेट एशोसिएन अफ नेपाल ‘डेड’ छ । हामीसँग अन्तर्राष्ट्रियस्तरको रंगशाला एउटा पनि छैन । काठमाडौंमा अन्तर्राष्ट्रिय म्याच गराइने त्रिभुवन विश्वविद्यालयको खेलमैदान रंगशाला होइन । यो त स्तरीय चौर हो । मूलपानीको रंगशाला बन्ने भनेको कति भयो कति । यसले अन्तिम रुप पाएको छैन । काठमाडौं बाहिर कति स्तरीय लिगहरु हुन थालिसके । तर, रंगशाला छैन । भएका चौरलाई स्तरीय बनाउने र खेलाउने गरिएको छ ।
चितवनको हविगत
चितवनमा क्रिकेट खेल्ने एउटा पनि खेलमैदान छैन । अरु खेलका लागि पनि छैन । राष्ट्रपति रनिङ शिल्ड खेलाउने बेला खेलकुद विकास समिति र सम्बन्धित खेल प्रशिक्षक धुरुधुरु रुन्छन् । चितवन क्रिकेट एशोसिएशनले सञ्चालन गरिरहेको चितवन क्रिकेट एकेडेमीले खेल अभ्यास गराउने चौर पाएको छैन । क्याम्पाचौरको फुटबल ग्राउण्डको दक्षिणतिर बचेखुचेको जमिनमा नेट हालिएको छ । त्यसमा अभ्यास गरिन्छ । तर, गेम खेल्ने चौर छैन । फुटबल मैदानमा खेल नभएको बेला गेम खेलाउनुपर्छ । अर्काले छोडेको बेला खेलिने चौरमा स्थायी पिच बनाउन पाउने कुरा पनि भएन । बनाइहाले अर्को फुटबल म्याचको बेला मेटाइदिन्छ ।

क्याम्पाचौरको फुटबल ग्राउण्डको एक कुनामा नेट प्राक्टिस गर्दै क्रिकेट प्रशिक्षार्थीहरु ।
भाग्यको कुरा यस्तै लुकामारी अभ्यासबाट सन्दीप लामिछानेजस्तो अन्तर्राष्ट्रियस्तरको खेलाडी निस्किए । सन्दीप अन्तर्राष्ट्रियस्तरमा चम्किए । तर, चम्किने अवसर नपाएपनि उनीजत्तिकै क्षमतावान् दर्जनौं राष्ट्रिय खेलाडी यो चौरले जन्मायो ।
केहीअघि चितवन क्रिकेट एशोसिएशनले सम्मान गरेको कार्यक्रममा एकेडेमीका प्रशिक्षक राजु खड्का र स्वयं सन्दीप लामिछानेले भने, “खेल मैदान बनाइदिनुहोस्, खेलाडी त आफै निस्कन्छन् ।” एशोसिएशनका अध्यक्ष कैलाश प्रधान र क्रिकेट भनेर रातको दिन लागिरहने पूर्वखेलाडी अनिल अधिकारीले होमा हो थपे ।
अन्तर्राष्ट्रिय रंगशालाको हावा
स्थानीय सरकार आयो । बलियो सरकार पायो । जनतामा आशा छायो । घोषणापत्रमा हरेक वडामा खेलमैदान भनियो । होला । बन्ला । यही अपेक्षा गरियो । यही मेसोमा नेपालले एकदिवसीय मान्यता पनि पायो । अनि सामाजिक क्षेत्रमा निकै इमानदार काम गरिरहेको धुर्मुस–सुन्तली फाउण्डेसनलाई तिमीहरुले नै अन्तर्राष्ट्रिय रंगशाला बनाउनुपर्छ भनेर जनताले उकासे । फाउण्डेसनका दुई मुख्य व्यक्ति सीताराम कट्टेल ‘धुर्मुस’ । कुञ्जना घिमिरे ‘सुन्तली’ पनि कस्सिए । र भने, “जग्गा देऊ, हामी बनाइदिन्छौं ।” राज्यलाई लाजै लागेन । यहाँ–यहाँ जग्गा छ, ल बनाऊ भनेर मेयरदेखि मुख्यमन्त्रीसम्मले खाली जमिन देखाउँदै हिड्यो । धुर्मुस–सुन्तलीको साखअनुसार उनीहरुलाई गरिने विश्वास त निकै राम्रो कुरा हो । तर, जाबो एउटा रंगशाला बनाउने राज्यले भटाभट निर्णय गरेर फटाफट काम नसकी ‘लौ तिमीहरुले जनताबाट पैसा उठाएर बनाइदेऊ त’ भनी पछि लाग्नु साह्रै नै लज्जास्पद काम हो ।

धुर्मुस–सुन्तली फाउण्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि बनाएको डिजाइन ।
यही मेसोमा भरतपुर महानगरपालिकाले पनि जग्गा देखायो । साविक चित्रवन नगरपालिकामा पर्ने खाली जग्गा (जसलाई फुटबल रंगशाला बनाउने भनेर केही काम गरिएको छ ।) देखायो । भरतपुर महानगर यतिसम्म आत्तिएछ कि, फुटबलको लागि प्रारम्भिक काम थालिएको जग्गालाई क्रिकेट स्टडियम बनाउन सकिन्छ भनेर देखाइदियो । यो हुने कुरै थिएन । पछि यी कुरा थाहा भयो । भरतपुर महानगरले अरु जग्गा हे¥यो । यही क्रममा नै कृषि विश्वविद्यालयको जग्गा प्रसंगमा आएको हो । तर, विडम्बना त्यो जग्गामा त्रिभुवन विश्वविद्यालय(त्रिवि) र कृषि विश्वविद्यालयको भागवण्डा तथा नामसारी नै सकिएको छैन । पहिलो रामपुरमा त्रिभुवन विश्वविद्यालयको कार्यक्रम थियो । पछि कृषि विश्वविद्यालय घोषणा भएपछि त्रिविले कृषिलाई कयौं जग्गा हस्तान्तरण गर्नुपर्ने थियो । अहिले रंगशाला बनाउन सकिने भनिएको जग्गामा पनि त्रिविले ईञ्जिनियरिङ चलाउन लागेको छ । रंगशालाका लागि पुग्नेभन्दा पनि बढी जग्गा कृषिले आफ्नोमा ल्याउनु छ । तर, सिनेटले तत्कालका लागि रंगशालाको सम्भावनाको अन्त्य गरिदिएको छ ।
अब के होला ?
रंगशालाका लागि सम्भावित भनिएको जग्गा भएको निर्वाचन क्षेत्र पुष्पकमल दाहालको हो । उनी गत आम निर्वाचनमा चुनाव लडेर यसै क्षेत्रबाट प्रतिनिधि सभा सांसद् भएका छन् । दाहाल देशको सबैभन्दा ठूलो मात्रै नभएर सरकार चलाइरहेको दल नेकपाका अध्यक्ष हुन् । पार्टीमा केपी शर्मा ओलीपछि उनी दोस्रो शक्तिशाली नेता हुन् ।
भरतपुर महानगरपालिका प्रमुखमा उनकै छोरी प्रमुख छिन् । यो भन्दा मिलेको ‘केमिष्ट्री’ अरु के हुन सक्ला र ? सिनेटले अहिले प्रस्ताव अस्वीकार गरेपनि ‘कुरो मिलाउने’ हैसियत राख्छन् पुष्पकमल । सिनेटको अस्वीकृतिलगत्तै मेयर दाहालले लेखेको स्टाटस पनि यसैको प्रतिविम्व हुनसक्छ कि उनले आफ्ना पिताबाट ‘नआत्तिऊ’ भन्ने आश्वासन पाएको हुनसक्छ । जग्गा मिलेलगत्तै महानगरले फाउण्डेसनलाई गुहार्न सक्छ । र फाउण्डेसनले पैसाको लागि जनता गुहार्न सक्छ । अर्को कुरा केपी शर्मा ओली प्रधानमन्त्री भएकोले त्रिवि र कृषि विश्वविद्यालय दुवैका कुलपति हुन् । उनले चाह्यो भने नमिल्ने कुरै छैन । अहिले पुष्पकमल दाहाल र केपी ओलीले चाहेको विकास नहुने कुरै छैन । यसैगरी रंगशाला बन्ला । बनोस् ।
तर, यथार्थ
ठूला कुरा जति गरेपनि रंगशाला बनाउन तत्कालै सजिलो देखिदैन । यसका लागि अर्बौं खर्च र वर्षौं मेहनत चाहिन्छ । नेपालले एकदिवसीय मान्यता पाएको अन्तरिमकालका लागि हो । २०२२ सालसम्म पाइने एकदिवसीय मान्यतालाई फेरि लम्ब्याउन त्यो बेलासम्म नेपालले आफ्नो स्तर बढाइसक्नुपर्ने हुन्छ । स्तर बढाउने भनेको यहाँ हजारौं खेलाडी जन्मिएको हुनुपर्नेछ । हामीसँग आन्तरिक संरचना बलियो भइसक्नुपर्नेछ । घरेलु प्रतियोगिता टन्नै हुनुपर्नेछ ।
विदेशीलाई ल्याएर पनि एकदिवसीय खेल्न सक्ने हुनुपर्नेछ । एकेडेमीहरु मज्जाले चल्नुपर्नेछ । त्यसकारण हाम्रो प्राथमिक आवश्यकता भनेको एकेडेमी र राम्रो खेलमैदान हो । एकदिवसीय मान्यता पाएपछि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको जिम्मा केन्द्रले लिएर तत्काल काम थाल्नुपर्ने थियो । स्थानीय सरकारहरुले आ–आफ्नो क्षेत्रमा स्तरीय खेलमैदान बनाउनेतिर ध्यान दिनुपर्ने थियो । क्रिकेट मैदान, फुटबल मैदान, एथलेटिक्स ट्रयाक प्राथमिकतामा पर्नुपर्ने थियो । तर, यहाँ त मानोरेलको कुरा गरिन्छ, सडक चौडा गर्ने कुरा गरिन्न । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कुरा गरिन्छ, खेलमैदानको कुरा गरिन्न ।
चितवनमा राम्रो सम्भावना देखाएको चितवन क्रिकेट एकेडेमी छ । राजु खड्का आफैमा खारिएका प्रशिक्षक छन् । उनले राम्रा खेलाडी उत्पादन गरेर आफ्नो क्षमता देखाइसकेका छन् । त्यो एकेडेमीलाई भरतपुर महानगरपालिकाले आफ्नै कार्यक्रमभित्र पारेर चलाए हुन्न ? एकेडेमीअन्तर्गत नै व्यवस्थित खेलमैदान निर्माण गरे हुन्न ? यसो भएमा आफूपनि खुसी हुने अनौपचारिकरुपम खड्काले पंक्तिकारलाई बताए ।
ठीक छ रंगशाला पनि बनाउँला । तर, यो त रातारात बन्ने कुरा होइन । अर्बौं पैसा चुट्कीको भरमा आउने पनि होइन होला । त्यो एउटा कार्यक्रमले बनाइरहन्छ, हामी स्तरीय खेलमैदान र एकेडेमीबाट खेलाडी उत्पादन गर्दै जाऊँ । रंगशाला अर्बौंमा बन्छ, खेलमैदान लाखौंमै बन्न सक्छ । यसले त नतिजा एक वर्षमै दिन थालिहाल्छ । अनि हाम्रो एकदिवसीय मान्यताका लागि अर्को पटक प्रस्तुत हुँदा बलियो बन्न सक्नेछौं ।
मेयरसापलाई सुझाव
तपाईंले हरेक भाषणमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासाथ अघि बढ्दैछौं भन्नुहुन्छ । ‘स्टेडियम बन्छ, ढुक्क हुनुस्’ भन्ने तपाईंको छोटो तर दमदार स्टाटसले धेरैलाई आशावादी बनाएको छ । ढिलोचाडो बनाउनु पनि होला । तर, त्यसलाई दीर्घकालीन योजनामा राख्नुहोला । मध्यकालीन योजनामा आवासीय व्यवस्थासहित एकेडेमी सञ्चालनलाई राख्नुहोला । व्यवस्थित खेलमैदान त हामी अल्पकालीन योजनामै पार्न सक्छौं ।
आखिरीमा सबैभन्दा बढी नतिजा दिनेचाहिं खेलमैदानले नै हो । सन्दीप लामिछानेजस्तो खेलाडी जन्मिनलाई खै त अन्तर्राष्ट्रिय रंगशाला कुर्नुपरेको ? क्याम्पाचौरमा फुटबल मैदानलाई बढी भएको एक छेउ मात्रै प्रयोग गरेर पनि क्रिकेटरहरुले राम्रो प्रशिक्षण लिइरहेका छन् । व्यवस्थित एकेडेमीमा तिनीहरुलाई राख्न पाइयो भने कति राम्रो होला ?
त्यसैले हामी सिटामोल खुवाएर बिरमी उठाउनतिर लागौं, भोलि औषधि उत्पादन गरेर तलाई अमृत पिलाउँला भनेर बस्ने होइन ।”
(bhaibinod@gmail.com)