भरतपुर,१६ भदौ ।नेपाल शिक्षक महासंघले शुक्रबार देशैभर लालटिन तथा मैनबत्ती जुलुस निकालेको छ । शिक्षा क्षेत्रलाई अंकुश लगाउने गरी संघीय शिक्षा ऐनको मस्यौदा तयार गरिएको भन्दै आन्दोलित नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनअन्तर्गत अन्तिम कार्यक्रम गरेको हो ।
चितवनमा पनि नेपाल शिक्षक महासंघले चौबिसकोठीदेखि जिल्ला प्रशासन कार्यालयसम्म जुलुस निकालेको छ । २६ बुँदे माग अघि सार्दै आन्दोलन सुरु गरेको नेपाल शिक्षक महासंघले माग पूरा नभए तेस्रो चरणको आन्दोलन गर्ने घोषणासमेत गरेको छ । स्थानीय तहमा मनलाग्दी ऐन नियम बनाएर शिक्षक मात्र नभई समग्र शिक्षा क्षेत्रलाई नै असर पुग्ने महासंघको ठहर छ ।
स्थानीय तहको मनपरी नीति नियम निर्माण रोकिनुपर्ने, स्थानीय तहले गरिरहेको जथाभावी शिक्षक नियुक्ति, सरुवा र बर्खास्ती रोक्नुपर्ने, उच्च माविमा कार्यरत शिक्षकहरुको दरबन्दीको व्यवस्था गरी स्थायित्वको प्रक्रिया थाल्नुपर्ने, शिक्षक र कर्मचारीको समयसापेक्ष तलब वृद्धि गर्नुपर्ने, महिला शिक्षकको प्रसूती विदा ६ महिना हुनुपर्ने र उक्त अवधिमा सट्टा शिक्षकको व्यवस्था गरिनुपर्ने जस्ता मागहरु समेटिएको महासंघका जिल्ला अध्यक्ष कोमलनाथ घिमिरेले बताए ।
महासंघले गत बैशाख २५ गते शिक्षा मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएपनि हालसम्म कुनैपनि सुनुवाइ नभएको र स्थानीय तहमा स्थानीय सरकारले मनोमानी ढंगले शैक्षिक आतंक सृजना गरेपछि आफूहरु आन्दोलन गर्न बाध्य भएको नेपाल शिक्षक महासंघ जिल्ला समितिका सचिव रामजी भण्डारीले जानकारी दिए । तेस्रो चरणको आन्दोलनअन्तर्गत जिल्लादेखि केन्द्रसम्म नै ध्यानाकर्षण गराउने कार्यक्रमहरु गरिने उनले बताए ।
शिक्षकको लालटिन जुलुस
शिक्षकको लालटिन जुलुस
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस