प्रमिता ढकाल/कायाकैरन
भरतपुर,१६ भदौ ।उच्चा शिक्षा वा वैदेशिक रोजगारीको सिलसिलामा विदेश जानका लागि नेपाली नागरिकले बनाउने राहदानीवापतको दस्तुर राजस्व आम्दानीको महत्वपूर्ण हिस्सा हुने गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनको तत्थ्यांक हेर्दा मुख्य आम्दानीको स्रोत नै राहदानीबट संकलित राजस्व देखिन्छ ।
कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार अर्थिक वर्ष २०७२÷७३ मा राहदानी दस्तुरवापत ९ करोड ३३ लाख ७५ हजार रुपैयाँ संकलन गरिएको छ । कार्यालयले २०७३÷७४ मा ७ करोड ४५ लाख ८० हजार रुपैयाँ संकलन गरेको थियो । राहदानी दस्तुरबाट नै कार्यालयले गत आर्थिक वर्ष २०७४÷७५ मा ७ करोड १ लाख ४२ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत ईश्वर सिंखडाले जानकारी दिए ।
प्रशासकिय अधिकृत सिंखडाका अनुसार जिल्ला प्रशासन कार्यालय चितवनले अर्थिक वर्ष २०७२÷०७३ मा १७ हजार ८ सय ७६ जनालाई राहदानी वितरण गरेको थियो । आर्थिक वर्ष २०७३÷०७४ मा १४ हजार ७ जनालाई राहदानी वितरण गरेको कार्यालयले यस आर्थिक वर्षको हालसम्म भने १२ हजार ७ सय ७० जनालाई राहदानी वितरण गरेको प्रशासकीय अधिकृत सिंखडाले बताए । जसमा अर्थिक वर्ष २०७२÷०७३ मा साधारण सिफारिसबाट १७ हजार ८ सय ७६ जनाले राहदानी बनाएको कार्यालयको तत्थ्यांकमा उल्लेख छ भने सोही आर्थिक वर्षमा ५ हजार २ सय ५६ जनाले द्रुत सिफारिसबाट राहदानी बनाएको तत्थ्यांक छ ।
आर्थिक वर्ष २०७३÷७४ मा साधारण सिफारिसबाट १४ हजार ७ जनाले राहदानी बनाएको तत्थ्यांक छ भने ३ हजार १७ जनाले द्रुत सिफारिसबाट राहदानी बनाएको तत्थ्यांक छ । यस आर्थिक वर्षमा साधारण सिफारिसबाट १३ हजार ४ सउ ४२ जनाले र द्रुत सिफारिसबाट ३ हजार १ सय ४७ जनाले राहदानी बनाएको तत्थ्यांक छ । कार्यालयले सार्वजनिक विदाको दिनबाहेक प्रतिदिन औसतमा ५८ वटा राहदानी सिफारिस गर्ने गरेको प्रशासकीय अधिकृत सिंखडाले बताए ।
यस आर्थिक वर्षमा सिफारिस गरिएका ६ सय ७२ वटा राहदानी वितरण गर्न बाँकी रहेको भएपनि गत आर्थिक वर्षभन्दा राहदानी सिफारिसमा २.५६ प्रतिशतले कमी आएको उनले बताए । “राहदानी दस्तुर मूल आयस्रोत नै हो”, प्रशासकीय अधिकृत सिंखडाले भने, “राहदानी बनाउनेको संख्यामा कमी आएको वर्ष राजस्व पनि कम संकलन हुने गरेको छ ।” कार्यालयले हातहतियार नामसारी एवं नवीकरण, प्रशासनिक दण्ड जरिवाना, न्यायिक दण्ड जरिवाना, परीक्षा दस्तुर, धरौटी मौज्दात बाँकी जस्ता शीर्षकमा राजस्व संकलन गर्ने प्रशासकीय अधिकृत सिंखडाले बताए ।
आम्दानीको श्रोत नै पासपोर्ट सिफारिस !
आम्दानीको श्रोत नै पासपोर्ट सिफारिस !
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस