निर्दोष जीवन
दिन नेपाल बन्दको । प्रभाव देशैभरि रह्यो । त्यस दिन खासै विशेष काम नभएको हुँदा स्कूटर लिएर म निस्किएँ, सुनगाभा बुक हाउस नारायणगढ तिर ।
जब खासै काम हुन्न म प्रायः सुनगाभातिर जान्छु । त्यहाँ पुग्दा लेखरामजी (सुनगाभाका सञ्चालक)पसलमै हुनुहुन्थ्यो । जब म पसलभित्र प्रवेश गरें, एउटा मेरो लागि सरप्राइज नै भयो । पसलको कुनातर्फ कुर्सीमा मोबाइलमा फेसबुक चलाएर बसिरहनुभएको ‘मुदिर’ उपन्यासकार मीनराज बसन्तलाई देखें । दुवै जनासँग हात मिलाउँदै गर्दा लेखरामजीले ‘बफ टी’ खाम है’ भन्नुभो । मीनराजजी ‘यो पनि सोध्ने कुरो हो र ?’ भन्दै खाम–खाम भनेर मजासँग हसाउनु भो ।
केहीबेरमा नै बफ टी आइपुग्यो । बफ टीको स्वादमा केही मिठा र रमाइला कुराकानी गरियो । बन्दको कारणले गर्दा होला सुनगाभामा पुस्तक किन्न आउने ग्राहक देखिदैनथे । हामी तीनैजना आ–आफ्नो मोबाइलमा फेसबुकको मजा लिइरहेका थियौं । मीनराजजीले भर्खरै मात्र किनेको नयाँ मोबाइलको ब्याट्री राम्रोसँग नटिकेको गुनासो पोख्नु भो । मैले भने सामसुङ मोबाइलको ब्याट्री अलि टिकाउ हुने दावी पेश गरें । मीनराजजी ‘हो है’ भन्दै फेसबुकमै मस्त हुनु भो । उता लेखरामजी पनि फेसबुकमा नै हराइरहनुभएको थियो । फाट्टफुट्टबाहेक अरु खासै कुरा भएन हामीबीच ।
यत्तिकैमा सुमन अर्यालसहित पाँच जना साथीहरुको आगमन भयो सुनगाभाको आँगनमा । सबै जनासँग हात मिलाइयो । लेखरामजीको साथीभाइलाई आदर गर्ने आफ्नै तरिका छ । उही पारामा ‘के मगाम चिसो–तातो ?’ साथीहरूलाई सोध्नुभो । साथीहरु पनि कति जाती, हजुर धन्यवाद केही नखाम भन्न थाल्नुभो । लेखरामजीले फेरि पनि कर गर्दै भन्नुभो, “केही त खाम ।” सुमनजीले नखाने अडान जारी नै राख्दै नयाँ प्रस्ताव गर्नुभो, “आज बन्दको सदुपयोग गरौं बरु कतै गएर ।” लेखरामजीले थप्नुभो, “जाने नै हो भने शक्तिखोरमा रहेको झरनामा नुहाउन जाम न त ।” यो प्रस्ताव मात्रै के आएको थियो, मीनराजजीले ‘ओके छ त’ भन्दै निकै खुसी व्यक्त गर्नुभो ।
बन्दको कारण पसलमा व्यापार पनि नभएको कारण लेखरामजीले मौकाको सदुपयोग गर्न कस्सिएर योजना बनाउनुभो । त्यसैबीचमा विजय विश्वकर्माजीलाई फोन हान्नुभो । तर, अफिस छोडेर जान नमिल्ने जस्तो कुरा विजयजीबाट आयो । लेखरामजीले कुरामा कुरा थप्नुभो, “हामी अहिले सुनगाभामा ७ जना साथीहरु छौं, आज झरनामा नुहाउन जाने ।” झरना भन्ने सुन्नेबित्तिकै जाने सहमति जनाइहाल्नुभयो ।
चितवनको गर्मीले गर्दा होला सायद मीनराजजी झरनामा नुहाउन जाने कुराले निकै प्रफुल्ल देखिनुहुन्थ्यो । सबै साथीहरुको मोटरसाईकल मेरो भने स्कूटर । शक्तिखोरको बाटो अलि कच्ची भएको कारण मलाई स्कूटरमा जान त्यति सहज थिएन । लेखरामजीलाई भनें, “म स्कूटर लान्न है गाह्रो हुन्छ ।” उहाँले विजयजीको पछाडि बस्न भन्नुभयो । अनि मेरो स्कूटर भरतपुर ओरालोमा कायाकैरनको अफिस अगाडि छोड्ने कुरा भो । म विस्तारै स्कूटरमा कायाकैरन अगाडि पुग्दा साथीहरु कसैलाई पनि देखिनँ । विजयजीलाई फोन गरेर त्यहीं बोलाएँ । केहीबेरमा आइपुग्नुभयो ।
बाइकमा प्रदिपजीलाई लिएर आउनुभएको रहेछ । मेरो लागि लेखरामजीले छुट्याउनुभएको विजयजीको पछाडि सीट प्रदीपजीले ओगटिसकेको देखेर मनमनै आज झरना नुहाउन गइएन भन्ने भो । त्यसैबीच विजयजीलाई म जान्नँ भनिदिएँ । उहाँले कारण सोध्नुभयो । मैले भनें, “सबैको बाइक छ, म स्कूटरमा जान अलि गह्रो पर्ने भो, बाटो पनि अफ्ठ्यारो छ ।” तर, विजयजीले त उल्टै उडाउनुभो, “मान्छे स्कूटरमा पोखरा÷काठमाडौं जान्छन् तपाईं शक्तिखोरको कुरा गर्नुहुन्छ यार !” मैले नजाने अडान उस्तै जारी राखें । विजयजीले मलाई लोभ्याउनुभयो, “ठीकै छ नि त नजानु । तर, भरे हामीले झरनामा नुहाएको फोटो फेसबुकमा देखेर पछूतो नमान्नु होला नि ।”
यो कुराले भने मनमा हलचल नै गरायो । जाम कि नजाम दोमन भएँ म । लेखरामजीलगायत साथीहरु बडो रमाइलो पारामा बाइकमा आउनुभो, लेखरामजी ‘ल जाम’ भन्दै अघि बढ्नुभो । म के गरुँ, के नगरुँ भएँ । अरु साथीहरु पनि बाइकमा कुदिहाल्नुभयो । मलाई पनि भित्रभित्रै जाउँ–जाउँ लाग्यो । त्यसपछि म पनि लागें साथीहरुको बाइकको पछि–पछि ।
साथीहरुको बाइकको गतिको अगाडि मेरो स्कूटरको गतिले के भ्याउने ! बाटोमा हाम्रो नौ जनासहितको जम्बो टोली सररर कुदेको दृश्य बडो मनमोहक देखिन्थ्यो । भोजाडको जंगलमा मीनराजजीको क्यामेराले केही फोटो बाइक कुदिरहेकै अवस्थामा खिचियो । बाटोभरि हर्न बजाउँदै, चिच्याउँदै अगाडि पछाडि गर्दै कुद्दाको दृश्यले बाटोमा हिड्ने अरु मानिसहरुलाई नि रमाइलो लागेको भान हुन्थ्यो । क्लबचोक नजिक म धन्न विपरित दिशाबाट आएको बाइकमा ठोकिनँ । मेरो सातोपुत्लो उड्यो ।
त्यसपछि त म बिस्तारै–बिस्तारै साथीहरुको पछि–पछि दौडिन थालें । पीच बाटोमा स्कूटर दौडाउन सजिलो भइरहेको थियो । जब ग्रावेल बाटो आयो अब भने अलि कठिन हुन थाल्यो । जताततै खाल्डाखुल्डी स्कूटरलाई जोगाउन निकै गाह्रो भो । साथीहरु मलाई पछाडि छोडेर अगाडि कुदिरहनुभयो । जब शक्तिखोरको पुल आयो हामी सबै जना झरना जाने बाटो नचिनेर अलमलमा प¥यौं । सुमनजीले मुक्त उदासजीको घर यतै हो भन्नुभयो । मुक्तजीको होटलमा फर्किदा खाजा खाने सल्लाहपछि नजिकैको पसलका दाजुसँग सिन्ती झरना जाने बाटो सोधेर हामी त्यतै लाग्यौं । विजयजी र प्रदिपजी अघि–अघि कुद्नुभो । हामी उहाँहरुको पछि–पछि ।
बाइक पार्किङस्थलमा रु २० तिरेर सबैले आ–आफ्नो सवारीसाधन थन्काएर लागियो उकालो बाटो सिन्ती झरानातर्फ । विजयजी र प्रदीपजीलाई हामीले भेटेनौं । सायद उहाँहरु अगाडि गइसक्नुभयो होला भन्ठानेर हामी पनि सरासर अगाडि बढ्यौं । अलि अगाडि पुगे पछि झरनामा नुहाएर फर्किदै गरेका २ जना सुन्दरीलाई कमलजीले सोध्नुभो, “झरना पुग्न कति समय लाग्छ होला ?” ती सुन्दरीले पनि कस्सेर हिंड्नुभयो भने १ घन्टामा पुग्नुहुन्छ भनेर जवाफ फर्काए । सुन्दरीको जवाफले सबै जना तिरीमिरी भयौं ।
उकालो हिड्ने बानी कसैलाई पनि थिएन । त्यसमाथि चितवनको प्रचण्ड गर्मी । धन्न मीनराजजीले रमाइला कुरा गरेर थोरै भएपनि बाटो काट्न सहज बनाइदिनुभयो । अगाडि सानो एउटा झरनामा दुई जोडीहरु आनन्दले नुहाइरहेका थिए । सुमनजी र मैले हिंड्न नसकेर यतै नुहाम् न त भन्यौं । मीनराजजीले ‘हात्ती छिरेर पुच्छर अड्के जस्तो कुरो नगरम लेखरामजी अगाडि गइसक्नुभो, लौ हामी पनि छिटो–छिटो अगाडि बढम्’ भन्न थाल्नुभो । त्यति भनेपछि हामी दुई जना मात्रै नुहाउने कुरा पनि आएन, लागियो खुरुखुरु साथीहरुको पछि–पछि ।
अलि अगाडि पुगेर पसलमा दुई बोतल पानी र पाँच प्याकेट चाउचाउ किन्नुभो साथीहरुले । दुई बोतल पानीमा पूरै एक बोतल मीनराजजी एक्लैले सिनित्तै पार्नुभो । बाँकीले हामीले घाँटी भिजायौं । साथीहरू चाउचाउको आनन्द लिन थाल्नुभो, मलाई भने पटक्कै मन नपर्ने । बाटोमा हामीजस्तै हिंड्न नसकेर चुरोटको धुँवामा भुलिरहेका दुई जना साथी भेटिए । मीनराजजीले परिचय मात्रै गर्नुभएन, एउटा चुरोटको खिल्लीसमेत हासिल गर्नुभो । आफूसँग भएको एक प्याकेट चाउचाउ ती साथीहरुको हातमा थमाउँदै केही हाम्रा साथी बाटोमा चुरोटको धुँवा उडाउँदै हिड्नु भो ।
गर्मीले गर्दा आफूले लगाएको टिसर्ट खोलेर काँधमा राखी हिडें । अरु साथीहरुले नि त्यसै गर्नुभो । सुमनजीलाई अलि बढी नै कष्ट बन्दै थियो यात्रा भन्ने कुरा उहाँको अनुहार हेरेर सजिलै अनुमान लगाउन सकिन्थ्यो । त्यसमाथि सिस्नुको पातले पोलेको पीडा छुट्टै थियो उहाँलाई । ठाउँ ठाउँमा बस्दै बल्लतल्ल झरनामा पुग्यौं । लेखरामजी कपडा लगाएर हामीतिर आउँदाआउँदै बीचैमा रोकिनुभयो । वीजयजी र प्रदीपजी हुनुहुन्छ भनेर लेखरामजीले हामीलाई छोडेर अगाडि आउनुभएको थियो । तर, विजयजी र प्रदीपजीलाई झरनामा नदेखेर अनि हामी आउन ढिला भएको कारण झरनामा ननुहाई फर्किन लाग्नुभएको रहेछ ।
हामी सबैजना कपडा खोलेर झरनामा नुहाउन निस्कियौं । लेखरामजी र मैले सेन्डो गञ्जी खोलेनौं । हामी झरनाको मज्जा लिन थाल्यौं । आफू नुहाउँदा आउने मज्जा त छदैछ, सुन्दरीहरु चिसो पानीमा निथ्रुक्क भिजेर नुहाएको दृष्यले मनमा बेग्लै काउकुती नै लगाउँदो रहेछ । सुन्दरीहरुको अगाडि अरु साथी कलर–कलरका पेन्टी कट्टुमा नुहाउन निस्कनुभो । तेर्साएर राखिएको मुढामाथि खसेको झरनामा लाईनमा बसेर हामी झरनासँग आनन्द मानी–मानी खेलिरह्यौं । हामीमध्ये एकजना साथीले हाम्रो फोटो खिच्न थाल्नुभो । हामी पनि के कम पेन्टी कट्टुमै विभिन्न पोजपोजमा फोटो खिचायौं । साथीहरु मुढाको माथिल्लो भागमा जान डराउनुभयो । म अलि फूर्तिलो पारामा मुढाको माथिल्लो भाग जान लागें, जहाँ झरना खसेको थियो । माथि नै पुगेर नुहाएको देखेर लेखरामजी पनि सुरिएर माथि आउनुभयो । हामी दुई जनाले अझ बढी झरनाको आनन्द लियौं ।
करिब एक घन्टा झरनामा नुहाएर चिसै कट्ट् लगाएर हामी घरतिर फर्किन लागेका थियौं, विजयजी र प्रदीपजी टुप्लुक्क झरनामा आउनुभयो । ग्रुपबाट हराउनुको कारण विजयजी र प्रदीपजीको लठ्ठिएको आँखा अनि लटपटिएको बोलीबाट प्रस्टै थाहा भयो । साथीहरुको लागि भनेर हातमा कोदोको रक्सी र क्यान वियर लिएर आउनुभएको थियो । साथीहरूले कोदोको रक्सी र क्यान वियर पालैपालो घुट्की लगाउन थाल्नुभयो । म हेरिरहें । विजयजी र प्रदीपजीलाई त्यहीँ छोडेर आउन पनि सकेनौं । त्यसैले उहाँहरु झरनामा नुहाउञ्जेल कुरेरै बसियो । करिब आधा घन्टा जति झरनाको आनन्द लिएपछि विजयजी र प्रदीपजी आउनुभयो । साँझ पर्न लागेकोले हामी सबै जना घरतर्फ प्रस्थान ग¥यौं ।
पार्किङस्थलमा आएर आ–आफ्नो सवारीसाधन निकालेर निस्किन लाग्दै थियौं सुमनजी भन्न लाग्नुभयो, “अरे मेरो हेलमेट कसले साँटेर पुरानो छोडेर गएछ ।” पार्किङको बाजे ‘होइन होला बाबु, म यहीँ छु कसैले नि साटेको छैन’ भन्न लाग्नुभो । सुमनजीले अलि कडारुपमै भन्नुभयो, “पैसा तिरेपछि आफ्नो साधनको सुरक्षा हुन्छ भनेर पो राखेको त नत्र त बाटोमा नै छोडेर जाने थियौं नि हामी ।” अन्ततः बाजे सहमतिमा आएर सुमनजीलाई १ हजार ७०० रुपैयाँ दिनुभयो ।
भोक निकै लागेको थियो । गजलकार मित्र मुक्त उदासजीको होटलमा गएर खाजा खायौं । मुक्तजीका आमाबुबालाई नि भेट्न पाउँदा साह्रै खुसी लाग्यो । आमा बुबासँग सामुहिक फोटो खिचेर हामी घरतिर प्रस्थान ग¥यौं । चितवनको गर्मीमा तातेको शरीरमा सिन्ती झरनाको चिसो पानी मुनि गएर नुहाउँदा एक प्रकारको स्वर्गीय आनन्द नै भेटियो । हामी सबै साथीहरूले बन्दको राम्रोसँग सदुपयोग गर्न पायौं । साथीहरुसँग अझै आत्मीयता प्रगाढ भएको महसुस भयो । यसका लागि सबैलाई धन्यवाद । अनि धन्यवाद बन्दकर्तालाई पनि ।
स्थानीय सरोकारवाला निकायले सिन्ती झरनाको महत्वलाई बुझेर अझै राम्रोसँग व्यवस्थापन गर्न सकियो भने एउटा सुन्दर पर्यटकीयस्थलको रुपमा यसलाई विश्वसामु लैजान सकिन्छ ।