भरतपुर,८ भदौ ।गएको साउन महिनामा जिल्लामा ८२ जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४३१ जना बिरामीको नमूना परीक्षण गरिएको थियो । मुसामा हुने किरा (माइट) को टोकाइबाट यो रोग लाग्ने गर्दछ । गत आव २०७४÷७५ मा दुई हजार २३७ जनाको नमूना परीक्षण गर्दा ४१० जनामा स्क्रब टाइफस भेटिएको थियो ।
साउनमा जिल्लामा ५ जनामा डेंगेको संक्रमण भेटिएको छ । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार ३४६ जनाको परीक्षण गरिएको थियो । डेंगे संक्रमित तीन जना चितवनका हुन् भने दुई जना बाहिरी जिल्लाका रहेका छन् । अघिल्लो आवमा ५९ जनामा डेंगेको संक्रमण भेटिएको थियो । एक हजार ४८३ जनाको नमूना परीक्षण गरिएकामा सो सङ्ख्यामा डेंगे संक्रमण भेटिएको थियो । जसमध्ये ३३ जना चितवनका रहेका थिए । डेंगे एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जिल्लामा स्वाइनफ्लूका बिरामी भने नरहेको दाबी गरेको छ । कार्यालयका प्रमुख विजयकुमार झाले मौसमी रुघाखोकी देखिएको बताउनुभयो । मानिसबाट मानिसमा सरेर आएको फ्लूलाई स्वाइन्फ्लू भन्न नमिल्ने उनको भनाइ छ ।रासस