विप्लव काफ्ले/कायाकैरन
भरतपुर,९ भदौ ।चितवनका महिला तथा बालबालिका अधिकारकमीर्ले बलात्कारीलाई आजीवन काराबास सजायको माग गरेका छन् । सजायलाई कडा बनाउँदै बलात्कारका घटना रोकथाम गर्न सकिने भन्दै अधिकारकर्मीले तीनै तहका सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छन् ।
प्रधानमन्त्री, गृहमन्त्री, प्रदेश ३ का मुख्यमन्त्री, प्रदेशका सामाजिक विकासमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीमार्फत ९ सुत्रीय मागसहितको ज्ञापनपत्र बुझाएका छन् । यस्तै भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाललाई १० सुत्रीय माग बुझाएका छन् । ‘यौन हिंसाविरुद्धको साझा अभियान’ का रुपमा एकीकृत भएका सामाजिक संघसंस्था, आमा समूह, महिला समूह, टोलविकास समिति, सहकारी संस्था, विद्यार्थी, अधिकारकर्मीलगायतको छलफलबाट मागको सूची तय भएको थियो ।
मौजुदा कानूनमा बलात्कार घटनामा कडा सजाय हुनुपर्ने मुख्य माग राखेका छन् । १० वर्षभन्दा कम उमेरका बालिकामाथि हुने बलात्कारमा पीडकलाई सर्वस्वसहित आजन्म कारावासको व्यवस्था हुनुपर्ने माग गरिएको छ । १८ वर्षभन्दा मुनिका बालिकामा हुने बलात्कारका दोषीलाई आजीवन कारावासको माग गरिएको छ । पीडितलाई भराइने क्षतिपूर्ति राज्यकोषबाट मुद्धा दर्ता भएकै मितिमा दिलाउनुपर्ने, पीडक कसुरदार ठहर नभएमा पीडितले पाएको क्षतीपूर्तिवापतको रकम राज्यकोषबाट फिर्ता गर्नुपर्ने, पीडकबाट असुल गर्नुपर्ने जरिवाना राज्यले असुल गरी पीडितलाई दिलाउनुपर्ने माग राखिएको छ ।
“कानून कडा नहुँदा यस्ता घटनाले प्रसय पाएको देखिन्छ”, अभियानकी संयोजक मीना खरेलले भनिन्, “यौनजन्य हिंसाको सजाय ऐनमा संसोधन गरी कडा बनाउन जरुरी छ ।” बलात्कारसम्बन्धी अनुसन्धान प्रक्रियालाई संवेदनशील र प्रभावकारी बनाउन एकद्वार संकट व्यवस्थापन प्रणालीलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने मागसमेत गरेका छन् । घटनाका पीडितलाई सुरक्षित आवास, सीप, शिक्षासहितका दीर्घकालीन जीविकोपार्जनका लागि राज्यकोषबाटै व्यवस्था हुनुपर्ने, फौजदारी संहिताको ४८ मा उल्लेखित पीडितले पाएको अन्तरिम रुपमा पाएको क्षतीपूर्ति फिर्ता हुनुपर्ने प्रावधान संसोधन हुनुपर्ने, विद्युतिय कारोबारसम्बन्धी ऐन र सूचनाको हकसम्बन्धी ऐनमा महिलाविरुद्ध हुने सबै हिंसाका घटनालाई कसुर कायम गरी सजायको व्यवस्था हुनुपर्ने, एसिड आक्रमण घटनाका पीडकलाई जन्मकैदको सजाय हुनुपर्नेलगायत माग राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतमार्फत सम्बन्धित निकायमा पु¥याउन मागपत्र बुझाइएको संयोजक खरेलले जानकारी दिइन् । चितवनमा साउनयता ११ वटा बलात्कार घटनाका उजुरी प्रहरीमा परेका छन् । आर्थिक वर्ष २०७४÷७५ मा यौनजन्य ६६ हिंसा मध्ये ४५ वटा बलात्कार र २१ वा बलात्कार प्रयासका घटना भएका थिए । यस्तै २०७३÷७४ मा ५५ उजुरी मध्ये ३० वटा बलात्कारका र २५ वटा बलात्कार प्रयासका उजुरी प्रहरीमा दर्ता भएका थिए ।
“यौन दुव्र्यवहार गर्न नहुने उल्लेख भएपनि यौनजन्य हिंसा र अपराध बढ्नु निकै दुखद सवाल हो”, अभियानका सहसंयोजक संगिता भट्टराईले भनिन्, “राज्यको ध्यानाकर्षण गराउन सुरु गरेका छौँ, ऐनलाई कडा र प्रभावकारी कार्यान्वयन गर्न दबाब सिर्जना गरेका हौँ ।” यस्तै यौन हिंसाविरुद्धको साझा अभियानले भरतपुर महानगरलाई १० सुत्रिय माग बुझाएको सहसंयोक भट्टराईले बताइन् ।
स्थानीय टोल, आमा समूह, संगठित निकायमा बलात्कारविरुद्धका अभियानका लागि तालिम तथा कार्यक्रम गर्नुपर्ने, मदिरा सेवन र बिक्री वितरणमा कडाई गरिनुपर्ने, लागूऔषधविरुद्धको अभियान चलाउनुपर्ने, यौन शिक्षा तथा नैतिक शिक्षाका लागि वडास्तरमा कार्यक्रम गर्नुपर्ने, कम्तीमा ३ वडामा एक सामुदायिक प्रहरी सेवा केन्द्र स्थापना गर्नुपर्ने, बलात्कार पीडितका लागि सुरक्षासहितको आवास गृह बनाउनुपर्ने, सार्वजनिक यातायातमा यौनजन्य हिंसा रोक्न ध्यान दिनुपर्ने, विद्यालयस्तरमा गुनासा उजुरी पेटिका राख्ने व्यवस्था मिलाउन माग गरिएको छ ।
साउन ३० मा भरतपुरमा १७ वर्षीया र साउन ३१ मा माडीमा १५ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको थियो । घटनामा संलग्न भएको आरोपमा यी दुई घटनाका ७ जना आरोपी पक्राउ परेका छन् । यात्राका क्रममा यी दुवै किशोरी राति बलात्कृत भएका थिए । कञ्चनपुरमा १३ वर्षिया बालिका बलात्कार पछि भएको हत्याका दोषी पक्राउ नपरेपछि आन्दोलन चर्किएको छ । बलात्कारका घटना बढ्न थालेको भन्दै जिल्ला तहमा आन्दोलन हुन थालेका छन् ।
शुक्रबार बिहान ११ बजे भरतपुरमा दबाबमूलक ¥याली निस्केको थियो । ‘म हिंसा गर्दिनँ, म हिंसा सहन्नँ’, ‘हिंसा सहेर होइन, खुलेर बहस गरौँ’, ‘बलात्कारविरुद्धको अभियानमा हातेमालो गरौँ’, ‘असल पुरुषले बलात्कार गर्दैन’, ‘अबको गन्तव्य, यौनजन्य हिंसाको अन्त्य’, ‘म हिंसा गर्दिनँ र हिंसाको प्रतिकार गर्छु’, ‘बलात्कारीलाई जोगाउनेलाई सामाजिक बहिष्कार गरौँ’ लगायतका प्लेकार्डसहित ¥याली सडकमा उत्रेको थियो । भरतपुर महानगरपालिका कार्यालय गेटबाट निस्केको ¥याली चौविसकोठी, जिविस रोड हुदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो । चितवनका सातै स्थानीय तहमा क्रियाशिल संघसंस्थाको प्रतिनिधित्व देखिन्थ्यो ।
गोली लागी बालकको मृत्यु
कञ्चनपुर/प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा १४ वर्षीय चेतन भट्ट छन् । घाइतेहरुको स्थानीय अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।
प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय र त्यहाँको सवारीसाधनसमेत तोडफोड गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । यद्यपि स्थिति नियन्त्रणमा नआएपछि गोली चलेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले बताए । मानवीय क्षतिको विवरण भने प्रहरी प्रधान कार्यालयसम्म आइनपुगेको थापाले बताए ।
शुक्रबार नेकपाका नेता भीम रावलले दिएको अभिव्यक्तिविरुद्ध कञ्चनपुरमा प्रदर्शन भएको थियो । विद्यार्थीले नाराजुलुसहित गरेको प्रदर्शन उग्र बनेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको जनाइएको छ । निर्मला पन्तको हत्या प्रकरणमा नेता रावलले दिएको अभिव्यक्तिको विरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको हो ।
यसअघि नेता रावलले कांग्रेसीहरुले कञ्चनपुरमा निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरेको बताएका थिए । बिहीबार पनि आन्दोलनका क्रममा गोली चल्दा ३ जना घाइते भएका थिए । लगत्तै, गृह मन्त्रालय प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र डिएसपीलाई फिर्ता बोलाएको थियो ।
यसअघि सरकारले बिहीबार पन्त बलात्कार प्रकरणको छानबिनका लागि सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । पन्त बलात्कार प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्त दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, स्थानीयले वास्तविक अपराधीलाई लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलाई सार्वजनिक गरिएको भन्दै आन्दोलन चर्काएका थिए ।
मैनाली नेतृत्वको समितिका पदाधिकारीहरू शुक्रबार बिहानै कञ्चनपुर पुगेर अनुसन्धान थालेका छन् । जिल्लास्थित सुरक्षा निकायका अधिकारीहरूको परिवर्तन र उच्च स्तरीय छानबिन समितिको गठनपछि आन्दोलन मथ्थर हुने अपेक्षा गरिएको थियो । शुक्रबार अपराह्न प्रहरीले गोली नै चलाउनुपर्ने स्थिति सिर्जना भयो ।