भरतपुर,१२ भदौ ।
भरतपुर क्यान्सर अस्पतालको जमिनमा सिटी हल बनाउने प्रस्ताव स्थगित गर्न भरतपुर महानगरपालिकाले लिखित प्रतिबद्धता नजनाएको भन्दै नेपाली कांग्रेसका नेताहरुले आश्चर्य जनाएका छन् ।
सोमबार पार्टी पूर्व जिल्ला सभापति र पूर्व तथा वर्तमान सांसद्ले छलफल गरी लिखित प्रतिबद्धता आउनुपर्ने माग गरेका छन् । महानगर प्रमुख रेनु दाहालले मौखिकरुपमा सिटी हल निर्माण प्रक्रिया स्थगित गरेको बताए पनि लिखित सहमति गर्न कांग्रेस नेतृत्वसँग कुनै छलफल नगरेको उनीहरुको गुनासो छ ।
“महानगरपालिका प्रमुख दाहालले सिटी हल निर्माणको सन्दर्भमा कांग्रेस चितवनको नेतृत्वसँग औपचारिक सहमतिविना सिटीहल निर्माण रोक्ने मौखिक वक्तव्य मात्र दिएर यस विषयलाई गोलमोल पार्न खोजिएको छ”, कांग्रेस जिल्ला सचिव उत्तम जोशीले भने, “महानगरपालिकाले बोर्ड बैठकबाट किन निर्णय लिन सकेन हामीले बुझेका छैनौं ।”
पछिल्लो समय स्थानीय सरकारले धमाधम अस्वाभाविकरुपमा कर बढाएकोप्रति पनि बैठकमा छलफल भएको जोशीले बताए । नेपाली कांग्रेस चितवनले भदौ ३ गते आफ्ना नगरस्तरीय नेतृत्वलाई चितवनका स्थानीय निकायको कर वृद्धिदरलाई विश्लेषण गरी आवश्यक आन्दोलन गर्न निर्देशन दिएको थियो ।
स्थानीय तहमा तय गरिएको करको चर्को विरोध भइरहँदा भरतपुर महानगरपालिकाले वैज्ञानिक र व्यवहारिक कर निर्धारणका लागि गृहकार्य गरिरहेको महानगरले बताएको छ । महानगरपालिकाले श्रेणी निर्धारण गरेर व्यवसायीको स्वघोषणाको आधारमा कर लिने कार्य अघि बढाएको बताइएको छ ।
सिटी हल लिखितरुपमा स्थगित गरः कांग्रेस
सिटी हल लिखितरुपमा स्थगित गरः कांग्रेस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस