भरतपुर, जेठ १२ गते ।
जिल्ला पशु सेवा कार्यालय चितवनले निरन्तर पशुपालन व्यवसायमा संलग्न जेष्ठ नागरिकलाई सम्मान गरेको छ । शुक्रबार एक विशेष कार्यक्रम आयोजना गरी पशु सेवा प्रसार (निक्षेपित) कार्यक्रम मार्फत नगद तथा दोसल्ला सहित सम्मान गरिएको छ । पशु सेवा कार्यालय अन्र्तगतका रहेका १४ वटा सेवा केन्द्रले आफ्नो कार्यक्षेत्रमा निरन्तर पशुपालनमा सक्रिय जेष्ठ नागरिकलाई सम्मानका लागि सिफारिस गरेका थिए । कार्यालयले १५ जनालाई सम्मान गरेको छ । प्रमुख जिल्ला अधिकारी नायारणप्रसाद भट्ट, स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदी, केन्द्रीय क्वारेन्टाइन कार्यालयका रामनन्दन तिवारी लगायतले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डिल्लीराम सेढाईले अग्रज किसानलाई प्रोत्साहन दिदै नयाँ पुस्तालाई पशुपालन पेशमा लाग्न प्रेरणा दिन कार्यक्रम गरिएको बताए । सो अवसरमा प्रत्येक सम्मानित पशुपालक किसानलाई नगद तीन हजार रुपैयाँ प्रदान गरिएको थियो । सोहि अवसरमा दुग्ध व्यवसायमा संलग्न किसानलाई सहज दुध ढुवानी गर्न ४ वटा दुग्ध उत्पादक सहकारीलाई ईरिक्सा खरिदमा ५० प्रतिशत अनुदान रकम हस्तान्तरण गरिएको थियो । ४ सहकारीले २÷२ लाख पाएका छन् । शुक्रबारनै घाँस उत्पादक किसानसँग अन्र्तक्रिया तथा छलफल कार्यक्रम गरिएको थियो । कार्यक्रममा व्यवसायीक पशुपालक कृषक समाज रत्ननगर समन्वय समितिका अध्यक्ष किशोर बगाले, पशुपालक किसान शंकर केसी, शिव तिमिल्सिना लगायतले घाँस खेती विस्तार गर्न राज्यको सहयोग नगण्य रहेको बताएका थिए ।