प्रमिता ढकाल/कायाकैरन
भरतपुर,२६ भदौ ।विश्व स्वास्थ्य संगठनको सन् २०१५ को प्रतिवेदनानुसार नेपालमा वार्षिक कम्तीमा दुई सय जनाको ज्यान सर्पको डसाई (सर्पदंश)को कारण जाने गरेको छ । सर्पदंशको सही उपचार पद्धति अवलम्बन नगरेकै कारण स्वास्थ्य क्षेत्रको जटिल समस्याका रुपमा रहँदै आएको विज्ञहरुको अध्ययनले देखाएको छ ।
सर्पले डसेको भन्ने पुष्टि गर्नतर्फ लाग्नुभन्दा पनि बिरामी वा प्रत्यक्षदर्शीको भनाइलाई नै आधार मानेर ‘एन्टी स्नेक भेनम’ अर्थात प्रतिविष तत्काल सुरु गर्न ध्यान नदिएकै कारण समस्या विकराल हुने गरेको देखिन्छ । नेपाल सरकारले सर्पदंश व्यवस्थापनका लागि आर्थिक वर्ष २०५६÷५७ देखि देशभर स्वास्थ्यकर्मीलाई तालिम दिने गरेको छ । तर, पनि उल्लेख्य उपलब्धी हासिल हुन सकेको छैन । समस्या बढाउन मानवीय, प्राविधिक, व्यवस्थापकीयजस्ता विभिन्न पक्ष जिम्मेवार देखिन्छन् ।
“संर्पदंशको समय संवेदनशील हुन्छ”, सर्पदंशमा नेपालमै पहिलो पटक विद्यावारिधि गरेका डा. देवप्रसाद पाण्डेले भने, “यहाँ सर्पको डसाईबाट भन्दा सही समयमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था छ ।” सर्पले डसेको भनेर बिरामी आएपछि तत्काल प्रतिविष सुरु गर्दा फरक पर्दैन । तर, उसलाई चिकित्सककै निगरानीमा राख्न भने आवश्यक पर्ने पाण्डेले बताए । प्रतिविष दिइएका केही बिरामीलाई एलर्जीको समस्या पनि देखिन सक्ने भएकाले सावधानी अपनाउन चिकित्सकको निगरानीमा राख्नुपर्ने उनले बताए ।
सन् २०१५ मा सर्पदंशको विषयमा जर्मनीमा विद्यावारिधि गरेका डा. पाण्डे सन् २००५ देखि नै सर्प र सर्पदंशबारे विभिन्न अध्ययन अनुसन्धानमा सक्रिय रहदैं आएका थिए । सोमबार नेपाल पत्रकार महासंघ चितवनको सभाहलमा सर्पदंश र यसको उपचारबारे भएको छलफलमा डा. पाण्डेले नेपालमा सर्पदंशको उपचारमा गैरजिम्मेवारीपन हावी भएको आरोप लगाए । “डाक्टर मात्र उपलब्ध भएर सर्पदंशको उपचार सम्भव छैन”, उनले भने, “उपचारमा आवश्यक मानवस्रोत व्यवस्थापनतर्फ चासो नै गएको छैन ।” मानिसको स्वास्थ्यजस्तो संवेदनशील कुरामा पनि यहाँ कृत्रिम अभाव सृजना गरिन्छ, एन्टी स्नेक भेनम अर्थात प्रतिविषको बारम्बार हुने अभावबारे उनले टिप्पणी गरे ।
विषालु सर्पका प्रजातिमध्ये करेत र गोमनका प्रजाति चितवनमा अधिक पाइन्छन् । करेतका ६ समूह प्रजाति र गोमनका ३ प्रजातिले डसेका बिरामीलाई तत्काल अस्पताल पु¥याउन नसके बिरामीको अवस्था जोखिममा पर्न सक्छ । सर्पले डसेको बिरामीलाई देखिने केही सामान्य लक्षणलाई ध्यान दिने र प्राथमिक उपचार गर्दै अस्पताल प¥याए जोखिम कम हुने पाण्डेको भनाइ छ । सर्पले डसेको बिरामीले वमन गरेको भए, त्यो डसाई करेत सर्पकै हो भन्ने बुझ्नुपर्ने उनले बताए ।
“सर्पले डसेको मान्छेको आँखाबाट पनि धेरै कुरा थाहा हुन्छ”, उनले भने, “आँखा लठ्ठिदैं जाने, जिब्रो लरबराउनेजस्ता लक्षण देखा परे अस्पताल पु¥याउँदासम्म बिरामीलाई अचेत हुनबाट रोक्न निरन्तर बोलाइराख्न र जागा बनाई राख्नुपर्छ । कहिलेकांही रक्सी खाएको मानिसमा यो अन्यौल हुनसक्छ, त्यसबेला उसलाई जगाई राख्न जरुरी हुन्छ ।”
सर्पको बासस्थान ः
नेपालको मौसमको अनुकूलताले तराईमा मात्र नभई केही पडाडी इलाकामा पनि सर्पको लागि राम्रो बासस्थान उपलब्ध गराएको पाइन्छ ।
करेत सर्प ः समुद्री सहतबाट १५ सय मिटर उचाइसम्म पनि करेत सर्प भेटिएका छन् ।
गोमन सर्प ः गोमन सर्पका केही समूह प्रजाति समुद्री सहतबाट ३२ सय मिटर उचाइसम्म पनि भेटिएका छन् ।
सर्पदंशले कसलाई बढी असर गर्छ ?
नेपाली परिवेशमा सामान्यतः सर्पको डसाईका कारण महिलाभन्दा बढी पुरुषको मृत्यु हुने गरेको तत्थ्यांक छ । सर्पले महिला, पुरुष वा बालबालिकाभन्दा हिंडडुल गर्ने वा बासस्थान वरपर पुग्ने जोखिम समूहलाई डस्ने गरेको देखिन्छ । तर, मानिसको तौलअनुसार विषको प्रभाव पर्ने डा. पाण्डे बताउँछन् । सानो उमेरका र कम तौल भएकाको तुलनामा वयस्क र तौल बढी भएकालाई अलि ढिलो गरी असर गर्ने उनले बताए । विष फैलिन लाग्ने समयका कारण यसो हुने उनको भनाइ छ । “त्यसो त वयस्क करेत वा गोमन सर्पमा विषको मात्रा बढी हुने भएकाले तीनको डसाईले एक क्वीन्टल तौल हुने हात्तीको पनि मृत्यु हुनसक्छ । तर, मानिसको ज्यान भने बच्चा करेत वा गोमनको डसाईबाट पनि जोखिममा पर्छ”, उनले भने । सर्पको डसाईबाट कति विष शरीरमा प्रवेश गरेको छ भन्ने मापन गर्ने यन्त्र भने हालसम्म नेपालमै नभएको उनले प्रष्ट्याए ।
सर्पदंशबाट कसरी बच्ने ?
१.गर्मी मौसममा जमिन बाहिर पनि धेरै सर्प भेटिने हुँदा सकभर संम्भावित ठाउँहरुमा हिंड्दा सचेतता अपनाउने ।
२. रातको समयमा पनि उज्यालोको व्यवस्था गरेर हिंड्ने ।
३. यदि सर्पले डसी हाले बिरामी नआत्तिने, आत्तिएको बेला मुटुको चाल बढ्ने हुँदा विष छिट्टै फैलिन सक्छ ।
४.आफू्रलाई सर्पले डसेकोबारे नजिकै रहेका आफन्तलाई खबर गर्ने, बिरामीलाई प्राथमिक उपचार गर्दै जति सक्दो छिटो सर्पदशंका लागि आवश्यक औषधि प्रतिविष उपलब्ध स्वास्थ्य संस्थामा लैजाने ।
५. उपलब्ध भएसम्म डसेको सर्पको पहिचान गराउन मद्दत गर्ने । जसकारण सम्भावित जटिलताको पूर्वानुमान गर्न र सहज समाधानको लागि पूर्व तयारीमा सहयोग पुग्नेछ ।
६. करेत प्रजातिले डसेको थाहा भएमा डसेको ठाउँको केही भाग तलदेखि सोही अंगको माथिसम्म उपलब्ध भएसम्म क्रेप ब्याण्डेज वा गाउँघरमा उपलब्ध हुने ३ देखि ४ सेन्टिमिटर चौडाइ भएको सफा कपडाले कान्छी औला छिराउन मिल्ने गरी बेर्दै लैजानुपर्छ । डसाई हातमा छ भने हात हल्लिन नदिन कपडाको टुक्रा वा डोरी प्रयोग गर्न पनि सकिन्छ । डसाई खुट्टामा भएको हो भने पट्टी लगाइसकेपछि कडा खालको कुट वा प्लाई वा लौरीको सहायताले बानेर हल्लिन नसक्ने गरी राख्नुपर्छ ।
७. गोमन सर्पले डसेको ठाउँ सुन्निने र कुहिने हुँदा माथि उल्लिखित पट्टी लगाउनु उचित हुँदैन । गोमन सर्प नै हो भन्ने थाहा भएमा डसेको ठाउँमा घाउलाई सफा पानीले मांशपेशीमा दबाब नपर्ने गरी पखाल्ने, सफा कपडाको टुक्रा घाउमाथि राखेर नचलाई राख्ने । यो विधिलाई लोकल कम्प्रेशन प्याड विधि भनिन्छ ।
८.यदि सर्पको पहिचान नभए डसेको अंग र सम्पूर्ण शरीरलाई अचल राख्दै बिरामीलाई जति सक्दो छिटो प्रतिविष उपलब्ध हुने अस्पतालमा लैजानुपर्दछ ।
९. अरुलाई सर्पले नडसोस् भन्नका लागि सर्प भेटिने संभावित ठाउँबारे अरुलाई पनि जानकारी गराई सर्तक गराउने ।
के बाच्नै सकिन्न सर्पदंशबाट ?
के बाच्नै सकिन्न सर्पदंशबाट ?
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस