धु्रवराज खनाल/कायाकैरन
२२ भदौ ।
रत्ननगर नगरपालिकाले गर्ने कार्यसम्पादनको जानकारी लिनुका साथै सेवासमेत अब मोबाईलबाटै लिन पाइने भएको छ । नगरपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विस्तार गरिएको मोबाईल एप्लिकेशनमार्फत यहाँको कार्यसम्पादन हेर्न मात्रै नभई सेवासमेत लिन पाउने भएका हुन् ।
प्रविधिको प्रयोगलाई बढाउने क्रममा रत्ननगरले नयाँ प्रयोग स्वरुप मोबाईल एप्लिकेसन शिहीशारदेखि सुरु गरेको हो । एप्लिकेसनको शुभारम्भ गर्दै प्रदेश सभा सांसद् कृष्ण खनालले प्रविधिको विकासले आमजनताले नगरपालिकाबाट भए गरेका कार्यसम्पादनलगायत काम हेर्न सक्ने भएकाले नगरको विकासमा यो प्रविधिले टेवा पुग्ने बताए । यो एप्लिीकेसनमार्फत नगरभित्रका विभिन्न ४० वटा फिचरमार्फत सेवा प्रवाहबारे सर्वसाधारणले जानकारी लिन सक्नेछन् ।
त्यहाँबाट नगरका प्रमुख, उपप्रमुखसहित कर्मचारीहरु को कहाँ छन् भन्नेबारे जानकारी लिन सकिन्छ भने कार्यसम्पादनलगायत विषयमा उजुरी तथा गुनासासमेत पठाउन मिल्ने व्यवस्था मिलाइएको छ । सो एप्लिीकेसनमार्फत पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, कला, संस्कृति, सूचना तथा वार्षिक कार्यक्रम, मासिक आम्दानी, फोहरमैला संकलन तालिका, उजुरी, गुनासा, गृह नक्सापास, सामाजिक सुरक्षालगायत हेर्न सकिनुका नक्सापासका लागि घरबाटै आवेदन दिन सकिने नगरपालिका प्रमुख नारायण वनले बताए ।
त्यस्तै नगरपालिकालाई फ्री वाईफाई जोन बनाउनेसमेत रत्ननगरको तयारी छ । जनप्रतिनिधिले स्थानीय तहको चुनावका बेला नगरलाई फ्री वाईफाई जोन बनाउने पनि घोषणापत्रमा राखेका थिए । सोहीअनुरुप रत्ननगरको सौराहा चोक, टाँडीचोक, कृष्ण मन्दिर, धर्मधाम जिरौना, जयमंगला, चरा चोक, हात्ती चोक, गैंडाचोकलाई वाईफाई जोन बनाउन लागिएको प्रमुख वनले बताए । “परम्परागतरुपमा गरिदै आएको कार्यसम्पादनलाई परिस्कृत गर्दै प्रविधिमैत्री बनाउने प्रयास गरेका छौं”, नगर प्रमुख वनले भने, “प्रविधिको विकासले नगरको कार्यसम्पादन छिटो छरितो, योजनाका काम पारदर्शी हुने हाम्रो विश्वास छ ।”
यसअघि रत्ननगरले प्रविधिको प्रयोगलाई जोड्ने क्रममा विद्युतीय हाजिरी, शिशु नर्सरीका विद्यार्थीका लागि टिभी वितरण, अनलाईनमार्फत नक्सापास, अनलाईन घटना दर्ताको काम गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगानाले बताए । उनका अनुसार नगरपालिकालाई ‘पेपरलेस’ (कागजविहीन) बनाउनका लागि सम्पूर्ण वडालाई दैनिक पत्राचार र सञ्चार इमेल सर्भरद्वारा जोडिएको, नगरपालिकाको सम्पूर्ण वडालाई उच्चगतिको फाईवर इन्टरनेटको व्यवस्था, घर नक्सापास प्रणालीलाई व्यवस्थित बनाउनका लागि अनलाईन घर नक्सापास लागू गरिएको, व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षालाई अनलाईन प्रणालीबाट लागू गरिएको छ ।
त्यस्तै नगरपालिकाको सम्पूर्ण सार्वजनिक यातायात र एम्बुलेन्सलाई जीपीएस प्रविधिमार्फत जोड्नका लागि प्रविधि विस्तार गरिएको, ठेक्का पट्टा प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउनका लागि इप्रोकुमेन्टमार्फत काम सुरु गरिएको, नागरिक बडापत्रलाई डिजिटल बनाइएको छ भने योजना र जिन्सी शाखालाई व्यवस्थित वनाउनका लागि सफ्टवेयर विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ । मोबाईल एप्लिकेसन शुभारम्भका क्रममा नगरपालिकाका सूचना प्रविधि अधिकृत रवि तिवारीले एप्लिकेसनबारे जानकारी गराएका थिए । नगरप्रमुख नारायण वनको अध्यक्षतामा भएको कार्यक्रम कार्यपालिका सदस्य राजेन्द्र हमालले सञ्चालन गरेका थिए ।