खैरहनी,१५ भदौ ।चितवन खैरहनी नगरपालिकाका सामाजिक अभियन्ता मुरलीप्रसाद गजुरेलले आर्थिक अवस्थाका कारण पढाइ छाडेकी म्याग्दीकी एक विद्यार्थीलाई सहयोग जुटाएर हस्तान्तरण गरेका छन् । म्याग्दी जिल्ला बेनी नगरपालिका–५ की पूजा खत्री घरको आर्थिक अवस्थाका कारण अध्ययनकै क्रममा पढाइ छोड्न बाध्य भएकी थिइन् ।
घरमा खाने अन्न र कापी कलम किन्नसमेत पैसा नभएकाले ‘रेस्टिकेट’ गरिदिनुहोला भन्ने व्यहोरा चिठीमार्फत विद्यालयमा पठाएको समाचार सामाजिक सञ्जालमार्फत थाहा पाएपछि खैरहनीका गजुरेलले ती बालिकालाई सहयोग जुटाएका हुन् । ती बालिकाको अवस्था थाहा पाएपछि गजुरेलले सामाजिक सञ्जालमार्फत सहयोगका लागि आह्वान गरेका थिए ।
उनको आह्वानलाई नुवाकोट घर भई हाल अमेरिकामा रहेकी शोभा पाण्डेले स्वीकार गर्दै सहयोग रकम गजुरेललाई पठाइन् । त्यही सहयोग लिएर बुधबार बेनी पुगेका गजुरेलले पूजा अध्ययनरत जामुनाखर्क माध्यमिक विद्यालयमा बिहीबार एक कार्यक्रमको आयोजना गरी पाण्डेले पठाएको सहयोग रकम हस्तान्तरण गरे । पाण्डेले एक वर्षका लागि पुग्ने स्टेशनरी, पोशाकलगायतका सामग्रीका लागि ४० हजार रुपैयाँ पठाएकी समाजिक अभियन्ता गजुरेलले बताए ।
कमजोर आर्थिक अवस्थाकै कारण पूजाका बाबुआामा अहिले घरमा छैनन् । बाबु पैसा कमाउन घर बाहिर छन् । उनी खासै घर जाँदैनन् । आमाले छाडेर गएको निकै समय भइसक्यो । पूजासहित उनका एक भाइ र बहिनी हजुरबुबाको साहारामा बाँचिरहेका छन् । हजुरबुबाले गाउँमा मागेरै उनीहरुलाई खुवाउने गरेका गजुरेलले बताए । गजुरेलले खैरहनी माविमा जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षयकोष स्थापना गरेर गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेका छन् । उनले स्थापना गरेको अक्षयकोषमा हाल सम्म करिव ८३ लाखभन्दा बढी रकम संकलन भइसकेको छ । कोषमा १ करोड पु¥याउने उनको लक्ष्य छ ।
सोही कोषबाट खैरहनी माविको कक्षा ११ र १२ मा अध्ययन गर्ने गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्दै उनीहरुको भविष्य खोजिरहेका छन् । “म पनि आर्थिक अभावकै कारण धेरै पढ्न नपाएको मान्छे हुँ”, गजुरेलले भने, “आर्थिक अभावकै कारण विद्यार्थीले बीचमै पढाइ नछाडून् भनेर अभियान चलाई कोषमा रकम संकलन गरिरहेको छु ।” उनको कोषमा जन्मदिन, पुण्यतिथि, विवाह वर्षगाँठ, ब्रतबन्धलगायत कार्यबाट सहयोग जुट्दै आएको छ ।
चितवनका गजुरेलले म्याग्दीकी विद्यार्थीलाई सहयोग जुटाए
चितवनका गजुरेलले म्याग्दीकी विद्यार्थीलाई सहयोग जुटाए
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस