भरतपुर, २३ भदौ ।
लामो समयदेखि पुस्तक व्यवसायमा क्रियाशील लेखराम सापकोटाले सबैखाले किताब उपलब्ध हुने गरी नयाँ पसल सञ्चालनमा ल्याएका छन् । सुनगाभा बुक हाउस सञ्चालन गरिरहेका उनले बालकुमारी कलेज रोड नारायणगढमा ‘सम्पूर्ण किताब’ सञ्चालनमा ल्याएका हुन् ।
अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर शनिबार पसल शुभारम्भ गरिएको हो । गैंडाकोट–७ की विपन्न छात्रा ममता चितौरेलाई शैक्षिक सामग्री प्रदान गरी चितवनका अग्रज साहित्यकार एलबी क्षेत्रीले पसल शुभारम्भ गरे । ११ वर्षीय ममता स्थानीय नारायणी माविमा कक्षा ४ अध्ययनरत छिन् । कोही पनि बालबालिका शैक्षिक सामग्री अभावले पढ्नबाट वञ्चित नहोउन् भन्ने सन्देश दिन प्रतीकात्मकरुपले पसल शुभारम्भ गरेको सञ्चालक सापकोटाले बताए ।
सम्पूर्ण किताबमा सबैखाले किताब उपलब्ध हुने उनले जनाए । “पाठ्यपुस्तकका केही कम राख्छौं”, उनले भने, “त्यसबाहेक साहित्य, कानून, इतिहास, भूगोल र विभिन्न भाषाका किताब हामीसँग हुनेछ ।” प्रमुख अतिथि साहित्यकार क्षेत्रीले पठन संस्कृति विकास गर्न सापकोटाले निर्वाह गरेको भूमिका अतुलनीय भएको भन्दै प्रशंसा व्यक्त गरे ।
कार्यक्रममा सहभागी दर्जनौं साहित्यकार तथा प्रतिष्ठित व्यक्तिहरुले सम्पूर्ण किताब सम्पूर्णका लागि पुस्तकालय समान हुने अपेक्षा व्यक्त गरे ।