विप्लव काफ्ले/कायाकैरन
रामनगर,२४ भदौ ।यात्रुबाहक तथा मालवाहक सवारीको यान्त्रिक अवस्था कमजोर हुने गरेको पाइएको छ । चितवन अटो मेकानिकल व्यवसायी संघको २२ औं स्थापना दिवसको अवसर पारेर भरतपुर–१ रामनगरमा शनिबार सवारीको यान्त्रिक परीक्षण र चालकको स्वास्थ्य परीक्षण गरिएको थियो । बढी दुर्घटनाग्रस्त क्षेत्र मानिने नारायणगढ मुग्लिङ सडक खण्डमै चल्ने सवारीको यान्त्रिक अवस्था त्रुटी फेला परेका छन् ।
संघमा आवद्ध प्राविधिक (मेकानिक) ले सवारीको यान्त्रिक परीक्षण गरेका थिए । चितवन मेडिकल कलेजको प्राविधिक सहयोगमा चालकको स्वास्थ्य परीक्षण गरियो भने भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा चालकका आँखा परीक्षण (भिजन टेस्ट) गरिएको थियो । “अधिकांस सवारीको नटबल्टु झरेको अवस्था भेटियो, केहीको ब्रेक सोलनै फेर्नुपर्ने पाइयो”, संघका अध्यक्ष राम लोहनीले भने, “चालकले नियमित सवारीको ‘कण्डिसन’ नहेरेको पाइयो ।” उनका अनुसार परीक्षण भएका १ सय ठुला र ३२ मझौला तथा साना सवारी मध्ये अधिकांसमा टायर पुराना, गोटी खिइएको अवस्था पाइएको छ । यस्तै अगाडी तथा पछाडी हेर्ने सीसा तथा ऐना कोरिएको अवस्था भएको पाइएको छ । “हेर्दा सामान्य लाग्छ, तर यीनै कारणले सवारी नियन्त्रित हुन नसक्दा दुर्घटना हुने सम्भावना बढी हुन्छ”, उनले भने, “बेला बेलामा सवारी मर्मत तथा चेकजाँच कार्यलाई वेवास्ता गर्नुहुदैन ।”
वाइपर नचल्ने, किङपिनमा ग्रीज सुख्खा भएको, स्टेरिङ जाम लगायतका समस्या यान्त्रिक परीक्षणका क्रममा भेटिएका छन् । संघका कोषाध्यक्ष प्रकाश पाठकले ३५ जना प्राविधिकले यान्त्रिक परीक्षण गरेको बताए । “ब्रेक, स्टेरिङ, सस्पेन्सन, पावर ट्रान्समिसन, लाइटिङ, अटो इलेक्ट्रिकल लगायतका अवस्था परीक्षण गरेका छौँ”, उनले भने, “परीक्षण फारमनै चालकलाई दिएका छौँ, सोही अनुसार मर्मत गर्न सुझाएका छौँ ।” अटोमेकानिकल व्यवसयाी दुर्गाप्रसाद भट्टराईले यात्रु बोक्न वा सामान ओसार्न हतार गर्ने तर आफ्नो सवारीको अवस्थाबारे हेलचक्रयाई गर्नु नै दुर्घटना निम्त्याउने कारण बन्न पुग्ने खतरा बढेको बताए । “जेनयुन सामान राख्नुप¥यो, बेलाबखत परीक्षण गराउनुप¥यो”, उनले भने, “चक्कामै पुरा नट छैन, कहाँ फुत्किन्छ ठेगान हुदैन, बैलैमा सोच्नुपर्छ ।”
संघले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनसँग समन्वय गरेर यान्त्रिक परीक्षण शनिबार गरेको हो । “दुर्घटना चालकको लापरवाही हो भनिन्छ, तर सवारीकै अवस्था ठिक नहुदा पनि दुर्घटना हुने गरेका छन्”, चितवन ट्राफिक प्रमुख वेदप्रसाद गौतमले भने, “हरेक महिना कम्तिमा १ पटक हाइवेमा चल्ने सवारीको यान्त्रिक परीक्षण र चालकको स्वास्थ्य परीक्षण गर्ने कामलाई निरन्तरता दिने सोचमा छौँ ।” यस्तै स्वास्थ्य परीक्षणका क्रममा १५ जना चालकको दृष्टि कमजोर रहेको पाइएको छ । “चालकले राम्रोसँग देख्दैन, ऐन मधुरो अवस्थाका भेटिए”, उनले भने, “यस्ता कमजोरी हटाउन सवारीधनी र चालकलाई सचेत गराउने कामलाई अभियानका रुपमा लैजान्छौँ ।”
प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर ३ का प्रमुख ट्राफिक प्रहरी उपरीक्षक नविनराज राइले ट्राफिक व्यवस्थापन र सडक सुरक्षाको लागि वैज्ञानिक सडक पूर्वाधार, गुणस्तरीय सवारी साधन र सचेत सवारीचालक र सचेत नागरिक हुनुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले सडक, साधन र सवारीचालक स्वस्थ हुनुपर्ने भन्दै दुर्घटना न्यूनीकरणमा सहयोगी हुने बताए । भरतपुर महानगरपालिका मेयर रेनु दाहालले यात्रु तथा चालकलाई यात्रा सुरक्षाबारे सचेत गराउन अभियानात्मक कार्यक्रम गरिनुपर्ने बताइन् । उनले महानगरमा छिटै अत्याधुनिक अटोल्याण्ड निर्माण हुने बताइन् । आर्थिक वर्ष २०७४÷७५ मा २ सय ७१ वटा सवारी दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्यांक छ । गत वर्ष १ सय ३२ जनाले ज्यान गुमाए भने ५ सय २९ जना घाइते बने । चालु आर्थिक वर्षमा २६ वटा सवारी दुर्घटनामा परेका छन् । ११ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् ।
जोखिम बोकेर गुड्छन सवारी
जोखिम बोकेर गुड्छन सवारी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस