विनोदबाबु रिजाल/कायाकैरन
भरतपुर,१७ भदौ ।गत भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध संहिता संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले आइतबार कठोर आन्दोलन आह्वान गरेका छन् । हजारौं बिरामीलाई प्रत्यक्ष प्रभाव पर्ने गरी संघले आज देशैभरका आकस्मिकबाहेकका सबै उपचार सेवा बन्द गर्न आह्वान गरेको हो ।
संघले आइतबार नै डाक्टरहरुको प्रमाणपत्र (लाइसेन्स) मेडिकल काउन्सिलमा फिर्ता गर्ने घोषणा पनि गरेको छ । आजै १० बजे काठमाडौंका चिकित्सक माइतीघर मण्डलामा भेला हुने र मेडिकल काउन्सिल गएर प्रमाणपत्र बुझाउने संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिए । संघले देशभरका चिकित्सकहरुलाई भदौ १५ सम्म आफ्नो प्रमाणपत्र बुझाउन भनेको थियो । अहिलेसम्म ३ हजार बढी चिकित्सकको प्रमाणपत्र जम्मा भएको र त्यसलाई काउन्सिलमा बुझाउन लागिएको श्रेष्ठले बताए ।
चितवनका चिकित्सकले पनि नेपाल चिकित्सक संघको कार्यालयमा लाइसेन्स संकलन गरिरहेको संघका अध्यक्ष डा. प्रकाश खतिवडाले जानकारी दिए । “हामीले जिल्लाका सबै चिकित्सकको लाइसेन्स संकलन गरिरहेका छौं”, उनले भने, “आज बिहान १० बजे जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाई सबै चिकित्सकले लाइसेन्स बुझाएको जानकारी गराउने छौं ।” उनले जिल्लाका सबै अस्पताल तथा स्वास्थ्य संस्थामा आज आकस्मिक सेवामात्रै सञ्चालन गरिने बताए । “बिरामीलाई असर त पर्छ”, उनले भने, “तर, चिकित्सकलाई अपराधीको जस्तो व्यवहार गर्ने कानून नसच्याएसम्म हामी कसरी निर्धक्क उपचार गर्न सक्छौं ?”
यसअघि भदौ १ मा नै चिकित्सकहरुले प्रमाणपत्र काउन्सिलमा बुझाउने बताएका थिए । तर, सरकारले मुलुकी ऐन संशोधनको आश्वासन दिएपछि रोकिएको थियो । “कानून संशोधन कुन जति समय लाग्छ लिनुस् तर, प्रक्रिया त सुरु गर्नुस् भनेका थियौं” केन्द्रीय अध्यक्ष श्रेष्ठले भने, “वार्तामा सकारात्मक कुरा भएपनि प्रक्रिया सुरु भएकाले हामीले चिकित्सकहरुको प्रमाणपत्र बुझाउन लागेका हौं ।”
उनकाअनुसार प्रमाणपत्र बुझाएपछि मेडिकल काउन्सिलले लिस्टबाट नहटाएसम्म डाक्टरहरुले उपचार गर्न सक्छन् । तर, बिहीबारदेखि भने देशभर आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने घोषणा चिकित्सक संघले गरेको छ ।
मुलुकी फौजदारी अपराध संहिताको दफा २३० को उपदफा ४ मा चिकित्सा सेवा दिँदा चिरफार गर्दा वा औषधि खुवाउँदा कसैको ज्यान मर्न गएमा कसूरदारलाई जन्मकैद हुने छ र अंगभंग भएका १५ वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ ।
त्यस्तै दफा २३२ अनुसार कसैको इलाज गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाई लापरबाही वा हेलचक्रााइँ गरी इलाज गर्न, औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्दा कसैको ज्यान गएमा पाँच वर्षसम्म कैद र पचासहजार रुपैयाँँसम्म जरिवाना हुने व्यवस्था गरिएपछि चिकित्सकहरू विरोधमा उत्रिएका हुन् ।
देशभरका अस्प्तालमा आकस्मिकबाहेक सेवा बन्द
देशभरका अस्प्तालमा आकस्मिकबाहेक सेवा बन्द
![](https://www.kayakairan.com/wp-content/uploads/2018/09/5626398F-49EF-4B7F-B0D7-6D4844216B49.jpeg)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस