विप्लव काफ्ले/कायाकैरन
भरतपु,२४ भदौ ।भरतपुर अस्पतालको ‘ए व्लक’ मा सानो बोर्डमा ‘मदन भण्डारी ट्रमा सेन्टर’ लेखिएको छ । ३ वर्ष पहिले लेखिएको यो बोर्ड ठुलो हुन सकेन । अस्पतालको हाडजोर्नी विभाग जस्तो बन्न पुग्यो ।
सुरुको वर्ष बजेट परेपनि सेन्टरको नाममा अस्पतालले बजेट पाउन सकेन । ट्रमा सेन्टर लेखिएको यो बोर्ड हटाउने वा राख्नेमा अस्पताल अन्यौल छ । त्यो बोर्ड हटाएर हाडजोर्नी विभाग कायम गर्ने भन्ने चर्चा हुन थालेका छन् । झण्डै ९० किमि राजमार्ग पर्ने चितवन सवारी दुर्घटना अधिक हुने जिल्लामा पर्छ । चितवनमा दुर्घटनाका धेरै बिरामीको एकै पटक उपचार गर्नसक्ने क्षमतका अस्पताल छैनन् । भरतपुर अस्पतालमा दैनिक करिव १ सय ५० जना हाडजोर्नी बिरामी तथा घाइतेले बहिरंग सेवाबाट उपचार लिन्छन् । यस्तै अर्थोपेडिक्स सम्बन्धि दैनिक करिव १० वटा अप्रेशन हुन्छ । सरकारी अस्पताललाई ट्रमा सेन्टरका रुपमा विकास गर्ने अवधारणा सहित मन्त्रालयमा प्रस्ताव पठाएको थियो । तत्कालिन अस्पताल विकास समिति अध्यक्ष विजय सुवेदी र तत्कालिन मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. रुद्रप्रसाद मरासिनीले पहल गरेका थिए । स्वास्थ्य २०७२ असोजमा मदन भण्डारी ट्रमा सेन्टर का लागि कार्यक्रम स्वीकृत भयो । फागुन चैत्रमा २ करोड र पछि ४ करोड बजेट निकासा भयो ।
तत्कालिन स्वास्थ्य मन्त्री खगराज अधिकारी पछि बनेका मन्त्रीहरुले यो कार्यक्रमलाई अघि बढाउन चाहेनन् । ट्रमा सेन्टर बनाउने योजना अधुरो बन्यो । “पहिलो वर्ष बजेट आएपनि पछि बजेट आउन सकेन”, अस्पताल विकास समितिका पूर्वअध्यक्ष तथा सांसद विजय सुवेदीले भने, “अतिरिक्त बजेट आउनै छाड्यो, ट्रमा सेन्टर बनाउने योजना बीचमै अलपत्र बन्नु दुखद हो ।” चितवनकै दासढुङ्गामा सवारी दुर्घटनामा ज्यान गुमाएका तत्कालिन एमालेका महासचिव भण्डारीको सम्मान पनि हुने र घाइते बिरामीको उपचार सहज हुने परिकल्पना गरेरै ट्रमा सेन्टरको अवधारणा बनाइएको उनी बताउँछन् । “कार्यक्रम स्वीकृत हुँदा निकै खुशी थियौँ, चितवन आसपासका बिरामीले सहजै उपचार पाउने भए भन्ने लाग्थ्यो”, उनी भन्छन्, “पछि ट्रमा सेन्टर प्राथमिकतामा नपर्दा निराश बनेका छौँ ।” हाडजोर्नी विभागनै सारेर ‘ए’ व्लकको भुइतलामा सारिएको थियो । “ट्रमाको राम्रो विभागका रुपमा विकास गरौँ भनेर उबेला स्वास्थ्यमन्त्रीले भन्नुहुन्थ्यो”, उनी सम्झन्छन्, “मन्त्री फेरिएपछि काम बीचमै अड्कीयो ।”
