विप्लव काफ्ले/कायाकैरन
भरतपुर,३१ भदौ ।माडीमा प्रमाणपत्र तह (डिप्लोमा) को प्राविधिक शिक्षा सञ्चालनको तयारी सुरु भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को आंगिक कलेज दिवाकर स्मृति प्राविधिक शिक्षालय माडीले यही शैक्षिक सत्रदेखि सिभिल ईञ्जिनियरिङ र एग्रिकल्चर (पशु विज्ञान) को कक्षा सञ्चालनको तयारी गरेको छ । स्रोतका अनुसार कार्तिक पहिलोे सातादेखि पढाइ सुरु हुनेछ ।
सिभिलतर्फ ४४ र पशु विज्ञानतर्फ ३७ जना पूर्ण शुल्कीय भर्नाका लागि आवेदन मागिएको छ । यसअघि साउन १२ गते छात्रवृत्तिमा निःशुल्करुपमा पढ्न पाउनेको परीक्षाबाट सिभिलतर्फ ४ र पशु विज्ञानतर्फ ३ जना छनौट भइसकेका छन् । शिक्षालयका अनुसार सिभिलमा १८ र पशु विज्ञानमा ७ जनाको आवेदन परिसकेको छ । फाराम भर्ने मिति आज(आइतबार) सकिदैछ । एसईई परीक्षामा गणित र विज्ञानमा न्यूनतम सी ग्रेड र अंग्रेजीमा न्यूनतम डि प्लस ग्रेड ल्याएका विद्यार्थीले सिभिल पढ्न पाउँछन् । यस्तै एसईई परीक्षामा अंग्रेजी, गणित र विज्ञानमध्ये कुनै दुईमा न्यूनतम सी ग्रेड र बाँकीमा न्यूनतम डी प्लस ल्याएका विद्यार्थीले पशु विज्ञान पढ्न पाउँछन् ।
“सिभिलतर्फ ४८ र पशु विज्ञानमा ४० जना विद्यार्थी भर्ना हुनेछन्”, शिक्षालय प्रमुख पुष्पराज पौडेलले भने, “आइतबार निर्धारित कोटाभन्दा बढी आवेदन पर्ने विश्वास लिएका छौँ ।” आवेदन दिएका विद्यार्थी असोज ३ गतेको प्रवेश परीक्षा उत्तीर्ण भएपछि भर्ना प्रक्रिया सुरु हुनेछ । “रिजल्ट भएको १५ दिनभित्र भर्ना गरिसकिनेछ”, उनले भने, “दशैंअघि नै कम्तीमा एक हप्ता भएपनि पढाइ सुरु गर्ने तयारीमा छौँ ।” ३ वर्षे डिप्लोमा तहको पढाइ पूरा गर्न १ लाख ५० हजार रुपैयाँ शुल्क लिइनेछ ।
“असोजमा आवश्यक प्रशिक्षक र कर्मचारी व्यवस्थापन गरिनेछ”, उनले भने, “तत्कालै ९ जना प्रशिक्षक र २ जना कर्मचारी चाहिएको छ, यो बारे सिटीइभिटीलाई जानकारी दिइसकेका छौँ ।” शिक्षालयमा हाल शिक्षालय प्रमुख बाहेक अन्य कर्मचारी नियुक्ति गरिएको छैन । शिक्षालय प्रमुखले भदौ २७ गते जिम्मेवारी सम्हालेका थिए । तत्कालिन हरिनगर विद्यालयका कार्यालय सहयोगीले शिक्षालय रेखदेखको काम गर्दै आएका छन् ।
माडी–६, हरिनगर आधारभूत (१–८) विद्यालय जनकल्याण माविमा मर्ज भएपछि सोही विद्यालयमा शिक्षालय स्थापना भएको हो । “तत्काल पढाउने २ कोठा, १ लाइब्रेरी र ५ वटा प्रयोगशाला बनाएर पढाउन सकिन्छ”, उनले भने, “पुरानो विद्यालयका कक्षा कोठामै पढाइ हुन्छ, शिक्षालयलाई तत्काल कोठाको अभाव छैन ।” प्रयोगात्मक अध्ययनका लागि करिब ७० लाख खर्चेर ‘ल्याब’ निर्माण गरिने जनाइएको छ । सिभिल र पशु विज्ञानका ७–७ विषयमा पढाइ हुन्छ । बिहान १० देखि साँझ ५ बजेसम्म नियमित पढाइ हुन्छ ।
माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले शिक्षालयमा पढ्ने विद्यार्थीलाई लक्षित गरी ‘होस्टल’ का लागि नगरपालिकाले रामराज्यपुरमा ‘ब्रिटिस’ ले बनाइदिएको भवन उपलब्ध गराउने भएको जानकारी दिए । “निःशुल्क होष्टलको व्यवस्था गरेका छौँ”, उनले भने, “टाढाबाट पढ्न आएका, गरिव तथा जेहेन्दार विद्यार्थीलाई आवासीय सुविधा दिइनेछ ।” रामराज्यपुर आधारभूत विद्यालय (१–५) जनकल्याण माविमा मर्ज भैसकेको छ । हरिनगर विद्यालय ०२२ र रामराज्यपुर ०२८ सालमा स्थापना भएका थिए । विद्यार्थी संख्या न्यून भएपछि यी विद्यालय मर्ज भएका छन् ।
उनले शिक्षालय स्थापनाले माडी निकै उत्साहीत भएको बताए । “पुराना भवन मर्मत गरेरै भएपनि यही वर्षबाट पढाइ सुरु हुँदैछ, नगरपालिकाले मर्मतमा सहयोग गर्दैछ”, उनले भने, “शिक्षाका लागि माडी भनेर पहिचान बनाउन शिक्षालयले सघाउने छ ।” उनले शिक्षालयमा पढ्न चाहने गरीब तथा जेहेन्दार विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्ति दिने तयारी गरेको जानकारी दिए । माडी–८ का वडाध्यक्ष तथा माडी नगर शिक्षा समितिका सदस्य कृष्णराज अधिकारीले प्राविधिक शिक्षालय स्थापनाले माडीमै सक्षम प्राविधिक जनशक्ति तयार गर्ने विश्वास गरे । “प्राविधिक शिक्षा पढ्न अन्य जिल्ला धाउनुपर्ने, भरतपुर जानुपर्ने अवस्था अन्त्य हुँदैछ”, उनले भने, “आफ्नै घरदैलोमै बसेर पढ्न पाउने अवस्था बनेको छ ।”
२२ करोडका संरचना
माडी–६, हरिनगरमा रहेको दिवाकर स्मृति प्राविधिक शिक्षालयको भौतिक संरचना गर्न करिब २२ करोड आवश्यक पर्ने देखिएको छ । ४ तले भवनमा ५० वटा कक्षा कोठा, एक दर्जन प्रयोगशाला, ५ वटा फार्म, ३ वटा प्रयोगात्मक भवन बनाइने तयारी छ । “करिब ३ वर्षमा भौतिक संरचनाले पूर्णता पाउनेछ”, शिक्षालयका प्रमुख पुष्पराज पौडेलले भने, “करिब २२ करोड लाग्ने अनुमान गरेका छौँ, कस्तो संरचना बनाउनेबारे छलफलमै छौँ ।” उनका अनुसार प्रयोगशाला (ल्याव) निर्माणमै करिव ५ करोड लाग्नेछ ।
गाई, खरायो, कुखुरालगायतका फार्म, माछापोखरी लगायतका संरचना बनाइने छ । यस्तै कार्पेन्टिङ, प्लम्बिङ, सेट हाउस निर्माण गरिनेछ । ३ वर्षभित्र एग्रिकल्चरतर्फ बालीविज्ञान र ईञ्जिनियरिङतर्फ इलेक्ट्रिकल शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए । सिभिलतर्फ १ जना ईञ्जिनियिर र पशु विज्ञानतर्फ १ जना भेटेरिनरी डाक्टरलाई पूर्णकालीन प्रशिक्षकका रुपमा नियुक्ति गरिने तयारी छ । अन्य प्रशिक्षक आंशिकरुपमा राखिने छन् । हरिनगर विद्यालयको ५ विघा जग्गा शिक्षालयको नाममा हस्तान्तरण भइसकेको छ ।