भरतपुर,६ भदौ ।
न्यून गुणस्तरका खाद्यपदार्थ उत्पादन एवं विक्री वितरण गर्ने ३० ओटा उद्योग एवं पसलविरुद्ध खाद्य ऐनअन्तर्गत मुद्धा दायर गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको खाद्य इकाईले गत आर्थिक वर्ष २०७४÷७५ मा गरेको बजार अनुगमनबाट न्यून गुणस्तरका खाद्य पदार्थ उत्पादन एवं बिक्री गर्ने २५ ओटा उद्योग, एउटा होटल र ४ ओटा किराना पसलविरुद्ध साउन ३० गते मुद्धा दायर गरेको हो ।
दूषित दाना उत्पादन गर्ने न्यू होप एग्रो बिजनेस नेपाल र न्यून गुणस्तरको पेय पदार्थ उत्पादन गर्ने बोटलर्स नेपाल तराई लिमिटेड (कोकाकोला कम्पनी) विरुद्ध मुद्धा दायर गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । त्यस्तै न्यून गुणस्तरको अमिलो चुक उत्पादन गर्ने ३ ओटा, न्यून गुणस्तरको प्रशोधित पानी उत्पादन गर्ने ४ ओटा, न्यून गुणस्तरको मसला उत्पादन गर्ने ३ ओटा, न्यून गुणस्तरको बेसन उत्पादन गर्ने ४ ओटा र न्यून गुणस्तरको पाउरोटी उत्पादन गर्ने २ ओटा उद्योगविरुद्ध मुद्धा दायर गरिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ)जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार न्यून गुणस्तरको आँटा, तयारी चाउचाउ, भुजा, दालमोठ, चाउमिन र सस उत्पादन गर्ने एक–एक ओटा उद्योगविरुद्ध मुद्धा दायर गरिएको छ ।
त्यस्तै न्यून गुणस्तर र म्याद सकिएका पेय पदार्थ बिक्री गर्ने एउटा होटल र न्यून गुणस्तरको खानेतेल, चामल, रहरको दाल र साबुदाना बिक्री गर्ने एक–एक ओटा किराना पसलविरुद्ध मुद्धा दायर भएको प्रजिअ बस्नेतले बताए । उनीहरुलाई बयानका लागि बोलाइने र खाद्य ऐनअन्तर्गत कारबाही गरिने उनले बताए ।
भदौ १ गतेदेखि नयाँ खाद्य ऐन लागू भएकाले यस आर्थिक वर्षमा न्यून गुणस्तरका खाद्यपदार्थ उत्पादन एवं बिक्री गर्ने उद्योग एवं पसलहरुविरुद्ध जिल्ला अदालतमा मुद्धा दायर हुने खाद्य निरीक्षक प्रवीणकुमार तिवारीले जानकारी दिए । नयाँ ऐनअनुसार त्यस्ता उद्योग एवं पसलहरुलाइ ५० हजार रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म जेल सजाय वा दुवै हुन सक्ने व्यवस्था रहेको तिवारीले जानकारी दिए ।