विप्लव काफ्ले/कायाकैरन
गैंडाकोट,१६ भदौ ।त्रिभुवन विश्वविद्यालयले आङ्गिक कलेजका प्रयोगशाला सुधार तथा विस्तार गर्ने भएको छ । विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले चालु आर्थिक वर्षमा प्रयोगशाला सुधारमा २० करोड लगानी गर्ने योजना रहेको बताए ।
“हामीले ज्ञान त दियौँ, तर सीप सिकाउन सकेनौँ”, शुक्रबार गैंडाकोटमा आयोजित कार्यक्रममा उनले भने, “प्रयोगात्मक शिक्षा पद्धति विकास गर्न ‘ल्याब’ महत्वपूर्ण हुन्छ, यो वर्ष हामी ल्याव सुधार र स्थापनामा अभियानै चलाउदैछौँ ।” उनले असोजमा हुने सिनेट बैठकबाट पारित हुने बजेटअनुसार आंगिक कलेजका प्रयोगशालालाई रकम विनियोजन गर्ने तयारी रहेको बताए ।
त्रिविले गतवर्ष विज्ञान तथा प्रविधि विषय पढाइ हुने आङ्गिक कलेजमा २ करोड १० लाख रुपैयाँ खर्चेर प्रयोगशाला सुधार कार्य गरेको थियो । त्रिविका २४ आङ्गिक कलेजमा विज्ञान तथा प्रविधि विषयमा पढाइ हुन्छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थानले गैंडाकोटमा भएको शिक्षण तथा अनुसन्धान विधिबारे गरेको कार्यशालामा बोल्दै उनले त्रिविका विद्यार्थीलाई सीपयुक्त बनाउन लागिपरेको बताए ।
अनुसन्धानका लागि कोष
रजिष्ट्रार उप्रेतीले अनुसन्धानलाई प्रोत्साहन गर्न त्रिविले १५ करोड बराबरको कोष स्थापना गरेको जानकारी दिए । उनले जीवनोपयोगी अनुसन्धानमूलक काममा प्राध्यापक, उपप्रध्यापकलाई प्रेरित गर्न कोष स्थापना भएको बताए । “कोषले गर्ने गतिविधिलाई प्रभावकारी बनाउन कार्यविधि बनाइसकेका छौँ”, उनले भने, “धेरैभन्दा पनि गुणत्मक अनुसन्धानलाई प्रस्रय दिने तयारीमा लागेका छौँ ।”
त्रिविका सिनास, रिकास्ट, सेरिड र सेडा गरी चार अनुसन्धान केन्द्र छन् । अध्ययनले त्रिविका प्राध्यापकमध्ये १० प्रतिशतले मात्र अनुसन्धान गरेको देखाएको थियो । “गतवर्ष हामीले रिचर्जका लागि गरेको आग्रहमा १ सय २४ युनिटमध्ये ५ वटाले मात्रै प्रस्ताव गरे”, उनले भने, “कलेज नै अग्रसर नबनेको देखियो, यो वर्षदेखि यस्तो हुन दिदैनौँ ।” उनले त्रिविले २ वर्षमा सबै आंगिक कलेजमा आइटी बेसमा पठनपाठन गर्ने पद्धति बसाउन कार्यक्रम ल्याएको बताए ।
त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्राध्यापक ऋदिशकुमार पोखरेलले विश्वकै १ हजार उत्कृष्टको सूचीमा त्रिविलाई उभ्याउन सोहीअनुसारका योजना अघि बढिरहेको बताए । “उत्कृष्ट प्राज्ञिक थलोका रुपमा विकास गर्न प्रयासरत छौँ”, उनले भने, “भौतिक पूर्वाधार, प्रविधिमैत्री कक्षा, पुस्तकालय, प्रयोगशाला, शिक्षण विधि सुधारका कार्यक्रम भइरहेका छन् ।” अनुसन्धानत्मक कार्यलाई शिक्षण कार्यमा जोड्दै गुणस्तर विकासमा लागिपरेको बताए । त्रिविअन्तर्गत ५ वटा अध्ययन संस्थान छन् । ६१ वटा आङ्गिक क्याम्पस, ३९ वटा केन्द्रीय विभाग र १ हजार ८५ वटा सम्बन्धन प्राप्त कलेज रहेका छन् ।
विज्ञानका उपप्राध्यापकलाई प्रशिक्षण
विज्ञान तथा प्रविधि अध्ययन संस्थान त्रिविको आयोजनमा गतवर्ष छनौट भएका विज्ञान पढाउने उपप्राध्यापकलाई २ दिने प्रशिक्षण सुरु भएको छ । गैंडाकोटमा आयोजित कार्यक्रममा तराई क्षेत्रका करिब ३५ जना सहभागी भएका छन् । डिन प्राध्यापक डा. रामप्रसाद खतिवडाले सेमेष्टर र वार्षिक पद्धतिमा पढाइ हँुदाको अन्तर, चुनौतीबारे कार्यशालामा जानकारी गराइने बताए ।
“पठनपाठन सुधार, विद्यार्थी मूल्यांकन तथा सक्रिय बनाउन के गर्ने भन्नेबारे विज्ञले सहजिकरण गर्नेछन्”, उनले भने, “गुणस्तरीय शिक्षा बनाउन नयाँ शिक्षकको भूमिका के हुन्छ भन्नेबारे छलफल हुनेछ ।” कार्यशालामा प्राध्यापक बासुदेव काफ्ले, विनिल अर्याल, अञ्जना सिंह, मीनाराज भण्डारी, शंकर भण्डारी, हरिप्रसाद पौडेल, संगिता राजभण्डारीलगायतले सहजीकरण गर्नेछन् । कार्यशालाको उद्घाटन सत्रमा त्रिविका रजिष्टार डिल्लीराम उप्रेती, वीरेन्द्र क्याम्पसका प्रमुख गोविन्द सापकोटा, चाइनिज एकेडमी अफ साइन्सेसका सहायकप्राध्यापक विनोद दवाडीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।