भरतपुर,१५ भदौ ।नेपालको साईकलयात्रामा निस्किएका सुनसरी बराहक्षेत्र नगरपालिका–५ का साईकलयात्री ओमप्रकाश बानियाँ चितवन आइपुगेका छन् । बैशाख १९ गते पत्रकार सम्मेलन गरी साईकलयात्रा सुरु गरेका बानिया विभिन्न ६३ जिल्लाको भ्रमण सकेर चितवन आइपुगेका हुन् ।
यसअघि नै चितवनको यात्रा गरेपनि पश्चिम नेपालबाट काठमाडौं जानका लागि बिहीबार चितवन आइपुगेको उनले बताए । शान्ति, समृद्धि र स्थायित्वको काम गर्दै आफू नेपालका ७७ वटै जिल्लामा पुग्ने चितवनको खैरहनी–८, पर्सा आइपुगेका २७ वर्षीय बानियाले जानकारी दिए । कर्णाली प्रदेशको डोल्पा र हुम्ला जिल्लाबाहेक अरु जिल्ला पुगिसकेको भन्दै उनले बाँकी जिल्ला विकट रहेकाले अन्तिममा पैदलयात्रामार्फत भ्रमण गर्ने बताए ।
आगामी असोज १८ गते सबै जिल्लाको भ्रमण सक्ने उनको लक्ष्य छ । नेपाली पोशाक लगाएर चितवन आएका उनी धादिङ हुँदै काठमाडौं उपत्यका छिर्ने छन् । यात्राको क्रममा युवाहरु, नगरपालिका, गाउँपालिकाबाट सहयोग मिलिरहेको उनले सुनाए । यात्राकै क्रममा उनले सम्वन्धीत जिल्लाका नगरपालिका, गाउँपालिकाका जनप्रतिनिधिसँग आफ्नो भ्रमणको उद्देश्यबारे जानकारीसमेत गराउने गरेका छन् । भ्रमणमार्फत शान्ति, समृद्धि र स्थायित्व कामना एउटा उद्देश्य भएपनि सँगै उनले अर्को उद्देश्य पनि लिएका छन् ।
भ्रमणका क्रममा विभिन्न नगरपालिका, गाउँपालिका, संघसंस्था तथा व्यक्तिबाट प्राप्त सहयोगले आफ्नो ठाउँमा अनाथ बाल केन्द्र खोल्ने उनको योजना छ । त्यसका लागि उनी निवासी बराहक्षेत्र नगरपालिकाले ५ लाख रुपैयाँसमेत चालु आर्थिक वर्षमा विनियोजन गरेको बानियाले बताए । नेपालको भ्रमण सकी अनाथ बाल केन्द्र सञ्चालनपछि विभिन्न देशको भ्रमणमा निस्कनेसमेत योजना रहेको उनले बताए ।
सुनसरीका साईकलयात्री चितवनमा
सुनसरीका साईकलयात्री चितवनमा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस