विपन्नलाई उपचार गर्नै गाह्रो
विप्लव काफ्ले/कायाकैरन
१२ भदौ ।
क्षेत्रपुरमा बस्दै आएकी १७ वर्षीया ईशा गुरुङ ज्वरोले सिकिस्त बनिन् । अचानक ढलेपछि उनलाई अस्पताल लगियो । भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज हँुदै चितवन मेडिकल कलेजमा उपचार गर्न लगियो । हाल उनी सघन उपचार कक्ष (आईसीयू)मा भेटिन्लेटरमा उपचाररत छिन् ।
गत साउन २७ गते भर्ना भएकी उनको उपचारमा दैनिक सरदर १० हजार रुपैयाँ खर्च हुने गरेको अभिभावक बताउँछन् । आर्थिक अवस्थाले पिरोलिएको उनको परिवारलाई खर्च जुटाउन निकै सकस छ । “आमा र बहिनीको सासूको सुन बेचेर सुरुका केही दिन धानियो”, आमा सुकमायाले दुखेसो पोखिन्, “तनहुँतिर लालपुर्जा नभएको थोरै जग्गा छ, तर डाँडामा भएकाले बिक्री नै हुँदैन, खर्च धान्नै मुस्किल प¥यो ।”
भरतपुर–लम्जुङ बेसीशहर चल्ने बस चलाउँदै आएका ईशाका बाबु डोपिन्द्रको २०६२ कार्तिकमा दुर्घटनामा परी निधन भएको थियो । आमा सुकमायाले क्याटरिङमा काम गरेर केही बचत गरेकी थिइन् । २ वर्ष पहिले उनले त्यो काम छोडिन् । घर सरसफाइको काम गरेर मासिक ८ हजारसम्म कमाउने गर्थिन् । छोरा ईश्वर र छोरी ईशालाई लालनपालन गर्न समस्या परेपछि सुकमायाले बचत भएको २५ हजार रुपैयाँले घुम्ती किनिन् । मासु पसल चलाउने तयारीमै रहेका बेला छोरी बिरामी भइन् ।
“आफन्तले २० हजार सहयोग गरे, त्यसबाट बाँकी रहेको बिलको पैसा तिरेँ”, सुकमायाले भनिन्, “अस्पतालमा ढेड लाख रुपैयाँ तिर्न बाँकी छ, कहाँबाट ल्याएर तिर्नु ?” निमोनिया बिग्रेपछि छोरीको उपचार आईसीयूमा भइरहेको छ । उनलाई यतिबेला उपचार खर्च जुटाउने पिरले सताएको छ ।
“पाइप लगाएर अक्सिजन दिनुपरेको छ”, उनले भनिन्, “कमाइ नभएपछि खर्च जुटाउनै गारो प¥यो ।” छोरी हिजोआज हातको इशाराले बोल्न खोज्ने बनेपनि रोग निको भइनसकेको उनको भनाइ छ । १४ वर्षीय छोरा केही महिने पहिले भारत जान लागेको अवस्थामा घर फर्काइएका थिए । काम लगाइदिन्छु भन्दै भारत बेच्न लान लागेको अवस्थाबाट उनी घर फर्किए ।
तनहुँकी सुकमायाले संघर्ष गर्दै छोराछोरीलाई राम्रो पढाउने लक्ष्य लिएकी थिइन् । कमाइले नधानेपछि छोरीले ८ कक्षा पढेपछि १ वर्ष पहिले पढ्नै छोडिन् । छोरा अहिले ७ कक्षमा पढ्दैछन् । “छोरीको उपचारमा सहयोग गरिदिने दाताको खोजीमा छु”, सुकमायाले दुखेसो सुनाइन्, “छोरीको जीवन बचाउन पाए निकै खुसी हुन्थँे ।” सुन्तला फल्ने केही जग्गा तनहुँ बाँसपानीमा भएपनि बिक्री हुँदैन । उपचारमा उनले हालसम्म २ लाख अस्पताललाई बुझाइसकेकी छिन् ।
“खर्च अझै २÷३ लाख लाग्ला जस्तो छ”, उनले भनिन्, “पुरानो ऋण र थपिने ऋण जुटाउनै धेरै कष्ट झेल्दै आएको छु ।” उनी सहयोग जुटाउन भेटेजति सबैलाई अनुरोध गर्दैआएकी छिन् । तर, आश्वासन पाएपनि आर्थिक सहयोग कतैबाट आएन । सामाजिक संघसंस्थाको पहुँच नभएपछि उनी निराश छिन् । छोरी निको बनेर ‘ममी’ भनेको सुन्ने उनको ठूलो रहर छ ।
चितवन मेडिकल कलेजका श्वासप्रस्वास विशेषज्ञ चिकित्सक डा. सितल अधिकारीले ईशालाई भाइरल निमोनिया भएको बताए । “एचवान एनवान संक्रमण भएको हो”, उनले भने, “श्वासप्रस्वासमा समस्या छ । पाइपको सहायताले सास फेर्दै आएको अवस्था छ ।” ईशाको शरीरमा छाती, नाकलगयातमा पाइप राखेर सास फेर्न व्यवस्था मिलाइएको छ । उनलाई सास फेर्न समस्या देखिरहेमा घाँटीमा पाइप राखिने तयारी चिकित्सकले गरेका छन् ।