धु्रवराज खनाल/कायाकैरन
खैरहनी,२९ भदौ ।खैरहनी नगरपालिका–१०, कठार निवासी भोला माझी र छङुरिया माझी बेलुकाको छाक टार्नका लागि चाँजोपाँजो मिलाउन व्यस्त देखिन्थे । उनीहरुको हातमा करिब एक किलो चामल र एक मुठ्ठी मुसुरोको दाल थियो ।
घोंगी बेचेर ल्याएको चामल र दालले बेलुकाको छाक टर्ने भयो भन्दै उनीहरु त्रिपालले छाएको घरमा गफिदै थिए । खरको छानो पानीका कारण कुहिएर पानी पस्ने समस्या भएपनि उनीहरुले घरमाथि त्रिपाल टाँगेका थिए । बिहान खाना खाएर उनीहरु लुकीलुकी घोंगी टिप्न बुढीराप्ती खोला गएका थिए । दुई जनाले करिब एक किलो घोंची टिपेर ल्याए । त्यो घोंगी गाउँमै बेचे । त्यसको पैसाले एक किलो चामल नै आयो । “मेलापात गर्नेबेला अहिले छैन, कहिलेकाँही मजदुरी गरिन्छ”, भोला माझीले भने, “खाली समय खोलामा घोंगी टिपी बेचेर छाक टार्नुपर्ने अवस्था छ ।”
“आजलाई त छाक ट¥यो”, भोलाले थपे, “मजदुरी गर्न, माछा मार्न र घोंगी टिप्न नपाएको बेला भोकै बस्नुपर्छ ।” उनीहरुका २ वटा छोरा सानै छन् । घोंगी बेचेरै छाक टार्नु उनीहरुको बाध्यता हो । उनीहरुकै घर नजिक तीन चार जना गफ गर्दै दिन कटाउने मेसो गर्दै थिए ।
स्थानीय एमपी माझी घोंगी र निउरो टिपेर जीवन निर्वाह गर्दै आएको बताउँछिन् । “काम भएको बेला श्रीमान् श्रीमती नै जान्छौं”, एमपीले भनिन्, “अरुबेला लुकेर घोंगी र निउरो टिप्न जान्छौं, त्यही बेचेर छाक टार्छौं ।” गफिदै बसेका करिब ४०–४५ वर्षे उमेर देखिने लहन माझी भने माछा मारेर बिहान बेलुकाको छाक टार्दै आएपनि सरकारले खोलामा माछा मार्न प्रतिबन्ध लगाएपछि आफूहरुको रोजीरोटी नै खोसिएको बताए । “सरकारले पनि माछा मार्न रोक लगायो”, लहन माझीले भने, “काम गर्न नगएको बेला घरमा आगो बल्दैन, भोकै बस्नुपर्छ ।”
माछा मार्न रोक लगाउनुअघि खोलामा माछा मारेर चामल किनी बिहान बेलुकाको छाक टर्ने गरेको उनले सुनाए । राप्ती, बुढीराप्ती र ढुंग्रे खोलामा उनीहरुले माछा मार्ने गरेका थिए । आफैले संरक्षण गरेको वनबाट दाउरा ल्याउनसमेत नपाएको उनको गुनासो छ । रुखको झिजामिजा ल्याउँदासमेत घरमै आएर खोस्ने गरेको लहनले दुःख पोख्दै भने । उनका चार पुस्ताले त्यहीं जीवन बिताए । माझी मुसहर बसेको सो जग्गा पहिले कण्ठेश्वरी मध्यवर्ती सामुदायिक वन भएपनि अहिले कठार माध्यमिक विद्यालयले आफ्नो रहेको बताउँदै आएको छ ।
सोही जग्गामा उनीहरु वर्षौंदेखि बस्दै आएका छन् । २१ घरधुरी रहेको सो बस्तीमा ५ देखि १० धुरसम्म उनीहरुले प्रयोग गर्दै आएका छन् । घरहरु खरले छाएका छन् । तर, पनि वर्षाको बेलाभित्रै पानी पस्ने हुँदा राम्रोसँग सुत्न नपाउने उनीहरु बताउँछन् । खैरहनी नगरपालिकाले उनीहरुको व्यवस्थापनका लागि योजना अघि सारेको छ । नगरपालिकाका मेयर लालमणि चौधरी अहिले उनीहरु बस्दै आएको जग्गा सहजरुपमा उपलब्ध भए घर बनाएर राख्ने योजना रहेको बताउँछन् । “सीमान्तकृत समुदायको रुपमा रहेका उनीहरुको व्यवस्थापन गर्नु हाम्रो कर्तव्य हो”, मेयर चौधरीले भने, “जग्गा एकिन गरेपछि उनीहरुलाई व्यवस्थित रुपमा नगरपालिकाले राख्नेछ ।” उनीहरुका लागि एक दिने घरसहित शौचालयको व्यवस्था गरिने मेयर चौधरीले बताए ।