विप्लव काफ्ले/कायाकैरन
भरतपुर,१३ भदौ ।चितवन पूर्ण खोप सुनिश्चित भएको जिल्ला हो । सर्वेक्षणका आधारमा यस जिल्लालाई सबै बालबालिकाले आवश्यक पर्ने सम्पूर्ण खोप लगाएको घोषणा गरियो । यही असार ३२ बाट चितवन पूर्णखोप सुनिश्चित घोषणा गरिएको थियो ।
१२ देखि २३ महिनाभित्रका सबै बालबालिकाले खोप लगाएको तथ्यांक सार्वजनिक गरिएको हो । तर, नवजात शिशुले ४ महिनायता बीसीजी खोप लगाउन पाएका छैनन् । बीसीजी खोप बच्चा जन्मनेबित्तिकै लगाइन्छ । सुरुमा लगाउन नपाएपनि १ वर्षभित्र यो खोप लगाईसक्नुपर्छ । क्षयरोग संक्रमणबाट बचाउन यो खोप लगाइन्छ । चितवनमा बीसीजी खोपलाई आवश्यक पर्ने औषधि नभएको होइन । तर, यो खोप लगाउने सुई (सिरिञ्ज) नहुँदा खोप लगाउने कामै प्रभावित बनेको छ । जनस्वास्थ्य कार्यालय चितवनले बीसीजी खोप लगाउने सिरिञ्ज उपलब्ध गराउन सकेको छैन । सिरिञ्ज नहँुदा बालबालिका खोप लगाउनबाट वञ्चित छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कोल्ड चेन अधिकृत वेदप्रसाद अधिकारीले गाउँका खोप केन्द्रमा सिरिञ्ज अभाव रहेको बताए । “जनस्वास्थ्य कार्यालयको मातृ शिशु क्लिनिकमा अभाव छैन, तर अन्य खोप केन्द्रमा अभाव छ”, उनले भने, “भरतपुरमै आए लगाउन सकिन्छ । तर, स्थानीय खोप केन्द्रमा तत्कालै पाउन मुस्किल छ ।” बीसीजी खोप लगाउन छुट्टै सिरिञ्जको आवश्यकता पर्छ । जुन निजी अस्पताल तथा फार्मेसीमा किन्न पाइदैन । “बीसीजीको ३ सय भाइल स्टक छ”, उनले भने, “एक भाइलले २० जनालाई पुग्छ । तर, सिरिञ्ज नै नहुँदा समस्या छ । उनका अनुसार केही खोप केन्द्रमा रहेका स्टकका आधारमा खोप लगाउन समस्या छैन ।
चितवनमा २ सय ७० वटा खोप केन्द्र छन् । ३६ स्वास्थ्यचौकी, ३ प्राथमिक स्वास्थ्य केन्द्र र १५ नगर स्वास्थ्य केन्द्र छन् । यी सरकारी संस्थामा हप्ताको ३ देखि ५ दिनसम्म खोप लगाउने कार्यतालिका हुन्छ । यस्तै निको बाल अस्पताल, भरतपुर मेडिकल कलेज, चितवन मेडिकल कलेज, सुनौलो भविष्य नेपाल, नेपाल परिवार नियोजन संंघको कार्यालयमा निःशुल्करुपमा बीसीजी खोप लगाउन पाइने व्यवस्था छ । तर, सिरिञ्ज नहुँदा धेरै नवजात शिशु पर्खाइमा छन् ।
गतवर्ष १३ हजार ५ सय ४६ जना शिशुलाई बीसीजी खोप लगाइएको थियो । पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्दा चितवनमा सबै खोप लगाएका ७ हजार ५ सय ८९ बालबालिकाको तथ्यांक थियो । भरतपुर अस्पतालको प्रसूती भएको तथ्यांक हेदा वर्षमा सरदर १२ हजार नवजात शिशु जन्मन्छन् ।
अझै पर्खनुपर्छः स्वास्थ्य सेवा विभाग
स्वास्थ्य सेवा विभागअन्तग्र्रतको आपूर्ति व्यवस्था महाशाखाका निर्देशक रमेश अधिकारीले सहज अवस्था आउन अझै ४ महिना पर्खनुपर्ने बताउँछन् । “सुदूरपश्चिम र मध्यपश्चिमतिर समस्या छैन, अन्यमा समस्या छ”, उनले भने, “माग बढी भएका जिल्लामा सोझै खरिद प्रक्रिया अघि बढाएर भएपनि खाँचो टारेका छौँ ।” उनका अनुसार सूचना निकालेर बीसीजी खोप सिरिञ्ज खरिदका लागि प्रक्रिया सुरु भएको बताए ।
“खरिद प्रक्रिया पूरा हुँदा झण्डै ४ महिना लाग्छ”, उनले भने, “त्यतिञ्जेल समस्या नहोस् भनेर स्टक भएका ठाउँका सिरिञ्ज आवश्यक ठाउँमा पठाउँदै आइरहेका छौँ ।” बच्चा जन्मेका तथ्यांकका आधारमा जिल्लामा खोपका सिरिञ्ज पठाउने गरिएको बताए । “नेपालमा त्यो सिरिञ्ज पाइदैन, विदेशबाटै आयात गर्नुपर्छ”, उनले भने, “छिट्टै समस्या हल हुन्छ, अहिले स्टक भएका सिरिञ्ज पठाइन्छ ।” गत वर्ष ७ लाख ४४ हजार बीसीजी खोपको सिरिञ्ज जिल्लाहरुम पठाइएको बताए ।
नेपालमा ११ वटा रोगविरुद्ध बालबालिकालाई खोप लगाइदंै आइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाले केही सिरिञ्ज ल्याइएपनि समस्या रहेको बताउँछन् । “एक हप्ता पहिले ५ सय सिरिञ्ज ल्यायौँ, अझ ल्याउने प्रयास भइरहेको छ”, उनले भने, “खोप छ । तर, सिरिञ्ज नहँुदा लगाउन पाइएको छैन ।” उनले जिल्लालाई आवश्यक पर्ने बीसीजी खोपको सिरिञ्ज भदौ अन्तिमतिर आइपुग्ने आश्वासन पाएको बताए । उनका अनुसार ४ सय सिरिञ्ज स्टक छ । उनले अन्य रोगविरुद्धका खोपको अभाव नरहेको दावी गरे ।