धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,२ भदौ ।
चितवन निकुञ्जमा दुर्लभ वन्यजन्तु मर्ने क्रम बढ्दै जाँदा यो विषय सबैको चासोमा परेको छ । लगातार वन्यजन्तु मर्दा चासोसँगै चिन्ता जनाउन थालिएको छ ।
यस्तै अवस्था रहे भविष्यमा ठूलो क्षति व्यहोर्नुपर्ने संरक्षणकर्मीहरुले चिन्ता जनाएका छन् । संरक्षणकर्मी तथा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुंगाना लगातार वन्यजन्तु मर्ने क्रमलाई रोक्न अध्ययन आवश्यक रहेको बताउँछन् । “जुन संख्यामा वन्यजन्तु मरिरहेका छन्, त्यसले चुनौती थपिदिएको छ”, ढुंगानाले भने, “वन्यजन्तुको मृत्युदरले प्राकृतिक कारण मरेको हो भनेर ढुक्क हुने अवस्था छैन ।”
वन्यजन्तु मर्नुका कारण पत्ता लगाउन प्राविधिक र विज्ञबाट अध्ययन जरुरी रहेको उनले औंल्याए । “दुर्लभ वन्यजन्तु चोरी शिकार नियन्त्रणतर्फ मात्रै हाम्रो ध्यान केन्द्रित भयो”, ढुंगानाले थपे, “वन्यजन्तु मर्नुको प्राकृतिक कारणको पनि खोजी गर्नतर्फ सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।” चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले वन्यजन्तुको लगातार मृत्युको सम्बन्धमा अध्ययनका लागि पहल भइरहेको बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्राकृतिक कारण मृत्यु भएका वन्यजन्तुको तथ्यांक संकलन गरेर फर्किएको र त्यसको प्रतिवेदन नआएको सूचना अधिकारी अर्यालले बताए ।
यसैबीच नेपाल सरकारले चीनलाई उपहार स्वरुप थप एक जोडी गैंडा पठाएकै दिन चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैंडा मृत फेला परेको छ । चितवन निकुञ्जबाटै नियन्त्रणमा लिइएको एक जोडी गैंडालाई मंगलबार यहाँबाट काठमाडौं लगिएकोमा काठमाडौंबाट बिहीबार चीन लगिएको थियो । चितवन निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा एकसिंगे गैंडा मृत अवस्थामा फेला परेको सूचना अधिकारी अर्यालले जानकारी दिए ।
निकुञ्जको गस्ती टोलीले अन्दाजी ३५ वर्षको गैंडा घोलमा मृत अवस्थामा फेला परेको हो । गैंडाको दाह्रा खिचिएकाले वुढो भएर मरेको हुन सक्ने उनले बताए । आर्थिक वर्ष २०७५÷७६ मा प्राकृतिकरुपमा गैंडा मरेको यो नै पहिलो हो । गत आर्थिक वर्षमा भने विभिन्न कारणले चितवन निकुञ्जमा २६ वटा गैंडा मरेका थिए । जसमध्ये गतवर्ष आएको बाढीले बगाएर ४ गैंडा मरेका थिए ।