ट्रमा सेन्टरको नाममा आएको अतिररिक्त बजेटबाट ए व्लक भवनमा अक्सिजन प्लाण्ट, पोष्ट अपरेटिङ वार्डमा मनिटरिङ, ओटी आइसीयु लगायतका पूर्वाधार विकास भए । पछि आएको ४ करोड बजेटबाट सीटि स्क्यान मेसिन र अन्य अत्याधुनिक उपकरण जडान भए । ट्रमा सेन्टरको छुटै भवन बनाउने प्रस्ताव मन्त्रालयमा पुग्यो । तर, ‘सी व्लक पुरा नहुञ्जले बजेट दिन मिल्दैन’ भन्ने जवाफ अस्पतालले पाएको थियो । सी व्लकमै भएपनि ट्रमा सेन्टरलाई व्यवस्थित बनाउने योजना बढाउन खोजिएको थियो । “ट्रमा सेन्टरलाई ५० शैयाको बनाउने, १४ करोड खर्चेर छुटै भवन बनाउने गरी लगत स्टीमेट मन्त्रालयमा पाइल पठायौँ”, पूर्व मेसु रुद्र प्रसाद मरासिनी भन्छन्, “तर, बजेटले निरन्तरता पाउन सकेन ।” उनी हाडजोर्नी तथा नसा रोग विषेशज्ञ चिकित्सक हुन् । अस्पतालमा सबैप्रकारको अर्थोपेडिक्सको उपचार हुने गरेपनि सेवालाई विशिष्टिकृत गर्न समस्या भएको बताउँछन् । अस्पतालमा ६० शैयाको हाडजोर्नी विभाग र १२ शैयाको स्पाइनल इञ्जुरी सेन्टर छ । यी विभागमा ८ जना विशेषज्ञ चिकित्सक छन् । हाडजोर्नी नखोली अपे्रशन (विना अप्रेशन) र हाडजोर्नीको प्रत्यारोपण लगायतका उपचार हुने गरेको छ ।
“१ सय बढी घाइते बिरामी आउँदा पनि सहजै अर्थोपेडिक उपचार दिन मिलोस भन्ने अवधारणा हो”, उनी भन्छन्, “बिरामीको टाउको, मुख, छाती, पेट, हातखुट्टामा चोट लाग्दा एकैपटक प्याकेजमा सहजै उपचार गर्न सकियोस्, यो हामीले चाहेको हो, तर ट्रमा सेन्टर बनाउनै अलमल भयो ।” अस्पतालको १ हजार शैया बनाउने गरी गुरुयोजना मन्त्रालयबाट स्वीकृत भैसकेको छ । “दुर्घटना बढी हुन क्षेत्रका रुपमा चितवन हेरिन्छ, धेरै टाडाबाट घाइते बिरामी आउँछन्”, उनले भने, “गुरुयोजनामा ट्रमा सेन्टर भवन पनि छ, तर बजेट परेको छैन ।”
भरतपुर अस्पतालका मेसु रविन खड्काले केन्द्रीय अस्पताल बनेपछि ट्रमा सेन्टर स्वतः विकास हुने बताउँछन् । “१÷२ दिनमा मन्त्रीपरिषद्बाट कम्तिमा ७ सय शैयाको केन्द्रीय अस्पतालका रुपमा स्वीकृत हुदैछ”, उनले भने, “त्यसपछि ट्रमाको उपचारलाई विस्तार र व्यवस्थित गर्ने थप काम अवश्य हुनेछ ।” उनले त्रिवि शिक्षण अस्पतालको मोडेल जस्तै भरतपुर अस्पताल बन्ने भएकाले ट्रमा सेन्टरको गुनासो समाधान हुने बताए । राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेलाई प्रायः निजी अस्पताल लाने गरिन्छ । दुर्घटनाका घाइतेलाई पहिलो उपचार गन्तव्य भरतपुर अस्पतालमा अनिवार्य लैजानुपर्ने जिल्लास्तरको निर्णय भएपनि कार्यान्वयन हुन सकेको छैन । ट्रमा सेन्टर बनेमा सरकारी अस्पतालनै पहिलो रोजाईमा पर्ने चिकित्सकहरु बताउँछन् ।
भरतपुरको मदन भण्डारी ट्रमा सेन्टर अलपत्र
भरतपुरको मदन भण्डारी ट्रमा सेन्टर अलपत्र
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस