धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,२० भदौ ।नदीजन्य पदार्थ उत्खनन्् गर्न भदौ मसान्तसम्म रोक लगाइएको छ । कुनैपनि काम देखाएरसमेत योबेला खोलाबाट गिटी, बालुवा उत्खनन्् गर्न पाइदैन । तर, चितवनको रत्ननगर र खैरहनी नगरपालिका भएर बग्ने कयर खोलामा अवैध उत्खनन्् कार्य रोकिएको छैन ।
ठेक्का सम्झौताको समय सकिएपनि व्यवसायीले आफूखुसी गिटी उत्खनन्् गरिरहेको गुनासो आउन थालेको छ । दिउँसोको समयमा स्थानीयबासी तथा प्रहरीले अवरोध गर्ने डरले त्यस्ता व्यक्तिहरुले अहिले रातको समयमा गिटी उत्खनन् गरिरहेको रत्ननगरका एक वडाध्यक्षले बताए । “तस्करहरुले गिटी उत्खनन् गर्न समय बदलेका छन्”, ती वडाध्यक्ष भने, “रातको १२ बजेदेखि २ बजेसम्म पनि उत्खनन् गरिरहेको पाइएको छ, यस्तो कार्य रोकिनु पर्छ ।” उनीहरुले सावेलको प्रयोग गरेर गिटी उत्खनन्् गरेका छन् ।
“उत्खनन् भएको जानकारी बारम्वार प्रहरीलाई गराउँदा कुनै प्रतिक्रिया पाइदैन”, ती वडाध्यक्षले थपे, “प्रहरीको यस्तो कार्यले उनीहरुकै मिलेमतो रहेको बुझ्न सकिन्छ ।” उत्खनन् गर्ने समय अहिले नहुनु र स्टक रहेका नदीजन्य पदार्थ सकिदै जाँदा मूल्य आकासिने भएकाले अहिले रातको समयमा अवैध उत्खनन् भएको हुन सक्ने बुझाइ उनको छ ।
कयर खोलाबाट अवैध उत्खनन् भइरहँदा रत्ननगर र खैरहनी नगरपालिकाले संयुक्तरुपमा यस्तो कार्य रोक्न पहल गरेका छन् । सो खोलाबाट गिटीको चरम दोहन भएपछि स्थानीय सरकारको रुपमा रहेको यी दुई नगरपालिकाले कडाइ गर्ने निर्णय गरेको खैरहनीका मेयर लालमणि चौधरीले बताए । रत्ननगर नगरपालिकामा मंगलबार बसेको दुई नगरपालिकाका मेयर र वडाध्यक्षहरुको बैठकले अवैध उत्खनन् संयुक्तरुपमा रोक्ने निर्णय भएको हो ।
गिटी उत्खनन् गर्न स्थानीय सरकारलाई अधिकार भएपनि अहिलेसम्म जिल्ला समन्वय समितिमार्फत ठेक्कापट्टा हुँदै आएको थियो । तर, आगामी असोजदेखि स्थानीय तहले नै ठेक्का लगाउने तयारीसमेत गरेका छन् । अहिले अवैधरुपमा भइरहेको गिटी निकासी रोक्न दुवै स्थानीय तहले प्रहरी र स्थानीयबासीसँग समन्वय गर्ने र आगामी दिनमा कसरी अघि बढ्न सकिन्छ भन्नेबारे बैठकमा छलफल भएको रत्ननगरका प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगानाले बताए ।
कयर खोलामा भइरहेको उत्खनन् रोक्न दुवै स्थानीय तह खट्ने र दुई दिन कुर्ने, अझै उत्खनन् भइरहे सशस्त्र प्रहरी परिचालन गरेरै भएपनि रोक्नका लागि प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने खैरहनीका मेयर लालमणि चौधरीले बताए । अवैधरुपमा भइरहेको उत्खनन् रोक्न स्थानीय प्रहरीबाट प्रभावकारीरुपमा सहयोग नपाएको गुनासोसमेत आइरहेको छ । “हाम्रो सम्पत्ति हेर्दाहेर्दै सकिने अवस्थामा पुग्यो”, रत्ननगरका मेयर नारायण वनले भने, “अवैध कार्य रोक्न स्थानीय सरकार कडारुपमा प्रस्तुत हुन आवश्यक छ ।”
बैठकमा रत्ननगरका मेयर नारायण वन, खैरहनीका मेयर लालमणि चौधरी, रत्ननगरका वडाध्यक्षहरु हरिकुमार श्रेष्ठ, हेमराज थापा, खैरहनीका वडाध्यक्ष भूमिप्रसाद कँडेल, रत्ननगरका प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगानालगायतको उपस्थिति थियो । बैठकले गिटी निकासीका लागि प्रारम्भिक वातावरणीय अध्ययन (आईईई) गर्ने जिम्मा रत्ननगर नगरपालिकालाई दिने निर्णयसमेत गरेको छ ।
रातको समयमा गिटी उत्खनन्
रातको समयमा गिटी उत्खनन्
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस