८ भदौ ।
चितवनका दुई वटा पानी उद्योगहरुबाट उत्पादित पानीमा कोलफर्म (दिसामा हुने किटाणु) भेटिएको छ । खैरहनीको ओम जल उद्योग र भरतपुरस्थित आईसल्याण्ड ड्रपमा कोलिफर्म भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक प्रवीणकुमार तिवारीले जानकारी दिए ।
कोलिफर्म भेटिएपछि ती उद्योगविरुद्ध मुद्दा चलाइएको छ । तिवारीका अनुसार यही साउन ३० गते ती उद्योगहरुलाई मुद्दा चलाइएको हो । मुद्दा चलाएको एक साताअघि ती उद्योगहरुको पानी क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडामा परीक्षण गरिएको थियो ।
उनीहरुलाई खाद्य ऐनअनुसार जिल्ला प्रशासन कार्यालयले कारबाही गर्नेछ । संसोधित खाद्य ऐनअनुसार ती उद्योगका सञ्चालकहरुलाई ५० हजार जरिवाना, ५ वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था रहेको खाद्य निरीक्षक तिवारीले जानकारी दिए ।