भरतपुर, ३० भदौ ।
तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबारदेखि देशव्यापी ‘ग्रासरुट’ फुटबल कार्यक्रम सुरु गरेको छ । देशभर एन्फाको शाखा रहेका ४५ जिल्लामै एकैपटक कार्यक्रम सुरु गरिएको हो ।
कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी गराइएको एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए । ‘ग्रासरुट’ फुटबल कार्यक्रमअन्तर्गत खेलाडीले खेल्ने फुटबल नियम लागू हुँदैन । बालबालिकालाई मनोरञ्जनात्मक तरिकाले फुटबल खेल्न सिकाइन्छ ।
चितवनमा पनि यो कार्यक्रम शनिबार सुरु गरिएको छ । नारायणगढको क्याम्पाचौरमा १४० जना साना बाबुनानी उपस्थित गराएर कार्यक्रम सुरु गरिएको हो । “जिल्लाका ५ क्षेत्रबाट बाबुनानी ल्याइएको छ”, यस क्षेत्रको ग्रासरुट कार्यक्रम अनुगमनको जिम्मा पाएका प्रशिक्षक संघका अध्यक्ष विनोद लामाले भने, “उनीहरुलाई फुटबलप्रति आकर्षण गर्न विभिन्न प्रशिक्षण दिइनेछ ।” उनका अनुसार जिल्लामा ६ देखि १० वर्षसम्मका बाबुनानीलाई अभियानमा ल्याइएको छ ।
सानै उमेरमा एकआपसमा चिनजान तथा घुलिमिल हुने वातावरणका साथै खेलको विकास गर्न एन्फाले यो कार्यक्रम ल्याएको हो । एन्फा अध्यक्ष शेर्पाले अभियान सुरु गरेर मात्र नहुने भन्दै निरन्तरता दिन अर्को वर्षदेखि यसलाई वार्षिक क्यालेन्डरमा राखेर अघि बढाउने योजना रहेको बताएका छन् । अभियानलाई विस्तार गरी अर्को वर्षदेखि ७७ जिल्लामै लागू गर्ने एन्फाको तयारी छ ।
एन्फाले ग्रासरुट फुटबल गतिविधि सञ्चालन र मैदानको मर्मतलगायत कार्य गर्न ४५ वटै जिल्ला फुटबल संघकलाई आर्थिक सहयोग र खेलकूद सामग्री प्रदान गरिसकेको छ । खेल सञ्चालनका लागि एन्फाले सुगम जिल्लाका लागि रु पाँच लाख नगद तथा रु एक लाख मूल्य बराबरको खेलकूद सामग्री र दुर्गम जिल्लाका लागि रु १० लाख नगद तथा रु एक लाख मूल्य बराबरको खेल सामग्री सम्बन्धित जिल्ला संघका पदाधिकारीलाई उपलब्ध गराइसकेको छ । जसानुसार चितवन जिल्लाले ५ लाख पाएको छ ।