प्रमिता ढकाल
चितवन, २७ भदौ ।
आज हरितालिका तीज । नेपाली महिलाहरुको ठूलो पर्व मानिएको तीज सबैलाई तरंगित बनाउने गरी आउने गर्दछ । हिन्दु महिलाहरुको धार्मिक आस्था र विश्वाससँग जोडिएको भएपनि सम्पूर्ण महिला दिदीबहिनीको साझा पर्वका रुपमा तीज विकसित हुँदै गएको छ । सबै जातजाति तथा उमेर समूहलाई उत्साहित गराउने गरी आउने वर्षदिनको ठूलो पर्व तीज मनाउने रहर सबै महिला दिदीबहिनीमा हुन्छ । एक महिना अघिदेखि नै तीजको तयारीमा जुट्ने र तीजकै दिनमा पनि कामा व्यस्त हुनेलाई समेत यसको रौनकले छोएको हुन्छ । तर, कहिल्यै पनि विदा लिन नमिल्ने जस्ता क्षेत्रमा कार्यरत महिलाहरुले भने तीज कसरी मनाउलान् भन्ने कौतुहलता भने पक्कै सबैलाई हुन्छ ।
…
सृजना अर्याल
केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ
हरपल समाजका विषयवस्तु उठान गर्नुपर्ने दायित्व बोकेको पत्रकारिता पेशामा तीजको छुट पाइन्न । महिलाको पर्व भनिएकै कारण नाचगान मात्र नभई महिला अधिकारका सवाल र मुद्दा उठाउने अवसरका रुपमा कार्यक्रम राखिने भएकाले रिपोर्टिङमा खटिनुपर्ने नै हुन्छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अर्याल पनि तीजको बेला दौडधुपमै हुन्छिन् । “महिलाको क्षेत्रमा कलम चलाउने भएकाले पनि महिला दिदीबहिनीले आयोजना गरेको कार्यक्रममा पुग्न मन लाग्छ”, अर्यालले भनिन्, “तीजको बेला घर परिवारमा हुने जमघटमा भने छुट्ने गरेको छु ।”
तीजमै आउन नभ्याउने गर्दा तीज अघि वा पछि पनि अनुकूल मिलाएर तीजको भेटघाट राख्दा पारिवारिक भेटघाटको अवसर रमाइलो हुने उनको भनाइ छ । यो तीजमा स्थानीय सञ्चारमाध्यमले उनलाई नै सम्मान गर्ने कार्यक्रम पनि राखेको छ । “आजकल काममा नै बढी व्यस्त भइन्छ”, बाल्यकालको तीजको स्मरण गर्दै उनले भनिन्, “गाउँभरिका आमा दिदीबहिनी जम्मा हुन्थ्यौं, नारायणी नदीमा स्नानका लागि जान्थ्यौं, गीत गाउँदै नाच्दै फर्किन्थ्यौं । दिनभर नाचगान अनि साँझमा पूजा छुट्टै रमाइलो थियो ।”
निरन्तर तीजको ब्रत बस्दै आएकी उनी राम्रो श्रीमान् पाउन वा श्रीमान्को लागि भन्दा पनि स्वास्थ्यका लागि तीजमा र सामान्य बेलामा पनि सातामा एक दिन ब्रत बस्न रुचाउँछिन् । शरीरको स्वास्थ्यलाई ख्याल राख्दै पानी र फलफुल भने खाने गर्छिन् । तीज पर्व महिलाको विद्रोहले जित हासिल गरेको खुसियालीको पर्व हो भन्न रुचाउँछिन् पत्रकार अर्याल । धार्मिक र महिलाका विषयमा कलम चलाउने अर्याल भन्छिन्, “शिव पार्वतीको युगमा त्यो परिवेशअनुसार पार्वतीले आफ्नै परिवारसँग विद्रोह गरेकी थिइन् । आफूले चाहेको मान्छेसँग विहे गर्नका लागि पार्वतीले बसेको ब्रत अहिलेको परिवेशमा अनसनसँग तुलना गर्दै उनको जितमा उनका साथीसंगी खुसी भएर नाचगान गरेको पर्व अहिले पनि महिलाको विद्रोह, अधिकारका आवाजको प्रतिविम्व हो ।”
…
डा.विष्णुमाया खरेल
प्रबन्ध निर्देशक, एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर
वर्षभरि नै बिरामीको सेवामा खटिनुपर्ने पेशाले गर्दा डा. विष्णुमाया (बीएम)खरेलललाई तीजको विशेष तयारी गर्ने समय नै हुँदैन । यो वर्षको तीजमा पनि बिहान अस्पतालमा व्यस्त रहने र आधा दिनमा काठमाडौं जाने तालिका पहिल्यै तय भइसकेको छ । श्रीमान् डा. प्रमोद लामिछाने काठमाडौंमा हाडजोर्नीसम्बन्धी सेमिनारमा उपस्थित हुनुपर्ने भएकोले सँगै काठमाडौं जाँदै छन् ।
सन् २००७ देखि चिकित्सा पेशामा प्रवेश गरेकी डा. खरेलले त्यसयताका तीजमा विदा लिएकी छैनन् भने चार वर्षयता तीजमा माइतसमेत गएको अनुभव छैन । “काठमाडौंको स्वयम्भूमा माइती जान नपाएपनि लंकूस्थित आफन्तले बोलाउने हुँदा समय मिले जाने गरेकी छु”, उनले भनिन् ।
बिहेअघि वा पछि, डा. खरेलले तीजको पूरा ब्रत अहिलेसम्म बसेकी छैनन् । “बिहे भएको पहिलो वर्ष ब्रत बस्न रहर पनि लागेको थियो, तयारी पनि गरेको थिएँ”, उनले भनिन्, “चिकित्सा पेशामा हरपल ड्यूटीका लागि तयार रहनुपर्ने भएकाले आफैलाई गाह्रो हुने गरी तिमीले ब्रत बस्दा बिरामी भयौ भने के मलाई खुसी मिल्ला ? भनेर श्रीमान्ले प्रतिप्रश्न गरेपछि ब्रत बसिन ।” श्रीमतीले ब्रत बस्दा श्रीमान्को आयु बढ्छ भन्ने कुनै वैज्ञानिक तर्क नभएको भन्दै श्रीमान्ले नै नबस भनेपछि बस्न जरुरी नठानेको बताइन् ।
विहेअघिका तीजको रमाइला पल स्मरण गर्दै उनले भनिन्, “म ब्रत बस्थिन । तर, मन्दिर गएर पूजा गर्ने अनि पूजापछि खाना खाने गर्थे, साथीहरु भने निराहार ब्रत नै बस्थे । सबैले ब्रत बसेर राम्रो श्रीमान् पाए खराबले कोसँग विहे गर्लान् त भनेर ब्रत बस्दिन भनी हांसेर टार्थें ।”
अहिले आफूलाई माया गर्ने र हरेक कुरामा हरपल साथ दिने श्रीमान् पाउँदा ब्रत बस्नुपर्ने जस्ता कुराहरु सान्त्वनाकै कुरा रहेछन् भन्ने प्रष्ट भएको उनलाई लाग्छ । “मलाई सजिलै सारी लगाउन आउंँदैन कसैको सहयोग चाहिन्छ”, खरेल भन्छिन्, “बिहे भएको केही वर्षसम्म तीज कार्यक्रममा जाँदा सजिएर नगए कसैले केही भन्लाकि भन्ने अप्ठ्यारो लाग्थ्यो, अहिले काम, अस्पतालको व्यवस्थापन, कर्मचारीलाई विदाजस्ता कुराले प्राथमिकता पाउँदा अरु विषय गौण लाग्ने गरेका छन् ।”
“तीजको दर खाने भनेर राखिएका कार्यक्रमहरुले भेटघाटको अवसर दिएको हुन्छ । आफू सधैं सबै आफन्त भेट्न टाढा–टाढा जान फुर्सद पनि हुन्न, एकै ठाउँमा भेट हुने अवसर जुट्ने भएकाले यस्ता अवसर छुटाउन मन लाग्दैन”, खरेलले भनिन्, “आफ्नै अस्पताल भएकाले समय मिलाउन खासै गाह्रो हुँदैन, एक–दुई घण्टाका लागि आयोजित कार्यक्रमहरुमा जान मन पर्छ ।”
…
सीता पराजुली
नर्सिङ सुपरिटेन्डेन्ट, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुर
३५ वर्षे नर्सिङ करिअर पार गरेकी सीता पराजुली माइतीमा ८ दिदीबहिनीमध्ये जेठी हुन् । बिहेपछि नै स्टाफ नर्स अध्ययन गरेकी उनले विद्यार्थीकाल र पेशामा आबद्ध भएपछिका १९ वर्षका तीज घर बाहिर नै बिताएकी छन् । “घरबाट टाढा कार्यक्षेत्र रहेकाले एक दिन तीजमा आउन सम्भव थिएन”, उनले भनिन्, “बिरामीको सेवामा सन्तुष्टि मान्नुपर्ने पेशा भएकाले यसमा कुनै गुनासो लाग्दैन ।”
उनले कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा काम गर्न थालेको नै १३ वर्ष भयो । अहिले कार्यक्षेत्र मात्र नभई घर र माइती पनि नजिकै छ । काम सकेर माइती जान पनि भ्याइन्छ र आकस्मिक काम परे कार्यालय आउन बेर लाग्दैन । त्यसले गर्दा पनि उनी तीजमा काम र रमाइलो दुवैलाई व्यवस्थापन गर्ने सुरमा छिन् ।
“धर्ममा आस्था छ, बिहान साँझ पूजा पनि गर्छु, रितीअनुसारका कर्मकाण्ड पनि मान्छु । तर, ब्रत बसेरै श्रीमान्को आयु बढ्छ भन्ने कुनै वैज्ञानिक तर्क छैन” उनले भनिन्, “बिहेअघि तीजको ब्रत बसेपनि बिहेपछि नै नर्सिङ अध्ययन पनि गरें, त्यसपछि नै ब्रत बस्न छोडें ।”
तीन सय जना नर्सिङ स्टाफ र विद्यार्थीसमेत हेर्नुपर्ने जिम्मेवारी बोकेकी पराजुली चाडपर्वका बेला बिदा मिलाउन निकै सकस हुने बताउँछिन् । हरेक वार्ड र डिर्पाटमेन्टमा सकभर साथीसँग समन्वय गर्न आग्रह गर्ने र अत्यावश्यकलाई मात्र विदा दिने गरेको उनले बताइन् । “घर वा माइती टाढा भएका, नवविवाहितालाई प्राथमिकता दिन लगाइन्छ,” उनले भनिन्, “तीजमा भन्दा पनि दशँैमा धेरै दिन विदा दिनुपर्छ, त्योबेला अझ समस्या हुन्छ ।” चाडपर्वको बेला दुर्घटनाको जोखिम बढी हुने भएकाले केही आपतकालीन परिस्थिति परिहाल्छ कि भन्नेमा समेत ध्यान राखेर ड्यूटीमा खटिनुपर्छ । अरुलाई विदा दिँदा आफै आएर काम हेर्न तयार हुन सक्नुपर्छ उनले भनिन् ।
बिहे भएपछि ८ दिदीबहिनी एकै ठाँउमा जम्मा भएर विरलै तीज मनाएकी पराजुली यसपटक आठमध्ये ६ दिदीबहिनी जम्मा हुने खुसीले निकै हर्षित छिन् । “आठ दिदीबहिनी अनि सबैका सन्तान पनि जम्मा भए त टोलभरिका मान्छे नै जम्मा भएजस्तो हुन्छ”, पराजुलीले भनिन्, “एकअर्काको घर परिवारका कुरा, गफगाफले समय गएको पत्तै हुँदैन ।”
