विप्लव काफ्ले/कायाकैरन
भरतपुर,२० भदौ । नारायणी नदीले स्पर (नदी कटान रोक्न बनाएको बाँधको ड्याम) भत्काएपछि भरतपुर–२७ र २८ का नदी तटीय क्षेत्रका स्थानीय त्रसित बनेका छन् । २७ र २८ नम्बर वडाको सीमा नजिकैको निउरेचोक नजिकैको स्पर भत्किएपछि बाढीको जोखिम बढेको हो । स्पर भत्किएसँगै नजिकका सडकमा समेत क्षति पुगेको छ ।
केही वर्ष पहिले मेघौली र गोलाघाट क्षेत्रको नारायणी नदी किनारमा ठूलो बजेट खर्चेर तटबन्धन गरिएको थियो । “जनताको तटबन्धन कार्यक्रमअन्तर्गत बनाइएको स्पर भत्काएको छ”, भरतपुर–२७ का वडाध्यक्ष गोविन्द तामाङले भने, “मुखैका २ घर उच्च जोखिममा छन्, अलि परका ७ घर पनि जोखिममा छन् ।” ब्लकबाट बनेका टिनले छाएका दुई घर भत्केको ठाउँ नजिकै छन् । स्पर भत्किएपछि नदीको बहाव बस्ती पस्ने खतरा बढी भएकाले उच्च सतर्कता अपनाइएको जानकारी दिए । “तीन दिनदेखि परेको पानीले स्पर भत्केको हो”, उनले भने, “भत्केको ठाउँबाट बाढी पसेमा मेघौली क्षेत्र नै डुवानमा पर्ने जोखिम छ ।”
नारायणी नदीमा पानीको बहाव बढ्दै जाँदा स्पर कटान हुने क्रम बढेकाले त्रास बढेको उनको भनाइ छ । “करिब ११ मिटर स्पर भत्किएको छ, स्लोविङको भाग बगाएको छ, माटो मात्रै देखिन्छ”, भरतपुर–२८ का वडाध्यक्ष आशबहादुर कुमालले भने, “पुरानो जालीनै बगाएको छ, कटान हुने खतरा बढेको छ ।” उनका अनुसार यही भत्केको ठाउँबाट बाढी पसेमा मेघौली क्षेत्र डुवान गर्दै राप्ती नदीमा बाढी मिसिने सम्भावना बढी छ । “२ दिन पहिले भत्केको ठाउँमा स्याउला राखेर बाढी रोक्ने प्रयास भएको थियो”, उनले भने, “नदीको बहाब बढ्दै जादा स्पर भत्कदै गयो ।”
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख शुसिलसिंह राठौरले ड्याम भत्केको थाहा पाएपछि स्थानीयसँग सहकार्य गरेर सुरक्षाकर्मीले तारजाली राखेको जानकारी दिए । “विहानै (मंगलबार) देखि ढुङ्गा भरेर जाली राखेका छौँ”, उनले भने, “भत्केको ठाउँ पुरेका छौँ, फेरी अन्यत्र ड्याम भत्किने वित्तिकै मर्मत गर्न तयारी अवस्थामा छौँ ।” मंगलबार दिनभर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले भत्केका ड्याम मर्मत गरेका थिए ।
जल तथा मौसम विज्ञान अन्र्तगतको बाढी पूर्वानुमान शाखाले बुधबार र बिहीबार पनि केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरेको छ । पश्च्मि राप्ती, बबई लगायतका पश्चिम भागको चुरे र पहाडबाट बहने केही नदीमा मंगलबार राती बहाब बढ्ने अनुमान गरिएको छ । सप्तकोशी, कन्काई, बागमती, नारायणी लगायतका नदीमा बिहीबार बहाब सर्तकता भन्दा कम हुने अनुमान गरिएको छ । मंगलबार साँझ ६ बजे जल तथा मौसम विज्ञान विभागले मापन गरेको बाढी मापनअनुसार नारायणी नदीको नारायणी पुलमुनीको बेसिनमा ९.४२६ र देवघाट बेसिनमा ५.१६१ मिटर मापन गरिएको छ ।
नारायणी पुलमुनीको बेसीनमा ११ र देवघाटमा ७.६३ मिटरलाई खतराको तह मानिन्छ । यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार सूचना जारी गर्दै नारायणी नदीले कटान गरी आसपासका वस्तीमा बाढी पस्ने सम्भावना देखिएकाले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । प्रशासकीय अधिकृत रामचन्द्र ढकालबाट जारी सूचनामा साविक मेघौली १, २ र ३ का सालबास, सिसाबास पर्साबजार, लौखरी, गोलाघाट र अनौली आसपासका वस्तीमा बाढी पस्ने सम्भावना रहने भन्दै सर्तक रहन आग्रह गरिएको छ ।
मेघौलीमा नारायणी गाउँ पस्ने खतरा
मेघौलीमा नारायणी गाउँ पस्ने खतरा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस