धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,१६ भदौ ।प्रदेश नम्बर ३ सरकारले पार्क निर्माणका लागि चितवनमा करिब ७ करोड रुपैयाँ विनियोजन गरेको छ । जिल्लाका विभिन्न क्षेत्रमा पार्क निर्माणका लागि ६ करोड ८० लाख रुपैयाँ रकम विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ ।
प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाका अनुसार राप्ती नगरपालिकामा मात्रै पाँच ठाउँ र माडीको एक ठाउँमा पार्क निर्माणका लागि चालू आर्थिक वर्षमा बजेट विनियोजन गरिएको छ । राप्ती नगरपालिका ४ मा शिखर हरियाली ईको टुरिजम पार्क, नागदह, पानी सरापढाप, परेवाकोट र प्यारीढापमा जेपी भेटवाल पार्क निर्माण गरिन लागेको हो ।
शिखर हरियाली सामुदायिक वनमा निर्माण गर्न लागिएको इको टुरिजम पार्कका लागि यसवर्ष ३ करोड, नागदहका लागि १ करोड, पानी सरापढापका लागि १ करोड, परेवाकोटमा जेपी भेटवाल पार्कका लागि ५० लाख र प्यारीढापमै जेपी भेटवाल पार्ककै लागि ३० लाख रुपैया विनियोजन गरिएको मन्त्री लामाले बताए ।
त्यस्तै चितवनको माडी नगरपालिकामा पुष्पमदन पार्कका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । पार्क निर्माणस्थलको शुक्रबार प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापित, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रदेश साँसद कञ्चन खनाल लगायत सरोकारवालाहरुले स्थलगत अनुगमन गरेका छन् । शिखर हरियाली सामुदायिक वनमा निर्माण गर्न लागिएको ईको टुरिजम पार्कको अनुगमनका क्रममा भौतिक पूर्वाधार तथा विकासमन्त्री स्थापितले प्राकृतिक सम्पदा र वातावरणलाई प्रभाव नपार्ने गरी पार्क बनाउन सुझाव दिए । “प्राकृतिक सम्पदा हाम्रो सम्पत्ति हो, यसको समुचित सदुपयोग गर्दै पार्क बनाउनु पर्छ”, मन्त्री स्थापितले भने, “विज्ञसहितको योजना ल्याएर प्रदेश सरकार सहयोग गर्न तयार छ ।”
पार्कको क्षेत्रफल बढाएर वृहत योजना ल्याए करोडौ रुपैया सहयोग गर्न तयार रहेको उनले बताए । प्राकृतिकरुपमै पार्क निर्माण गरे घुम्न आउने पर्यटकहरुलाई लोभ्याउने उल्लेख गर्दै उनले हरियालीलाई नबिगारी काम गर्नुपर्ने बताए । मन्त्री दावा दोर्जे लामाले वन क्षेत्र र पार्कमा उत्पादनमूलक बोट बिरुवा लगाउन सुझाव दिए । शिखर हरियाली सामुदायिक वनका अध्यक्ष केदार आचार्यले २ वर्ष अघि गुरुयोजना बनाएर काम सुरु गरिएको बताए ।
अध्यक्ष आचार्यका अनुसार सो पार्कमा चितवनका दृश्य अवलोकनका लागि भ्यूटावर, बालउद्यान, खेलमैदान, विभिन्न वाटिका, स्वीमिङ पुल, सूचना केन्द्रलगायत निर्माण गरिने छ । ईको टुरिजम पार्कसँगै मन्त्री स्थापितले नागदह र पानी सरापढापको पनि स्थलगत अवलोकन गरेका छन् ।