भारतको आसाममा बाल्यकाल बिताएकी पराजुलीलाई त्यँहा रहंदाको तीजको सम्झना अझै प्यारो लाग्छ । तीजको दर खाने दिन मात्र माइती,मावल जाने अनि पञ्चमी पछि फर्किने चलन नै वास्तविक तीज भएको उनी बताउँछिन् । “आजकल महिना दिन अघि बाटै कार्यक्रम राखिन्छन्, एउटाले घरमा सबैलाई बोलाउँदा अर्कोलाई मैले बोलाउन सकिन भन्ने खिन्नता हुनसक्छ । त्यसो गर्नुभन्दा तीजको महिनामा नभई वा तीजको नाम नदिई बोलाउन पनि सकिन्छ नि”, उनले भनिन्, “यहाँ नर्सिङ स्टाफ र विद्यार्थीले पनि आफूअनुकूल कार्यक्रम राख्छन् । सबैको कार्यक्रममा म फुर्सदिलो नहुन सक्छु तर बुझ्नेले एउटा समूहलाई बायस ग¥यो भन्न सक्छन् त्यसैले म कुनैमा सामेल हुन्न ।”
…
भगवती सुवेदी
एटेन्डर, नारायणी सामुदायिक अस्पताल
अस्पतालमा काम गर्ने चिकित्सक र नर्स मात्र नभई उनीहरुलाई चाहिने सहयोगी हातहरु २४ सै घण्टा खटिने पेशाकर्मी हुन् । भरतपुर ११ की भगवती सुवेदीले नारायणी सामुदायिक अस्पतालमा एटेन्डर तहमा काम गर्न सुरु गरेको १२ वर्ष भइसक्यो । रोजगार भएयता तीजमा उनी कमै मात्र विदा बसेकी छिन् । विदा नमिल्ने भएकाले माइती पनि कमै जान्छु उनले भनिन् । दर खाने दिनमा डबल ड्यूटी गरेकी सुवेदीको तीजको दिनमा एक सिफ्ट ड्यूटी कायम छ । “तीजको ब्रत बसेर काम गर्छु”, सुवेदीले भनिन्, “पहिला–पहिला उमेर हुँदा त निराहार र निर्जल ब्रत पनि बसें । तर, अहिले सक्दिन त्यसैले फलफूल, दूध खाने गरेको छु ।”
गएको भदौ २३ गते शनिबार अस्पताल प्रशासनले तीज कार्यक्रम राखेको थियो । बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म भएको कार्यक्रममा सबै सिफ्ट ड्यूटीअनुकूल मिलाएर सहभागी भए । “अरुबेला डे«स मात्र लगाएर बसिन्छ, सारी लगाएर श्रृंगार गरी आउन पनि रहर नै हुन्छ”, उनले भने, “त्यो दिन सबैले सल्लाह गरेर सारी लगायौं, सबैले मिलेर दर खाएर नाचगान गरेर रमाइलो ग¥यौं ।”
तीज अउँदा उनलाई खुबै हर्ष लाग्छ । दिदीबहिनी भेट हुने र एकअर्काका कुरा सुन्ने दुःखसुख बाँड्ने मौका भएकोले पनि उनलाई तीज मन पर्छ । बिहेअघि बाबुआमाले सबै पु¥याउँथे, अहिले आफूले व्यवहार गर्नुपर्छ । चाडपर्वमा घरमा नबस्दा छोरीहरुले पनि खल्लो मान्छन् । तीजको बेला नभ्याएपनि तीजअघि वा पछि पारेर विदा मिलाई भेटघाटमा जाने गरेको उनले बताइन् । आफूले पनि तीजअघि नै मन मिल्ने साथीहरु अनि आफन्त बोलाएर दर खुवाएको उनले बताइन् ।
…
बालकुमारी सुवेदी मैनाली
सेल्सपर्सन, दीवा पेट्रोल पम्प
चितवनमा नै पहिलोपटक पेट्रोल पम्पमा महिला सेल्सपर्सनका रुपमा काम सुरु गरेकी बालकुमारी सुवेदी मैनालीले यस क्षेत्रमा काम गरेको १२ वर्ष पुगिसक्यो । बाह्रै महिना २४ सै घण्टा काम नरोकिने पेट्रोल पम्पमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म निरन्तर काम गर्दा वर्षदिनभरि एक दिनपनि विदा नबसेको अनुभवसमेत बालकुमारीसँग छ ।
“चाडपर्वको बेला पनि विदा नहुने, निरन्तर काम गर्नुपर्ने भएकाले गाह्रो लाग्थ्यो”, मैनालीले भनिन्, “अलि सहज काम गर्न पाए नि हुन्थ्यो जस्तो पनि लाग्थ्यो तर अहिले बानी परिसक्यो यसमा नै खुसी छु ।” बाल्यकालमा निकै अभाव झेलेकी बालकुमारीका कतिपय रहर आमाले पूरा गर्न सक्थिनन् । तीत दिदीबहिनीमध्ये माइली बालकुमारीले भनिन्, “दश जोड दुई सकेर काम सुरु गरें, जसले गर्दा अभाव कम गर्न निकै सहज भयो । त्यसैले पनि यो काम प्यारो लाग्छ ।” अहिले बालकुमारीले बिहान ७ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ८ बजेसम्म काम गर्नुपर्छ ।
बालकुमारीले पेट्रोल पम्पमा कामलाई निरन्तरता दिएकै कारण अहिले ३ जना महिला सेल्सपर्सन कामदार बढेका छन् । ३ जना पुरुष र ४ जना महिला सेल्सम्यान रहेकाले अहिले विदा मिलाउन पनि सहज छ । “तर, सबै एकैचोटि भने विदा बस्दैनौं । अत्यावश्यक सेवाअन्तर्गत काम गर्दा छुट्टै आनन्द आउने रहेछ”, उनले भनिन् ।
तीजको बेला धेरैले बोलाएपनि जान समय नमिलेकोमा उनले नरमाइलो मनाइन् । तीजको बेला दर खान बोलाउने आफन्त साथीकोमा जान नभ्याउँदा उनीहरुलाई नराम्रो लाग्दो होला भन्ने चिन्ता गर्ने बालकुमारी कार्यालयले खुवाउने दर पनि परिवारले नै खुवाएकोजस्तो अनुभव हुने बताउँछिन् । “एकै परिवारका दिदिबहिनी दाजुभाइ त मिल्न नसकेर झगडा पर्छ, यहाँ त फरक–फरक परिवेशका हामी एकैसाथ काम गर्छौं । यहाँ सँगै काम गर्ने परिवारमा फरकपनमा पनि आफ्नोपन भेटिन्छ”, उनले भनिन् ।
काममा व्यस्त हुनुपर्दा सधैं सबै रहर पूरा गर्न सम्भव नभएपनि समय मिल्दा साजसज्जामा रमाउन पछि नहट्ने बालकुमारीलाई तीजको दिन ब्रत बस्ने, नयाँ सारी, गरगहना र श्रृंगारमा सजिएर मन्दिर जाने र पूजा गर्न निकै रमाइलो लाग्छ । ब्रत तथा पूजा आराधनामा निकै आस्था राख्ने उनी तीजबाहेक अरु बेला पनि सातामा दुई दिन ब्रत बस्छिन् । २०७० सालमा विवाह गरेकी बालकुमारीका श्रीमान् पनि चितवनकै अर्को पेट्रोल पम्ममा कार्यरत छन् । कामप्रति श्रीमान् र परिवारको साथ निकै महत्वपूर्ण हुने उनले अनुभव सुनाइन् ।
गतवर्ष आमा गुमाएकी बालकुमारीलाई घरमा छोरी जस्तै व्यवहार गरिंदा घर नै माइतीजस्तो लाग्छ । “तीजमा समय मिले घर जाने सोच बनाएकी छु”, उनले भनिन् ।