चितवन, २४ भदौ ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ चितवन विवाद रहित कहिल्यै रहेन । अहिले त झनै यो विवाद उत्कर्षमा पुगेको छ ।
नेतृत्व विवादले नेविसंघ चितवनमा भाँडभैलो मच्चिएको छ । पार्टी नेतृत्वले आफ्नो विरासतका लागि पकडमा राख्न खोजेपछि नेविसंघका नेताहरु पार्टीको जिल्ला नेतृत्वसँग रिसाएका छन् ।
माउ पार्टीले नै जिल्ला अधिवेशन भाँड्न खोजेको आरोप विद्यार्थी नेताहरु लगाउँछन् । जिल्ला अध्यक्ष भएका सूर्य ढकालले विधानविपरीत जिल्ला समिति पुनःगठन गरेको भन्दै एक समूह रुष्ट छ ।
केन्द्रीय अध्यक्ष नैनसिंह महरले विज्ञप्ति जारी गरेर १२ औं महाधिवेशनको घोषणासहित सर्वसम्मतिबाहेकका जिल्ला समिति खारेज गरेसँगै ढकाल नेतृत्वको चितवन जिल्ला समितिको पनि वैधानिकता सकिएको छ । तर, उनले आफू नै अध्यक्ष रहेको भन्दै अहिलेसम्मकै सबैभन्दा ठूलो समिति बनाएका छन् ।
उनले बनाएको ७१ सदस्यीय जिल्ला समितिमा उपाध्यक्ष मात्रै ११ जना छन् । त्यस्तै सचिव दुई जना र १५ जना सहसचिव राखेका छन् । सबैलाई भाग पु¥याउन धेरैलाई समेटे पनि समितिमा राखिएकाहरु नै रुष्ट छन् ।
धेरैले विज्ञप्ति नै जारी गरेर असहमति जनाइसकेका छन् । नेविसंघ आन्दोलनमा खासै भूमिका नभई केन्द्रको पत्रले सभापति भएको आरोप ढकालप्रति एक पक्षले लगाउँछ ।
६ वर्षअघि नेपाल विद्यार्थी संघका तत्कालीन केन्द्रीय अध्यक्ष रञ्जित कर्णबाट ढकालले अध्यक्षको चिठी पाएका थिए । त्यसपछि नेविसंघ चितवन दुई ध्रुवमा विभाजित भयो । निर्वाचन गराउने जिम्मेवारी बोकेका ढकालले निर्वाचन गराउनु त कता हो कता संगठन एक ढिक्का गर्न पनि सकेनन् ।
“संगठन गर्न पूर्णतया असफल र नेविसंघमा कुनै भूमिका नभएका सूर्य ढकाललाई नै निरन्तरता दिन एक समूह लागिरहेको छ”, असन्तुष्ट एक विद्यार्थी नेता भन्छन्, “यसरी नेविसंघ रहदैन, कयौंको योगदान अवमूल्यन हुन्छ ।” ढकाल जोगाउन कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठ, उपसभापति कैलाश कोइराला, महासमिति सदस्य डा. सूर्यकान्त घिमिरेलगायत लागिपरेको ती नेता बताउँछन् ।
उनीहरुले ढकाललाई नै मानेर अघि बढ्न दबाब दिएपनि असन्तुष्ट समूह तयार भएका छैनन् । केही पदाधिकारी भने ढकालको पक्षमा दिलोज्यान दिएर लागेका छन् । तर, यसअघि उनकै पक्षमा लागेका क्षेत्रीय सभापतिहरु नै उनको विरोधमा छन् । सिष्टमको विकास हुनुपर्ने भन्दै उनीहरु विरोधमा उत्रिएपछि टिमको नाम देखाएर विज्ञप्ती फिर्ता गर्न काग्रेसका नेताले आग्रह गरेका छन् ।
नेविसंघ चितवनको अधिवेशन रोक्न त्यतिबेलाका केन्द्रीय प्रतिनिधि अञ्जन चौलागाईंलाई दबाब दिएका थिए । तर, चौलागाईंले अधिवेशन नरोक्ने भन्दै आफ्नो अधिकार प्रयोग गरेर अरुणेश्वर खनाललाई अध्यक्ष बनाए । पार्टीको जिल्ला समितिको कुरा अटेर गरेको भन्दै केन्द्रबाट चिठी ल्याएका सूर्य ढकाललाई आधिकारिक भएको बताएपछि नेविसंघको दुईवटा समिति देखिएको छ ।
खनाल पक्षकालाई पार्टीको जिल्ला समितिले निषेधको राजनीति गरेपछि नेविसंघको संगठन धरापमा परेको हो । आफू नै अध्यक्ष भएको भन्दै ढकालले आफ्ना पक्षधरलाई चिठी दिएर इकाई अध्यक्ष बनाएपछि त्यसले झन् विवाद बढाएको छ । उनले कतिपय इकाई सभापतिलाई जिल्ला समितिमा राखेपछि इकाई समिति के हुने भन्ने देखिएको छ ।
यता नेविसंघमा अध्यक्षको पत्र पाएको भनेर चर्चामा आएका परमेश्वर खनाल आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् । आफूले जिम्मेवारी पाए अधिवेशन गर्ने बताएका खनाल असन्तुष्ट पक्षलाई समेट्ने दाउमा छन् ।
कांग्रेस जिल्ला सचिव उत्तम जोशीको कार्यकालपछि नै नेविसंघ चितवनमा विवाद सिर्जना भएको हो । पार्टीको जिल्ला नेतृत्व नेविसंघ विवाद मिलाउन पूर्णतया असफल देखिन्छ । यसअघिका जिल्ला सभापति टेकप्रसाद गुरुङ र त्यसबेलाका सचिव जीतनारायण श्रेष्ठ अहिलेका पार्टी सभापति भएपनि विवाद मिलाउन असफल भए ।