भतपुर,७ भदौ ।उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनले प्रभावकारीरुपमा बजार अनुगमन गर्न जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाएको छ ।
कृषिजन्य उपज हरियो तरकारी तथा फलफुलजन्य वस्तुको उत्पादन तथा भण्डारणमा प्रयोग गरिने विषादी तथा हानिकारक रसायनको विशेष तवरले नियन्त्रणको लागि प्रभावकारी अनुगमन गर्न, माछा तथा मासुजन्य वस्तुको उत्पादन तथा बिक्री वितरणमा सर्वपक्षीय सहमतिमा निर्धारण गरिएको मापदण्ड हालसम्म पनि लागू नभएकोले सोको पूर्ण कार्यान्वयनमा जोड दिन माग गरिएको छ ।
साथै, स्वास्थ्य सेवा प्रदायक निजी तथा सरकारी प्रतिष्ठानहरुको थप प्रभावकारी अनुगमन गरी गुणस्तरीय सेवा प्रदान गर्न, राजमार्ग क्षेत्रस्थित यात्रुलाई लक्षित गरी खाना खुवाउने होटलहरुको खानाको गुणस्तर, परीमाण र मूल्यबारे सर्वसाधारणलाई हित हुने गरी सेवामा सुधार गरी उचित मूल्य निर्धारण गर्न र सामुदायिक विधालयमा सरकारले निःशुल्क भनिएपनि विभिन्न शीर्षकमा शुल्क लिने गरेकोले त्यस्ता विद्यालयलाई पहिचान गरी कारबाही गर्न माग गरिएको छ ।
कार्यक्रममा मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, जिल्ला कृषि विकास कार्यालयका कर्मचारी, जिल्ला पशु सेवा कार्यालयका कर्मचारी र जिल्लाका विभिन्न नगरपालिकाका उपभोक्ता अधिकार संरक्षण मञ्चसँग आबद्ध व्यक्तिहरु सहभागी थिए ।